सिरहा, २४ जेठ। पूर्व–पशिचम हुलाकी राजमार्ग अन्तर्गत सिरहा धनुषा जोड्ने कमला नदिको पुल पछिल्ला केही वर्ष देखि चर्चामा छन्। भत्केको पुल निरिक्षणगर्न दर्जनौं पटक प्रधान मन्त्री र आए। उनीहरुले पुल पुनःनिर्माण छिटो सक्न ठेकेदार कम्पनीलाई निर्देशन दिए। तर, पुल निर्माणकार्य अझै अधुरै छ। 

यहि मेसोमा शनिवार बालेन सरकारका भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल कमला नदीमै पुगेर भत्केको पुल निरिक्षण गरे र तत्काल काम सम्पन्न गर्न निर्देशन दिएर हिडे। पूर्वाधार मन्त्री लम्सालले ‘काम गरेर देखाउने’ प्रतिबद्धता जनाए पनि स्पष्ट कार्ययोजना नआएको भन्दै स्थानीयले विरोधसमेत जनाए। 

पुल निरीक्षणका लागि मन्त्री लम्साल शनिबार साँझ करिब ६ बजे पुगेका थिए। स्थानीय केही युवाहरु पनि त्यहाँ पुगेका थिए। उनीहरुले पुल कहिले बन्छ भनेर मन्त्री लम्साललाई प्रश्न गरेका थिए। तर जवाफ नदिई हिँडेपछि उपस्थित युवाहरुले नाराबाजी गरेका थिए।

१५ वर्षदेखि अलपत्र कमला पुलको मन्त्री लम्सालसहित अहिलेसम्म १८ जना प्रधानमन्त्री तथा मन्त्रीहरु कमला पुल निरीक्षणको निरीक्षण गरिसकेका छन्। पुल भने अझै अलपत्र अवस्थामै छ।  

हुलाकी कमला पुल संघर्ष समितिका संयोजक इन्जिनियर प्रविन यादवका अनुसार मन्त्री लम्सालले ‘हामी बोल्न होइन, काम गर्न आएका हौं, काम गरेर देखाउँछौं,’ भनेका थिए। संघर्ष समितिका संयोजक यादवका अनुसार मन्त्रीबाट पुल निर्माणको भविष्यबारे कुनै स्पष्ट धारणा नआएपछि स्थानीयवासी आक्रोशित हुँदै नाराबाजीमा उत्रिएका थिए।

तर स्थानीय सञ्चारकर्मी नरेशचन्द्र बरबरियाका अनुसार मन्त्री लम्सालले पुल निर्माणमा संलग्न ठेकेदार तथा सम्बन्धित अधिकारीहरूसँग छलफल गर्दै निर्माण प्रक्रिया छिटो अघि बढाउन निर्देशन दिएका छन्।

मन्त्री निरीक्षणका लागि आउने खबरले स्थानीयमा आशा जगाए पनि उनले कुनै सार्वजनिक धारणा वा प्रतिबद्धता व्यक्त नगरेको भन्दै केही स्थानीय आक्रोशमा आएका थिए।

संघर्ष समितिका संयोजक यादवले भने, ‘कमला पुल कहिले बन्छ, पुरानै संरचनालाई निरन्तरता दिइन्छ कि नयाँ योजना ल्याइन्छ भन्ने विषयमा मन्त्रीले केही पनि स्पष्ट पार्नुभएन। त्यही भएर स्थानीय आक्रोशमा आए।’

मन्त्रीको टोली फर्किने क्रममा स्थानीयले नाराबाजी गर्दै ‘फोटो खिचाउन मात्र होइन, जवाफ पनि दिनु पर्छ,’ ‘मधेशलाई उपेक्षा गर्न पाइँदैन’ जस्ता नारा लगाएका थिए।

लम्सालबाट सार्वजनिक रुपमा स्पष्ट प्रतिबद्धता नआउँदा पुलबारे जनतामा झन् अन्योल र निराशा बढाएको छ। आक्रोशत स्थानीय केहीले युवाहरुल्े मन्त्री सवार गाडीको बाटो छेक्ने प्रयास समेत गरेको प्रत्यक्षदर्शी बताए।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी बासुदेव पाठकले भने मन्त्रीको निरीक्षणपछि सामान्य नाराबाजी भएको स्वीकार गरे तर गाडी नै अवरोध भने नभएको जानकारी दिए। मन्त्रीको सवारी फर्किने क्रममा बाटो व्यवस्थापनका लागि प्रहरीले सामान्य सहजीकरण मात्र गरेको उनले जिकिर गरे।