जनकपुरधाम, २२ कार्तिक। विश्वासको मत नपाउने देखिएपछि मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएका छन्। विश्वासको मत लिन आज मधेस प्रदेशसभाको बैठकमा विश्वासको मत नपाउने भएपछि मुख्यमन्त्री सोनलले राजिनामा दिएका हुन्।
कांग्रेस र एमालेलाई पाखा लगाएर मुख्यमन्त्री बनेका सोनलले शनिबार मधेस प्रदेशसभामा विश्वासको मत लिने कार्यक्रम थियो।
मुख्यमन्त्री बनाउन समर्थन गरेका सांसद विपक्षी कित्तामा उभिएपछि सोनलले विश्वासको मत नपाउने सुनिश्चित भएको थियो । आफ्नो पक्षमा बहुमत नपुग्ने भएपछि विश्वासको मतका लागि प्रक्रिया नै सुरु नहुँदै उनले राजीनामा दिएका हुन्।
सोनल संविधानको धारा १६८ (२) बमोजिम असोज २९ गते मुख्यमन्त्री नियुक्ति भएका थिए। सोनल गएको असोज २९ गते जनता समाजवादी पार्टी, जनमत, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी गरी पाँच दलका ५६ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।
संविधानअनुसार धारा १६८ (२) अन्तर्गतको नियुक्त मुख्यमन्त्रीले विश्वासको मत नपाएपछि संसद्को ठूलो दलको हैसियतले अब एमाले संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री हुनेछन्।





















