सिरहा, १७ कार्तिक। सिराहाको लहान र कर्जन्हाबाट प्रहरीले आइतबार राति कडा खालको मानिने प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र अन्य लागुऔषधसहित चारजनालाई पक्राउ गरेको छ।
लहान नगरपालिका ११ पडरिया टोलमा ब्राउनसुगर सेवन तथा बिक्री–वितरण भइरहेको गोप्य सूचनाको आधारमा सप्तरीको शम्भुनाथ नगरपालिका ३ घर भई पडरिया बस्दै आएका करिब २३ वर्षीय सुजित चौधरीलाई ब्राउनसुगरसहित पक्राउ गरिएको हो। इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले चौधरीको कोठामा खानतलासीको क्रममा सानो प्लास्टिकको डिब्बामा प्लास्टिकमा बेरेर राखेको दुई पोका प्लास्टिकसहित ४ ग्राम ८९ मिलिग्राम ब्राउनसुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।
खानतलासीको क्रममा एक थान डिजिटल तराजु, एक थान खुर्पा र एक थान मोबाइलसमेत फेला परेपछि तत्काल नियन्त्रणमा लिई लहान प्रहरीमा राखेर थप अनुसन्धान थालिएको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए।
त्यस्तै, पडरियाबाट नै प्रहरीले करिब २६ वर्षीय योगेश्वर चौधरीलाई प्लास्टिकसमेत ७ ग्राम ५५ मिलिग्राम ब्राउनसुगर पक्राउ गरेको छ। प्रहरीका अनुसार चौधरीको कोठाबाट प्रहरीले दुई थान कैँची, एक थान चिलिम, स्टिलको चक्कुसमेत बरामद भएपछि नियन्त्रणमा लिई लहान प्रहरीमा राखेर थप अनुसन्धान भइरहेको छ।
प्रहरीले उनकै छिमेकी स्थानीय ४३ वर्षीय मनोज चौधरीलाई समेत ३० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ।
त्यसैगरी, जिल्लाकै नगरपालिका ४ भुलके चोकबाट बन्दीपुरतर्फ जाँदै गरेका पैदलयात्री मकवानपुरगढी नगरपालिका ४ घर भएका करिब २७ वर्षीय रविनकुमार तिमल्सिनालाई झोलामा लुकाएको चार पत्ताको १८ ट्याब्लेट नाइट्राजेपामसहित पक्राउ गरी मिर्चैया प्रहरीमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।





















