प्रदीप बस्याल

काठमाडौं, ८ फागुन। नेपालमा आत्महत्या हुने क्रम पछिल्लो एक दशकमा एक वर्ष मात्र घटेको र बाँकी नौ वर्ष बढेको तथ्याङ्कले देखाएको भन्दै नेपाल प्रहरीले त्यसलाई 'भयावह अवस्था' भनेको छ।

चालु आर्थिक वर्षको छ महिनामा समेत विगतका क्रमजस्तै ३,१३४ जनाले आत्महत्या गरेको प्रहरी विवरणमा देखिनुले यस वर्ष समेत त्यो अघिल्ला वर्षमा झैँ उल्लेख्य नै देखिने सम्भावना देखिएको एक वरिष्ठ प्रहरी अधिकृतले बीबीसीलाई बताएका छन्।

एक दशकको तथ्याङ्कका आधारमा बर्सेनि झन्डै छ हजार मानिसहरूले आत्महत्या गर्ने गरेको देखिन्छ। यो भनेको औसतमा एक दिनमा झन्डै १६ जनाले आत्महत्या गर्ने प्रवृत्ति विद्यमान छ।

चेतावनी : यस सामग्रीमा उल्लिखितआत्महत्यासम्बन्धी विवरणले कतिपय मानिसलाई विचलित बनाउन सक्छ।

यो सङ्ख्या वैदेशिक रोजगारीका क्रममा विदेशमा हुने मृत्युको करिब छ गुणा वा सडक दुर्घटनाबाट वार्षिक रूपमा हुने दुर्घटनाको दोबरभन्दा बढी हो।

प्रहरीमा दर्ता हुने कुल मुद्दामध्ये करिब पाँच भागको एक भाग आत्महत्याको पाइनुले पनि यो समस्या विकराल बनिरहेको दर्साउने प्रहरीको अपराध अनुसन्धान विभागका प्रमुख एआईजी कुबेर कडायत बताउँछन्।

"विगतमा आत्महत्या दुरुत्साहनमा मुद्दा नचल्नेमा पछिल्लो कानुनी व्यवस्थामा त्यो उल्लेख भएपछि मुद्दा दर्ता हुने क्रम स्वाभाविक रूपमा बढेको छ," एआईजी कडायत बताउँछन्।

"आत्महत्या रोकथामका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा यससम्बन्धी सचेतना र मनोपरामर्श नै हो।"

निराश महिलाको साङ्केतिक तस्बिर

तस्बिर स्रोत,GETTY CREATIVE STOCK

सम्भाव्य कारण

एक वरिष्ठ मनोचिकित्सक सामाजिक जीवन तनावपूर्ण हुँदा विभिन्न रूपमा मानसिक समस्याहरू देखिने गरेको बताउँछन्।

"निकै प्रतिस्पर्धी शैक्षिक प्रणालीका कारण सानै उमेरदेखि नै तनावयुक्त समस्या देखिने गरेको छ। युवाहरू घरबाट पर रहने र वृद्धवृद्धा एक्लिने समस्याले सामाजिक सौहार्द बिगारेको छ," पाटन मानसिक अस्पतालका पूर्वनिर्देशक रहिसकेका प्राध्यापक डा सुरेन्द्र शेरचन भन्छन्।

देशको ठूलो जनसङ्ख्या वैदेशिक रोजगारीमा हुँदा छुट्टिएर बस्नुपर्ने दम्पतीमा परिवार सुखको अभावसँगै एक्लोपन देखिने गरेको विज्ञहरू बताउँछन्।

"विभिन्न सामाजिक कारणले गर्दा हाम्रो जीवन सहज बनिरहेको छैन र तनाव त्यहीँबाट सुरु भएको छ। मानसिक स्वास्थ्य सबैभन्दा मुख्य कारण भए पनि राज्यको तयारी त्यस क्षेत्रमा पर्याप्त छैन," वरिष्ठ मनोचिकित्सक शेरचन भन्छन्।

"लागुपदार्थ दुर्व्यसन बढ्दै जानु पनि त्यसको एउटा असर हो, जुन समेत धेरै हकमा आत्महत्यासँग गएर जोडिने गरेको छ।"

नेपालमा आत्महत्या
क प्रहरी अध्ययनमा निराशा र डर आत्महत्याका जड कारण देखिएको भन्दै 'महिलाहरूका हकमा कम उमेरमा र पुरुषहरूमा उमेर घर्कँदै जाँदा' आत्महत्याको प्रवृत्ति बढ्ता देखिने गरेको छ।

साठी वर्ष काटेपछि पनि मानिसहरू आत्महत्या गर्ने गरेका कैयौँ घटना पाइने गरेको 'आत्महत्या न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी अध्ययन २०८१' को संयोजन गरेका प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी बताउँछन्।

"त्यसैले अहिले प्रहरीले आत्महत्याका घटनामा त्यसको कारण खोतल्ने क्रम सुरु गरेको छ," उनी भन्छन्।

विज्ञहरू पछिल्ला वर्षमा तनावका नयाँनयाँ स्वरूप देखिने गरेको भन्दै त्यो पारिवारिक विग्रहसँग पनि जोडिने गरेको बताउँछन्।

"परिवारपन कम हुँदै गएको छ। परिवारहरू छुट्टिएका पाइन्छन् र एकअर्कालाई रेखदेख गर्ने प्रवृत्तिमा कमी देखिन्छ," डा शेरचन भन्छन्।

"अहिलेको समाजमा तनावका रूप फेरिएका छन्। तर मुख्य कुरा सामाजिक सन्तुलनमै आएको परिवर्तन हो।"

आत्महत्या
कस्ता प्रयास आवश्यक?नेपाल प्रहरीका लागि यसै वर्ष पछिल्ला एक दशकको आत्महत्यासम्बन्धी विवरणको अध्ययन र विश्लेषणको संयोजन गरेका प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी आफ्नो अध्ययनले समाजमा नैराश्य, रोग र विचलन व्याप्त रहेको देखाएको बताउँछन्। सामाजिक, आर्थिक र पारस्परिक सम्बन्धलगायतका कारण जिम्मेवार भए तापनि मानसिक विचलनको अवस्थामा पुग्ने अवस्थाबाट आत्महत्या धेरै हुने गरेको प्रहरीको विवरणमा देखिन्छ," एसएसपी अधिकारी भन्छन्।"त्यसैले सबैभन्दा धेरै सम्पर्कमा रहने परिवार र साथीसङ्गीले एकअर्कामा ख्याल गर्ने तथा रेखदेखको भूमिका पनि यसको रोकथाममा निकै महत्त्वपूर्ण हुने देखिन्छ।"डा सुरेन्द्र शेरचन कसैले आत्महत्या गर्नुअघि कैयौँ पटक त्यसको प्रयास गरेको हुन सक्ने भन्दै त्यसबीचमा रोकथामका प्रयासहरू गर्नुपर्ने बताउँछन्।"त्यसबीचमा मानसिक स्वास्थ्यको ख्याल गर्न सकियो भने पनि धेरै घटना रोक्न सकिन्छ। पहिल्यै छनक नदिईकन कमै मात्र आत्महत्या भइरहेका हुन्छन्," मनोचिकित्सक शेरचन भन्छन्।यदि तपाईँ मानसिक तनावबाट गुज्रिरहनुभएको छ वा आत्महत्या गर्ने सोच आउँछ वा त्यस्तो तनाव भोगिरहेका मानिसहरूलाई चिन्नुहुन्छ भने कृपया चौबीसै घण्टा चल्ने र पैसा नलाग्ने हेल्पलाइन ११६६ मा सम्पर्क गर्नुहोस्।बीबीसी न्यूज नेपाली