भारतको राजधानी दिल्लीमा कक्रोच जनता पार्टी (सीजेपी) को प्रदर्शनलाई मध्यनजर गर्दै त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ।
ठट्टाको रूपमा स्थापित भएको भारतको सबैभन्दा ठूलो अनलाइन युवा अभियान पहिलो पटक सडकमा उत्रिएको छ।
अमेरिकाबाट शनिवार बिहान दिल्ली ओर्लिएका सीजेपीका संस्थापक अभिजीत दीपके जन्तर मन्तर पुगेका छन्।
सुरक्षाकर्मी ठूला सङ्ख्यामा परिचालन गरिएका छन्। सञ्चारकर्मीहरू पनि ठूलो सङ्ख्यामा देखिन्छन्। बीबीसी हिन्दीका अनुसार सहभागी प्रदर्शनकारी युवाको सङ्ख्या बढ्दै गएको देखिन्छ।
सीजेपीविरुद्ध सत्ताधारी भारतीय जनता पार्टीका समर्थकहरू पनि जन्तर मन्तरमा पुगेका थिए।
प्रहरीले उनीहरूलाई विरोध गर्न रोकेर बाहिर निकालिदिएका छन्।
सीजेपीले यो नाम भारतका प्रधानन्यायाधीशबाट लिएका हुन्, जसले बेरोजगार युवालाई ‘कक्रोच’ सँग तुलना गरेका थिए।
गत महिना सुरु भएदेखि यस अभियानले इन्स्टाग्राममा लगभग दुई करोड २० लाख फलोअरहरू पाएको छ।
यो सरकारप्रतिको असहमतिको सबैभन्दा ठूलो मध्येको अभिव्यक्ति बन्न पुगेको छ।
जन्तर मन्तरमा प्रदर्शन : ‘प्रेम र शान्तिपूर्ण’

अभियानका संस्थापक अभिजीत दीपके अमेरिकाबाट शनिवार दिल्ली पुग्ने खबरसँगै इन्दिरा गान्धी इन्टरन्याश्नल विमानस्थलमा सुरक्षाकर्मी बढाइएको थियो।
विमानस्थलबाट बाहिर निस्कने बित्तिकै अभिजित दीपकेले सञ्चारमाध्यमसँग भने, ‘शिक्षामन्त्री (धर्मेन्द्र प्रधान)ले राजीनामा दिनुपर्छ। पाँच जना विद्यार्थीले आत्महत्या गरिसकेका छन्।’
उनले ‘न्याश्नल इलिजिबिलिटी इन्ट्रान्स टेस्ट’ अर्थात् नीट परीक्षाको प्रश्नपत्र बाहिरिएपछि आत्महत्या गरेका विद्यार्थीहरूबारे उल्लेख गरेका हुन्।
त्यहाँबाट प्रदर्शन स्थल जन्तर मन्तर पुगेर उनले आफ्ना समर्थकहरूका साथ नाराबाजी गरेका छन्।
उनले भने, ‘विगत ५–१० दिनदेखि मानिसहरूले मलाई सोधिरहेका थिए कि सामाजिक सञ्जालमा पेज चलाएर के हुन्छ? उनीहरूलाई क्यामेरा घुमाएर देखाइ दिनुस् त कति कक्रोच घरबाट निस्केर जन्तर मन्तर पुगेका छन्।’
शिक्षाविद् तथा लद्दाखका पर्यावरण अभियानकर्ता सोनम वाङ्चुकले दीपकेलाई प्रहरीले गिरफ्तार गर्न सक्ने बताएका थिए।
‘राम्रो हुने आशा राखौँ तर खराब अवस्थाको निम्ति तयार रहौँ, आउनुहोस् यो आन्दोलनलाई भारतको इतिहासको सबैभन्दा शान्तिपूर्ण आन्दोलन बनाऔँ,’ उनले शुक्रवार राती सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ध्यान दिऊँ, कुनै खराब तत्त्वले गडबडी नगरुन्।’
तर गिरफ्तारको अनुमान गलत साबित भएको छ। संस्थापक दीपके दिल्ली पुगेका छन्। उनले त्यसअघि पलपलको जानकारी सामाजिक सञ्जालबाट दिएका थिए।
प्रदर्शनलाई शान्तिपूर्ण बनाउन उनले आह्वान गरेका छन्। ‘किताब र हाम्रो झन्डा ल्याउन नभुल्नुहोला,’ उनले लेखेका छन्, ‘प्रहरीलाई फूल दिऊँ, त्यो करुणा र आभारको प्रतीक हुनेछ, हामीले आन्दोलनलाई प्रेम र शान्तिका साथ अगाडि बढाउनु छ’
कक्रोच जनता पार्टीले जन्तर मन्तरमा प्रदर्शन गर्न अनुमति नपाउने कतिपयको अनुमान थियो।
के यो जेन जी आन्दोलन हो?

शिव सेनाकी नेता तथा राज्यसभाकी पूर्वसांसद प्रियङ्का चतुर्वेदीले अनुमति दिएर दिल्ली प्रहरीले ठिक काम गरेको टिप्पणी गरेकी छन्।
सामाजिक सञ्जाल एक्समा उनले लेखेकी छन्, ‘सम्भवतः पहिलो पटक दिल्ली प्रहरीले सही काम गरेको छ।’
उनले अनलाइनमा देखिएको समर्थनको परीक्षा सुरु हुने बताएकी छन्। ‘अब अनलाइनमा देखिएको समर्थन सडकमा शक्ति बन्छ कि बन्दैन भन्ने हेर्नु छ,’ उनले लेखेकी छन्।
एउटा व्यङ्ग्यात्मक सोसल मिडिया अभियान ूकक्रोच जनता पार्टीू भर्चुअल संसारबाट वास्तविक दुनियाँ अर्थात् सडकमा उत्रिएको छ।
सीजेपीले एक्स ह्यान्डल ‘कक्रोच इज बैङ्क मा लेखेको थियो, ‘अब समय आइसक्यो( यो छोटो ठट्टालाई एउटा आन्दोलनमा बदल्नु पर्छ’,
यो अभियानमा भारतका चर्चित र वरिष्ठ कानुनविद् प्रशान्त भूषणले जेन जी आन्दोलनको संज्ञा दिएका छन्।
सामाजिक सञ्जालमा उनले भ्रष्टाचार, बेरोजगारी र दिनहुँ घोटाला भइरहेको बताउँदै विदेश नीति पूर्ण रूपमा ध्वस्त भएको र अमेरिकामाथिको निर्भरता बढेको उल्लेख गरेका छन्।‘ूनिर्वाचन आयोग, न्यायपालिका, सञ्चार क्षेत्रलगायत विभिन्न संस्था पनि कमजोर भएका छन्, हामी ठूलो आँधीबेहरीबाट घेरिएका छौँ। कक्रोच जनता पार्टी त्यसको स्वाभाविक परिणाम हो,’ उनको टिप्पणी छ, ‘तिनका ठूला प्रतिज्ञा छन्। यो जेन जी आन्दोलनलाई समझदारीयुक्त समर्थन र मार्गदर्शनको आवश्यकता छ।’
राजनीतिक विश्लेषक योगेन्द्र यादवले सीजेपीको अभियानलाई साथ दिन विपक्षी दलहरूलाई आग्रह गरेका छन्।
सामाजिक सञ्जाल एक्समा एउटा भिडिओ सार्वजनिक गर्दै उनले पार्टीको नाम जे सुकै भए पनि सबै एक ठाउँमा उभिने बेला आएको बताएका छन्।
‘पार्टीभन्दा देश ठूलो हो, हामी सबै मिलेर यो देशलाई बचाउनु पर्छ,’ उनले अपिल गरेका छन्।
(बीबीसी नेपालीसेवाबाट)



















