काठमाडौं, १८ कार्तिक। बहुविवाहको मुद्दामा अदालतबाट दोषी ठहर भएका नेकपा एमाले नेता पासाङ शेर्पा पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार धुम्बाराहीबाट नेकपा एमाले केन्द्रिय सदस्य शेपालाई पक्राउ गरेको हो।
ताप्लेजुङका शेर्पा एमालेको जनवर्गिय संगठन जनजाति महासंघका अध्यक्षसमेत हुन्।
बहुविवाहको मुद्दामा ३ वर्ष पहिले नै अदालतले दोषी ठहर गर्दै एक वर्ष कैद र ५ हजार रुपैयाँ जरीवाना तोके पनि शक्तिको आडमा अदालतलाई अटेर गर्दै बसिरहेका थिए। तर मंगलबार उनलाई सजाय भुक्तानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए।
जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध उनी उच्च अदालत पाटन पुगेका थिए। उच्च अदालतले पनि जिल्लाकै फैसला सदर गरेको थियो।
शेर्पालाई प्रहरीले सजाय भुक्तानका लागि बुधबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराउने एसपी भट्टराईले जानकारी दिए।





















