- राजाराम गौतम
हामी नेपालीहरुको एउटा साझा चरित्र छ, हामी जति छिटो निरासिन्छौं, हामीलाई उत्साहित हुन पनि बेरै लाग्दैन। आमनिर्वाचन, २०८२ ले निराशा र असन्तुष्टीको जमिनबाट उठाएर ठूलो नागरिक पंक्तिलाई उत्साहित बनाएको छ। यो चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अभूतपूर्व जीतसंगै यो पंक्तिमा आशा र अपेक्षा कति चाँडै हुर्किन थालेको छ भने, ती ‘रामराज्य’को स्वैरकल्पनामा मग्न हुन थालेका छन्।
यतिबेला रास्वपा नेपाली समाजको ‘परिवर्तनको बाहक’ बनेको छ। मान्छेहरु भन्दैछन्, मतदाताले ‘परिवर्तन’का लागि ‘मौन मत क्रान्ति’ गरे। तर, यो मौन मत क्रान्ति हो कि हमेशा नायक खोजीबस्ने दुखी समाजको भावनात्मक आवेग? अथवा यो नयाँहरुको पक्षमा उर्लेको परिवर्तनको लहर हो कि पुरानाहरुप्रतिको चरम विकर्षणको वेभ? नवनायकहरुको महिमा मण्डनको होडबाजी चलिरहँदा सायद यी प्रश्न ग्राह्य नहोलान्। यद्यपि सत्य यही हो, रास्वपाको पक्षमा देखिएको अभूतपूर्व जनादेशले न्याय त्योबेला पाउने छ, जुनबेला यो पार्टीले नारामा होइन, कामबाटै परिवर्तनको मुद्दालाई आत्मसाथ गर्न सक्नेछ।
निर्वाचनको अन्तिम नतिजा आउन अरु केही दिन लाग्ला। हालसम्मको मतगणना अनुसार, यो पार्टीको पक्षमा प्रस्ट र बलियो बहुमत आउने पक्का भएको छ। उस्तै पर्दा अन्तिम गणनासम्म पुग्दा दुई तिहाई मत प्राप्त गर्ने वा त्यसको नजिक पुग्ने सम्भावना पनि छ। अर्थात् ठूला र ऐतिहासिक पृष्ठभूमि भएका कांग्रेस र कम्युनिष्टहरुलाई पछार्दै रास्वपा सर्वाधिक शक्तिशाली दलका रुपमा उदाएको छ।
एकातिर रविले खडा गरेको रास्वपा जसमा उनको सांगठनिक वर्चश्व छ। अर्कोतिर बालेन क्रेजले अभूतपूर्व जीतको उन्मादी लहरमा छ, रास्वपा। यो अवस्थामा रवि–बालेन सम्बन्ध कस्तो रहिरहला भन्ने कुराले अरु धेरै पक्षहरुलाई प्रभावित पार्ने छ। नेपाली जनमत यो पार्टीको पक्षमा किन यसरी एकोहोरियो? संगठन र पृष्ठभूमि भएका र ठूला भनिएका दलहरु चुनावी प्रतिस्पर्धामा किन पिधमै पुग्नेगरी खुम्चिए? र, किन साढे तीन वर्षे उमेर भएको कलिलो पार्टी तिनको रोजाईमा पर्यो रु के अब शिशु रास्वपा जनताको आशा र अपेक्षामा खरो उत्रन सक्ला? अब यो पार्टीसामु के–कस्ता चुनौती र अवसर छन्? वर्तमान राजनीतिक परिदृश्यमा रास्वपाको शक्तिशाली उपस्थितिले यस्ता थुप्रै प्रश्न जन्माएको छ। यो विश्लेषण यिनै प्रश्नमा केन्द्रित रहने छ।
नेपाली राजनीतिमा बैकल्पिक शक्तिको खोजी पहिलो पटक भएको होइन। यस्तो खोजी हरेक राजनीतिक परिवर्तनसंगै हुदै आएको छ। हरेक पटक राजनीतिक परिवर्तन हुँदा जनता उत्साहित हुने गरेका छन्। परिवर्तनहरुले आम जनताको जीवनमा आशा र अपेक्षा जगाउँछ पनि। जब ती अपेक्षा पुरा भएको अनुभूति हुदैन, तब असन्तोष र निराशाको जमिन बन्छ। त्यही जमिनमा नयाँ र बैकल्पिक राजनीतिक शक्तिहरुको खोजी शुरु हुन्छ। २००७ सालयताका राजनीतिक घटनाक्रम र परिवर्तनहरु यसका दृष्टान्त हुन्। २००७ सालपछि परिवर्तनको बाहकको रुपमा कांग्रेसको उदय भयो। २०४६ मा प्रजातन्त्र पुनर्स्थापना भएपछि परिवर्तनको बाहकमा कांग्रेससंगै बामपन्थीहरु पनि देखिए। २०६३ को दोस्रो जनआन्दोलनपछि हिंसात्मक राजनीति हुँदै शान्तिपूर्ण संक्रमणबाट माओवादी उदायो। अहिले तिनै परिवर्तनकारी दलहरुको विकल्पमा रास्वपाको पक्षमा लहर आएको छ।






















