लिजा फोक्ट, स्भियातोस्लाभ खोमेन्को, सर्गेइ गयास्का, ओल्गा इभ्सिना

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनमाथि युद्धविरामका लागि जारी प्रयासहरू बिथोल्न खोजेको आरोप लगाएका छन्।

सामाजिक सञ्जालमा लेख्दै जेलेन्स्कीले अमेरिकालाई रुसमाथि थप दबाव सिर्जना गर्न आह्वान गरेका छन्। उनले "अमेरिकाको शक्ति" ले मात्र लडाइँ रोक्न सक्ने जनाएका छन्।बिहीवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै पुटिनले युद्धविरामका लागि विभिन्न सर्तहरू राखेका थिए।

यसैबीच यूकेका प्रधानमन्त्री किअर स्टार्मरले पुटिनलाई अमेरिकाले प्रस्तुत गरेको युद्धविरामको प्रस्तावमा "चलखेल गर्न दिनु नहुने" बताएका छन्।

विभिन्न पश्चिमा देश र नेटोका अधिकारी सहभागी एउटा भर्चूअल बैठकमा बोल्दै स्टार्मरले पुटिन "ढिलोचाँडो वार्ताको टेबलमा आउनैपर्ने" बताए।

उनले युक्रेनलाई थप सहयोग दिनुपर्ने र रुसमाथि अझ दबाव सिर्जना गर्नुपर्ने धारणा पनि व्यक्त गरे।

युद्धविराम सम्झौताले युक्रेनलाई के हुन्छ?

साउदी अरबमा भएको वार्तापछि अमेरिकाले अघि सारेको युक्रेन युद्धविराम सम्झौताको प्रस्तावमा सहमति जुटेसँगै सबैको ध्यान मस्कोमा परेको थियो। अमेरिकी विदेशमन्त्री मार्को रुबिओले अब त्यो रुसको रुसको हातमा निर्भर रहेको बताएका थिए।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबाट अपेक्षित जबाफ आयो पनि। उनले युक्रेन युद्धमा अस्थायी युद्धविरामको विचारलाई समर्थन गरे तापनि अमेरिकासँग कैयौँ गम्भीर प्रश्नहरूमाथि छलफल गर्न आवश्यक पर्ने बताए।

उनले जुनसुकै युद्धविराम दिगो शान्तिउन्मुख हुनुपर्नेमा जोड दिँदै त्यसलाई द्वन्द्वको 'जरोमा रहेको कारण'सँग जोडेर हेर्नुपर्ने बताएका थिए।

अर्थात् युद्धविराम सम्झौता यतिखेर सम्भव देखिए तापनि अझै शान्ति हासिल गर्नका लागि कैयौँ अवरोधहरू छन्।

अमेरिका र युक्रेनबीच साउदी अरबमा वार्ता

तस्बिर स्रोत,SALAH MALKAWI/GETTY IMAGES

तस्बिरको क्याप्शन,हालै साउदी अरबमा युक्रेन र अमेरिका युद्धविराम सम्झौताका लागि सहमत भएका बताइएको छ

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच ह्वाइट हाउसमा चर्काचर्की परेको बैठकको दुई सातामै किएभ वाशिङ्टनसँग उपलब्धिमूलक संवाद सूचारु गर्न सफल भएको छ।

ऊ ३० दिने अस्थायी युद्धविराम गर्न सहमत भएपछि अमेरिकाले किएभलाई आफ्ना अस्त्र तथा गुप्तचर सूचना दिने काम जारी राख्न सहमति जनाएको छ।

किएभले त्यस्तो सहमति जनाएर युक्रेनले लडाइँ अन्त्य गर्न नचाहेको भन्ने एकखाले धारणामा परिवर्तन गर्न सकेको छ।

बारम्बार रुसी राष्ट्रपति कार्यालय (क्रेम्लिन) र हालैका दिनमा ह्वाइट हाउसले युक्रेनलाई त्यस्ता आरोप लगाउँदै आएका पाइन्थे।

अर्कोतर्फ पूरै अग्रमोर्चामा युद्धविरामका लागि सहमत हुनु सैद्धान्तिक रूपमै पनि किएभका लागि युद्धका अघिल्ला दुई वर्षको तुलनामा एउटा ठूलो बदलाव हो।

यसअघि युक्रेनले अन्तर्राष्ट्रिय मान्यता पाएको युक्रेनी भूभागबाट रुसी फौज नहट्दासम्म भन्दै बारम्बार युद्धविराम नकार्दै आएको थियो।

उसले लडाइँ रोक्ने जुनसुकै कामले मस्कोलाई नयाँ हमलाका लागि सङ्गठित हुने अवसर दिने तर्क गर्दै आएको थियो।

त्यसैले साउदी अरबको जेद्दा पुगेको युक्रेनी प्रतिनिधिमण्डलले स्थल आक्रमण नभई "हवाई र सामुद्रिक आक्रमणमा" मात्र युद्धविरामको प्रस्ताव लगेको थियो।

खास गरी रुसले सङ्घर्षविरामको दुरुपयोग र नयाँ हमला सुरु गर्ने चिन्तामाझ सुरक्षा सुनिश्चितताको प्रश्न भने अझै यथावत् छ।

यद्यपि अमेरिकी नेतृत्वले युद्धविरामपछि मात्र कुनै पनि सुनिश्चतताका बारेमा वार्ता सुरु हुन सक्ने कुरामा जोड दिएका कारण किएभ त्यसमा लचिलो बन्यो।

युद्धविराम सम्झौताले रुसलाई के फरक पर्छ?

क्रेम्लिनले पुटिनले कुर्स्क क्षेत्रमा भ्रमण गरेको देखिने भिडियो सार्वजनिक गरेको छ

तस्बिर स्रोत,GETTY IMAGES

तस्बिरको क्याप्शन,क्रेम्लिनले पुटिनले कुर्स्क क्षेत्रमा भ्रमण गरेको देखिने भिडियो सार्वजनिक गरेको छ

विगतमा भ्लादिमिर पुटिनले अस्थायी युद्धविरामको सम्भावनालाई स्वीकार गरे तापनि किएभले ती प्रस्तावहरूलाई गम्भीरतापूर्वक लिएको थिएन।

यद्यपि पुटिनले दीर्घकालीन युद्धविरामलाई लिएर सन्देह व्यक्त गर्दै आएका छन्।

क्रेम्लिननिकट बीबीसी स्रोतका अनुसार रुसी अधिकारीहरू सर्तबिनाको युद्धविराम हुँदा त्यसले आधारभूत रूपमा किएभलाई लाभ हुने ठान्छन्।

यतिखेर उल्लेख्य क्षति बेहोरिरहँदा समेत रुसी फौजले युक्रेनी डोन्बास र रुसी कुर्स्क क्षेत्रमा पकड बढाइरहेको छ।

किएभबाट कुनै लचकताबिनै यदि युद्ध रोकियो भने पुटिनले सम्भवतः आफ्ना युद्धका उद्देश्य हासिल गर्नका लागि पुनः लडाइँ सुरु गर्नुपर्ने उनको तर्क हुने गर्छ।

त्यसकै कारण 'रुसलाई विश्वास गर्न नसकिने' भनिने गर्छ।

पुटिनका एक शीर्ष सहयोगी युरि उशाकोफको युद्धविरामको प्रस्ताव अस्वीकार गर्ने भनाइपछि पनि युद्धविराम सम्झौताको पूर्ण अस्वीकार हुन्छ वा हुन्न भन्ने कुरा स्पष्ट छैन।

तर त्यसले डोनल्ड ट्रम्पको कार्यकालसँगै सुधार हुन थालेको रुस र अमेरिकाबीचको संवादलाई जटिल बनाउने जोखिम निम्त्याउने छ।

खासमा सन् २०२४ को जुन महिनामा भ्लादिमिर पुटिले युद्धविरामका लागि आफ्ना मुख्य सर्त अघि सारेका थिए।

तीमध्ये पूरै लुहान्स्क, डोनेत्स्क, खेअर्सन र जापोरिज्या क्षेत्रबाट युक्रेनी फौज फिर्ता गर्ने कुरा छ, जसका केही हिस्सामा मात्र यतिखेर रुसी कब्जा छ।

त्यसबाहेक युक्रेनलाई नेटोमा संलग्न गराउन अस्वीकार गरिनुपर्ने र मस्कोमाथि लगाइएका प्रतिबन्धहरू हटाइनुपर्ने सर्त छन्।

यसविपरीत किएभलाई अमेरिकी हतियार आपूर्ति र गुप्तचर साझेदारी गर्ने काम पुनः सुरुवात गर्ने वाशिङ्टनको कदमले सम्भवतः पुटिनलाई निराश बनाएको हुन सक्छ।

उनले बारम्बार युक्रेनलाई सैन्य सहयोग दिनु नै लडाइँ जारी रहनुको एउटा कारण भएको तर्क गर्दै आएका छन्।

युक्रेनमा रुसी सैन्य नियन्त्रण

सीमा सम्झौताका लागि केही योजना छ?

रुस र युक्रेनले दुवैले उक्त द्वन्द्वको अस्थायीभन्दा स्थायी समाधानमा आफूहरूको रुचि भएको बताउने गरेका छन्।

त्यसो भए उनीहरूलाई बृहत् शान्ति सम्झौताका लागि के कुराले रोकेको छ?

क्रेम्लिननिकट बीबीसी स्रोतले मस्को र किएभबीच प्रत्यक्ष संवादको अभावका कारण हालसम्म कसैसँग पनि युद्धरत दुवै पक्षहरूको अडानलाई विचार गर्ने गरी विशेष योजनाको प्रस्ताव नभएको जनाएको छ।

"हामीले दस्ताबेजका मस्यौदा बनाउनुपर्छ र त्यसले समय लिन्छ। हामी युक्रेनीहरूसँग बसेर [युक्रेनका सुरक्षा सुनिश्चितताबारे] छलफल गर्नुपर्छ र पुटिनका 'रेड लाइन' के-के हुन् भन्ने बुझ्नुपर्छ," उक्त स्रोतले भन्यो।

शान्ति वार्ताका लागि न रुस, न युक्रेनले विशेष दूत नियुक्ति नगरेकाले पनि अवस्था जटिल छ।

युरोप सक्रिय रूपमा योजना बनाउनका लागि प्रयासरत छ र गत महिना युक्रेनका सहयोगी देशहरूले यस विषयमा कैयौँ आपत्कालीन शिखर सम्मेलनहरू आयोजना गरेका छन्।

यद्यपि त्यहाँ पनि किएभको सुरक्षा सुनिश्चितता जस्ता मुद्दामा सम्झौताको अभाव देखिन्छ।

"यी निकै नै कठिन र राजनीतिक रूपमा जटिल मुद्दाहरू हुन्," अमेरिकी गैरनाफामुखी ग्लोबल पलिसी थिङ्क ट्याङ्क आरएएनडी कर्पोरेशनका वरिष्ठ अनुसन्धानकर्ता स्याम्युअल चरप भन्छन्।

"यसका लागि अविश्वसनीय तहको हिंसाका साथ क्रूर युद्धमा संलग्न दुई देशहरूले कठिन सम्झौता गर्न आवश्यक पर्ने छ र त्यो निकै गाह्रो छ," उनी भन्छन्।

रुस-युक्रेन युद्ध

तस्बिर स्रोत,GETTY IMAGES

तस्बिरको क्याप्शन,विगत तीन वर्षदेखि पूर्ण स्तरको रुस-युक्रेन युद्ध जारी छ

उनी शान्तिका लागि व्यापक योजनासहित रुस र युक्रेन प्रत्यक्ष वार्तामा संलग्न हुनुपर्ने तर्क गर्छन्।

सेन्टर फर न्यू युराशिअन स्ट्राटेजिज (एनइएसटी)का वरिष्ठ अनुसन्धानकर्ता जन लग मस्कोका लागि एक भूतपूर्व नेटो प्रतिनिधि हुन्।

अगाडि कठिन चुनौती रहेको बताउँदै उनी भन्छन्, "त्यहाँ रोक्का गरिएका सम्पत्तिका क्षतिपूर्तिका कुरा छन्। त्यो मिलाउनका लागि महिनौँ लाग्न सक्छ।"

सम्झौता कस्तो हुन सक्छ?

युरोपिन नेताहरूबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की

तस्बिर स्रोत,EPA

तस्बिरको क्याप्शन,युरोपिन नेताहरूले युक्रेनलाई सहयोग गरिराख्ने वाचा गरेका छन्

युक्रेनमा शान्ति सैनिकको सम्भाव्य परिचालनबारे भएको छलफल युद्धरत पक्षका अडान कसरी बहकिन्छन् भन्ने कुराको एउटा राम्रो उदाहरण बनेको छ।

शान्तिस्थापनाकर्ता परिचालन गर्नुपर्ने प्रस्तावका सबैभन्दा बलिया पक्षपाती फ्रान्स र ब्रिटेन हुन्। सिद्धान्ततः डेनमार्क र अस्ट्रेलियाजस्ता अन्य देशहरू पनि त्यस प्रस्तावमा सहमत हुन सक्छन्।

यद्यपि युक्रेनबारे सन् २०२५ को लन्डन सम्मेलनमा यस विषयमा भएको छलफलमा सहभागी एक युरोपेली कूटनीतिज्ञका अनुसार यसमा सहभागी हुन खासै धेरै देशहरू उत्साहित छैनन्।

शान्ति सैनिक पठाउने प्रस्तावलाई अरू देशहरूले पनि स्वीकार गर्ने आशा लन्डनले गरेको हुनसक्छ। तर स्रोतहरूका अनुसार विभिन्न युरोपेली देशहरूले अहिले कठिन आन्तरिक राजनीतिक परिस्थिति सामना गरिरहेको सन्दर्भमा उसको आशा पूरा भएको छैन।

सम्भाव्य युरोपेली शान्ति सैनिकलाई सहयोग तथा सुनिश्चितता प्रदान गर्न अमेरिकी अधिकारीहरू इच्छुक छन् वा छैनन् भन्ने पनि अस्पष्ट छ। यूकेका प्रधानमन्त्री किअर स्टार्मरले अमेरिकी सहयोगबिना शान्ति मिसन असम्भव रहेको बताइसकेका छन्।

रुसी अधिकारीहरू यसको सशक्त विरोध गर्छन्। मस्कोले रुसी सीमानजिक आफूले नेटोका फौज देख्न नचाहेको बारम्बार बताउँदै आएको छ।

स्याम्युअल चरपका अनुसार वास्तविक सुरक्षा सुनिश्चितता भनेको सन् १९७५ मा इजिप्टसँगको शान्ति सम्झौताका क्रममा अमेरिका र इजरेलबीच भएको सहमतिजस्तो हुन सक्छ।

त्यस बेला वाशिङ्टनले युद्धविरामका लागि सहयोग गरेको थियो र इजिप्टले त्यसको उल्लङ्घन गरेमा "उपचारात्मक कदम" चाल्ने भनी इजरेललाई विश्वास दिलाएको थियो।

क्रेम्लिनसँग निकट बीबीसी स्रोतले पनि यस्तै विचार राखेका छन्। युक्रेनमा युरोपेली सशस्त्र समूहको उपस्थितिभन्दा पनि यस्तो प्रस्ताव पुटिनका लागि बढी उपयुक्त हुने उनको दाबी छ।

युरोपेली नेताहरूले अमेरिकाको भनाइ जे भए पनि युक्रेनलाई सैन्य सहयोग जारी राख्ने वाचा गरेका छन्।

क्रेम्लिनले कम्तीमा पनि आक्रमणको सुरुवातताका युक्रेनी सेनाको आकार उल्लेख्य सङ्ख्यामा कम हुनुपर्ने माग गरेको थियो। युक्रेनको " निसैन्यीकरण" आफ्नो मुख्य लक्ष्य रहेको उसको भनाइ थियो।

तर युक्रेनमा रुस कस्तो सम्झौता गर्न चाहन्छ भन्ने कुरा अझै खुला छ। राष्ट्रपति पुटिनले गत साता रुसी सेनाका परिवारलाई भनेका छन्, "हामी हाम्रो जे हो, त्यो छाड्दैनौँ।"

उता ट्रम्पले रुस लचक नभएमा उसविरुद्ध थप प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। तर युद्धविरामबाहेक अमेरिकाले रुसबाट कस्तो लचकता चाहेको हो भन्ने कुरा पनि अस्पष्ट छ।