गोलबजार, २४ जेठ। नेकपा एमालेका जिल्ला समिति सदस्य सुकदेव सिंहले पार्टीको साधारण सदस्यसमेत नरहनेगरी पार्टी परित्याग गरेको छ। गोलबजार नगरपालिका वडा नम्वर २ का वडाअध्यक्ष समेत रहेका सिंहले पार्टी व्यक्तिवादी ढङ्गले चलेकाले पार्टीमा रहनुको औचित्य समाप्त भएको भन्दै पार्टी परित्याग गरेको हो।

उनले आज सामाजिक सञ्चालमा ‘पछिल्लो समय जिल्ला कमिटी, प्रदेश इन्चार्ज तथा नगर कमिटीबाट पार्टी सञ्चालनमा मनोमानी प्रवृत्ति बढ्दै गएको, टोल–टोलका कार्यकर्ताहरूलाई विभाजित गर्ने कार्य भएको, पार्टीभन्दा व्यक्ति हाबी भएको तथा विकास योजनाहरूमा पनि संस्थागत निर्णयभन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिइएको अनुभव गरेको छु। साथै नगर प्रमुख र उपप्रमुखबाट समेत निर्वाचित भएदेखि नै निरन्तर रूपमा मप्रति पूर्वाग्रहपूर्ण व्यवहार भएको महसुस गरेको छु।’ भन्ने उल्लेख गरेको छ।
अध्यक्ष सिंहले आफ्नै पार्टीका मेयर र उपमेयर भएपनि वडाको विकास निर्माणको कार्यमा अवरोध खडा गर्ने, काम गर्ने वातावरण बन्न नदिने, बजेट विनियोजनमै काखापाखा गर्ने जस्ता कार्य हुँदै आएको बताए।
यी विषयहरूमा पटक–पटक पार्टीका सम्बन्धित निकायमा कुरा उठाउँदा पनि कुनै सुनुवाइ नभएको उनले बताए। अध्यक्ष सिंहले भने, ‘समस्या समाधानतर्फ गम्भीर पहल नभएको हुने पनि नदेखिएपछि बाध्य भएर हाल आफू रहेको सिरहा जिल्ला कमिटी सदस्य रहेको पदसहित साधारण सदस्यसमेत नगरने गरी पार्टी परित्याग गरेको घोषणा गर्दछु।’
उनले अव उप्रान्त स्वतन्त्र रूपमा सामाजिक तथा सार्वजनिक गतिविधिमा संलग्न रहने पनि बताए।
उनले पार्टीमा २०२९ सालदेखि निरन्तर रूपमा दिएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्दै आएको पनि स्मरण गराए।




















