• दुर्गा खनाल

प्रतिनिधिसभाका दुई ठूला दल एमाले र कांग्रेसले गत असारमा सत्ता गठबन्धन गर्दा मुख्य उद्देश्य थिए– राजनीतिक स्थिरता, सुशासन, मुलुकलाई आर्थिक गति दिने र संविधान संशोधन गर्ने । सरकार निर्माण भएको छ महिना बितिसकेको छ । सरकार जे उद्देश्यका लागि बनेको हो, त्यसअनुसार गति लिन नसकेको भन्दै आलोचना सुरु भएको छ ।

सत्तारूढ दलभित्रै यस्ता आवाज मुखर हुन थालेका छन् । जसको दबाब अहिले सरकारमा रहेका दलका मूल नेतृत्वमाथि परेको छ । उद्देश्य पूरा गर्नका लागि ६ महिना पर्याप्त त नहोला तर जग तयार गर्न भने यो अवधि कम होइन ।

अहिलेको अवस्थामा नेपालका नागरिक राजनीतिक, आर्थिक र समसामयिक सामाजिक अवस्थाबारे कस्तो धारणा राखिरहेका छन् ? के नेपालले सही दिशा पक्रिइरहेको छ ? राजनीतिक र आर्थिक दिशाबारे नागरिक के सोचिरहेका छन् ? ‘सेयरकास्ट इनिसिएटिभ नेपाल’ ले गरेको राष्ट्रिय नागरिक मत सर्वेक्षणले यसको तथ्यगत तस्बिर देखाएको छ ।

जसमा मुलुकको राजनीतिले अझै सही दिशा नपक्रेको, आर्थिक अवस्थामा सुधार नभएको र नागरिकको सन्तुष्टिमा उल्लेख्य सुधार नभएको देखिन्छ । भ्रष्टाचार र बेरोजगारी निकै ठूलो समस्याका रूपमा रहँदा शासन सञ्चालनको जिम्मेवारीमा रहेका शासकीय संस्थाहरूको विश्वासको तहमा पनि सुधार नभएको सर्वेक्षणले देखाउँछ ।

गत मंसिर १६ देखि पुस २७ सम्म सातै प्रदेश र ५२ जिल्लाका १९६ पालिकाका २१४ वडामा बसोबास गर्ने ३ हजार नागरिकसँग गरिएको प्रत्यक्ष भेटघाटसहितको अन्तर्वार्ताबाट तथ्यांक संकलन गरिएको थियो । सेयरकास्ट इनिसिएटिभ नेपालका अध्यक्ष मधु आचार्यका अनुसार त्यसका लागि शिक्षा, आर्थिक अवस्था, उमेर, जात, धर्म, लिंगलगायतका समूह छुट्याएर जनसंख्याको अनुपातकै आधारमा उत्तरदाता छनोट गरिएको थियो ।

मिडियालगायतका क्षेत्रमा धेरैवटा सर्वेक्षण गरिरहेको सेयरकास्टले विगतमा पनि राजनीतिक, सामाजिक विषयमा पनि मत सर्वेक्षण गर्ने गरेको थियो । ‘विगतमा गर्दै आएका विषयसँग सम्बन्धित मात्रै होइन अहिले समसामयिक विषयमा पनि नागरिकको धारणा बुझ्ने कोसिस गरेका छौं,’ उनले कान्तिपुरसँग भने,’ ‘हामीले तथ्यांक निकालेका छौं । यसको विश्लेषणचाहिँ हामीले गरेका छैनौं । आवश्यकताअनुसार विश्लेषण गरेर बुझ्न सकिन्छ ।’

पालिकाहरूले दिने सेवा र सामाजिक, राजनीतिक विषयमा सोधिएका केही महत्त्वपूर्ण प्रश्नमा नागरिकको धारणा कसरी प्रतिबिम्बित भएको छ त ? तथ्यमा हेरौं ।

राजनीतिक र आर्थिक दिशा कता ?

एउटा सरकार नबन्दै अर्को सरकारको खोजी हुने, सरकारले गति नलिँदै दलहरूबीच आन्तरिक बेमेल हुने र त्यसको असर समग्र प्रणालीमा पर्ने पछिल्लो समय नेपाली राजनीतिको नियमित कर्म जस्तो भइसक्यो । नागरिकले जे विषयमा सुधारको अपेक्षा गरेका छन्, त्योभन्दा विपरीत गतिविधि हुँदा उनीहरूले चित्त बुझाउँदैनन् । जुन कुरा यो सर्वेक्षणमा सोधिएका केही प्रश्नमा आएको जवाफले पनि पुष्टि गर्छ ।

सर्वेक्षणमा सहभागी ३ हजार उत्तरदातामध्ये ९८.५ प्रतिशत कुनै न कुनै रूपमा राजनीतिमा चासो राख्नेहरू थिए । उनीहरूलाई सोधिएको नेपालको राजनीति सही वा गलत दिशामा गइरहेको छ भन्ने प्रश्नमा ६८ प्रतिशत अर्थात् २,०४० जनाले राजनीति गलत दिशामा गइरहेको जवाफ दिएका छन् । १६ प्रतिशत अर्थात् ४८० जनाले मात्र नेपालको राजनीति सही दिशामा रहेको भनेका छन् । नेपालको राजनीतिलाई गलत दिशामा डोर्‍याउने मुख्य कारण भ्रष्टाचार, कमजोर राजनीतिक नेतृत्व, अस्थिरता, नातावाद, कृपावादलगायत हुन् ।

A coalition to win elections, another coalition to come to power and again and again the people disappointed by the coalition

साढे ५४ प्रतिशतले भ्रष्टाचार, ४२ प्रतिशतले कमजोर राजनीतिक नेतृत्वका कारण मुलुक गलत दिशामा गइरहेको जवाफ दिएका छन् । राजनीतिक अस्थिरताका कारण गलत दिशामा गइरहेको भन्नेको संख्या ३५ प्रतिशत छ । राजनीति गलत दिशामा छ भन्नेमा सबैभन्दा बढी गण्डकी प्रदेशका छन् । यस्तो जवाफ दिनेमा ४५ देखि ५९ वर्ष उमेर समूहका स्नातकदेखि माथि अध्ययन गर्ने मध्यम र निम्न मध्यम आय भएका व्यक्तिको संख्या ५५ प्रतिशतभन्दा बढी छ । यसको अर्थ सचेत र शैक्षिक रूपमा अब्बल नागरिक राजनीतिको बाटो ठिक ढंगले अघि नबढेको भन्दै असन्तुष्ट रहेका देखिन्छन् ।

A coalition to win elections, another coalition to come to power and again and again the people disappointed by the coalition

राजनीति सही दिशामा गइरहेको छ भन्ने १६ प्रतिशतले चाहिँ केलाई सकारात्मक मानेका छन् त ?

सही दिशामा छ भन्नेमध्ये ४० प्रतिशतले पूर्वाधार विकास राम्रो भएको भनेका छन्, साढे १५ प्रतिशतले सेवा सुविधामा बढोत्तरी भएको र १० प्रतिशतले सामाजिक रूपमा प्रगति भइरहेको जवाफ दिएका छन् । राजनीति गलत दिशामा गइरहेको छ भन्ने बहुसंख्यक उत्तरदाताले आर्थिक अवस्थामा पनि सुधार भइरहेको देखेका छैनन् ।

५३.८ प्रतिशतले आर्थिक अवस्था खराब हुँदै गएको भनेका छन् । २४ प्रतिशतले मात्र आर्थिक अवस्था राम्रो बन्दै गएको जवाफ दिएका छन् । आर्थिक अवस्था खराब भनेर जवाफ दिनेमा पनि ४५ देखि ५९ वर्ष उमेर समूहका स्नातकदेखि माथि अध्ययन गर्ने मध्यम र निम्न मध्यम आय भएका व्यक्तिहरूको संख्या ६० प्रतिशतभन्दा बढी छ ।

A coalition to win elections, another coalition to come to power and again and again the people disappointed by the coalition

यस तथ्यांकले राजनीतिको गलत दिशाको असर अर्थतन्त्रमा परिरहेको बुझ्न कठिन छैन । त्यस्तै उत्तरदाताको क्लस्टर हेर्दा पनि जो बढी शिक्षित छ त्यो जमातले यो कुरा भनिरहेको छ ।

तत्कालको राजनीतिक र आर्थिक अवस्था गलत र खराब दिशामा रहे पनि पाँच वर्षअघिको तुलनामा अहिले नेपालको समग्र अवस्था कस्तो छ भन्ने प्रश्नमा चाहिँ केही सकारात्मक संकेत देखिन्छ । ५०.५ प्रतिशतले पाँच वर्षअघिको तुलनामा केही सुधार भएको जवाफ दिएका छन् ।

A coalition to win elections, another coalition to come to power and again and again the people disappointed by the coalition

मुलुकको समग्र स्थितिको सूचक खराब देखिए पनि नागरिकको व्यक्तिगत जीवन र परिवारको अवस्थामा पाँच वर्षअघि भन्दा अहिले सुधार आएको तथ्य सर्वेक्षणले देखाएको छ । करिब ५७ प्रतिशतले केही हदसम्म पाँच वर्षअघिको भन्दा अहिले सुधार भइरहेको बताएका छन् । बितेको पाँच वर्षमा कोभिड महामारीका कारण ठूलो मानवीय र आर्थिक क्षति बेहोर्नुपरेको थियो । अहिले राम्रो भएको जवाफले कोभिडको क्षतिलाई पनि पुर्ताल गरेर अगाडि बढ्न थालेको संकेतका रूपमा बुझ्न सकिन्छ ।

A coalition to win elections, another coalition to come to power and again and again the people disappointed by the coalition

संविधान र निर्वाचन प्रणाली संशोधन कति आवश्यक ?

पछिल्लो सत्ता गठबन्धन निर्माण भएपछि सबैभन्दा बढ्ता चर्चा र बहसमा आइरहेको राजनीतिक मुद्दा संविधान संशोधन र निर्वाचन प्रणालीको हो । संविधान संशोधनको एजेन्डासहित हालको सत्ता गठबन्धन नै बनेको छ । भावी राजनीतिक स्थिरताका लागि अहिलेको निर्वाचन पद्धति सुधार गरेर समानुपातिकतर्फको ‘थ्रेसहोल्ड’ बढाउने तयारी पनि चलिरहेको छ । साना दल राजनीतिक अस्थिरताका कारक बनेको भन्ने भाष्य खडा गर्दै सत्ताको नेतृत्व गर्ने दुई ठूला दलले थ्रेसहोल्ड बढाउने गरी राजनीतिक दलसम्बन्धी कानुन परिवर्तन गर्न लागेका छन् । यी घटनाक्रमलाई पनि पृष्ठपोषणका रूपमा काम गर्ने खालका तथ्य सर्वेक्षणले उजागर गरेको छ ।

२०७२ सालमा संविधानसभामार्फत लेखिएको संविधान संशोधनको आवश्यकताबारे करिब ४७ प्रतिशतले पक्षमा मत जाहेर गरेका छन् । ससाना संशोधन आवश्यक छ भन्ने करिब १६ प्रतिशत छन् । यसको अर्थ करिब ६२ प्रतिशतले कुनै न कुनै रूपमा संविधान संशोधनको आवश्यकता ‍औंल्याएका छन् ।

A coalition to win elections, another coalition to come to power and again and again the people disappointed by the coalition

यसले संविधान संशोधनबारे राजनीतिक दलहरूले ‍औंल्याएको आवश्यकता नागरिकको अपेक्षाअनुसारकै हो भन्ने तर्कलाई बल मिल्छ । संविधान संशोधनको आवश्यकता छ भन्ने उत्तरदातालाई प्रादेशिक क्लस्टरबाट हेर्दा कर्णाली र मधेशका उत्तरदाताले बढी संशोधनको आवश्यकता औंल्याएका छन् । कर्णालीका करिब ६९ र मधेशका करिब ६८ प्रतिशत उत्तरदाताले संविधानमा कुनै न कुनै प्रकारको संशोधन आवश्यक रहेको उल्लेख गरेका छन् ।

जातीय कलस्टरअन्तर्गत तराईका दलितमध्ये ७५ प्रतिशतले संविधान संशोधनको आवश्यकता औंल्याएका छन् । पहाडी ब्राह्मण क्लस्टरका करिब ७० प्रतिशत र मधेशी ब्राह्मण क्लस्टरका करिब ८३ प्रतिशतले कुनै न कुनै रूपमा संशोधनको आवश्यकता ‍औंल्याएका छन् । संविधानका अहिलेका प्रावधानमा असन्तुष्टि जनाउनेमा मधेशी र जनजाति समुदाय मात्र बढी हुन् भन्ने बुझाइलाई यो तथ्यले खण्डित गरेको छ । यसको अर्थ संविधान संशोधनको आवश्यकताको महसुस सबै क्लस्टरका नागरिकले गरेको हो भन्ने बुझ्न सकिन्छ ।

निर्वाचनसँग जोडेर एउटै व्यक्ति किन पटकपटक शक्ति र पदमा निर्वाचित हुने वा बसिरहने र चुनाव जित्नका लागि गठबन्धन गर्ने संस्कृतिबारे सर्वेक्षणमा प्रश्न गरिएको थियो । यसमा पनि रोचक जवाफ छन् । एउटै व्यक्ति पदमा बसिरहने र निर्वाचित भइरहने मुख्य कारण मत किन्ने वा आर्थिक प्रलोभनमा पार्ने शैलीले काम गरेको तथ्य छ । सर्वेक्षणमा सहभागीमध्ये ५२ प्रतिशतले मत किनेर वा आर्थिक प्रलोभनमा पारेर निर्वाचित भइरहेको जवाफ दिएका छन् ।

उम्मेदवारको विगतको कार्यका कारण निर्वाचित भएको जवाफ दिने २४ प्रतिशत छन् भने उम्मेदवार वा पार्टीको निष्ठाका कारण निर्वाचित हुन्छन् भन्नेको संख्या २१ प्रतिशत मात्र छ । भोट किनेर वा आर्थिक प्रलोभनमा पारेर जित्छन् भन्ने उत्तरदारतामध्ये मधेश, बागमती र सुदूरपश्चिमका ५४ प्रतिशतभन्दा बढी छन् । यसको अर्थ तीन प्रदेशमा निर्वाचित हुँदा आर्थिक विषय प्रभावी हुँदोरहेछ भन्ने अनुमान गर्न सक्ने आधार देखिन्छ ।

निर्वाचनमा हुने गठबन्धन संस्कृतिप्रति पनि यो सर्वेक्षणमा निकै ठूलो नकारात्मक तथ्य आएको छ । सर्वेक्षणमा सहभागीमध्ये करिब ७५ प्रतिशतले गठबन्धन प्रायः अवसरवादी हुने र त्यसले दलको पहिचानलाई कमजोर पार्ने जवाफ दिएका छन् । चुनावी गठबन्धनले दलहरूबीच एकता र स्थिरता ल्याउँछ भनेर जवाफ दिनेहरू त १४ प्रतिशत मात्र छन् । स्नातक तहभन्दा माथि अध्ययन गर्ने उत्तरदारतामध्ये ९० प्रतिशतले गठबन्धन गलत भनेका छन् । अशिक्षित उत्तरदातासमेत ६२ प्रतिशतले गठबन्धन ठिक होइन भनेका छन् । त्यस्तै, ४०–५९ वर्ष उमेर समूहका ८० प्रतिशतले गठबन्धनलाई रुचाएका छैनन् ।

चुनावअघि गठबन्धन गर्ने, परिणाम आउनेबित्तिकै अर्को दलसँग मिलेर सत्ता भागबन्डा गर्ने प्रवृत्तिलाई नागरिकले रुचाइरहेका छैनन् भन्ने यसबाट बुझ्न सकिन्छ । यसले निर्वाचन प्रणालीभन्दा पनि दल र नेताको प्रवृत्तिमाथि सुधारको आवश्यकता रहेको देखिन्छ ।

A coalition to win elections, another coalition to come to power and again and again the people disappointed by the coalition

सुशासन, समस्या र सुधारका मुद्दा

सर्वेक्षणले मुलुकका जल्दाबल्दा समस्या र सुधारका प्राथमिकताबारे पनि केही तथ्य उजागर गरेको छ । अहिलेका जल्दाबल्दा समस्या के हुन् भनेर सोधिएको प्रश्नमा ६१ प्रतिशतले बेरोजगारी भनेका छन् । ३० प्रतिशतले गरिबी र अभाव तथा करिब २७ प्रतिशतले बाटोघाटोको मर्मत भनेका छन् । करिब २५ प्रतिशतले भ्रष्टाचारलाई मुख्य समस्या ठानेका छन् । नेपालीहरू अहिले स्वदेशमा कुन पेसामा बढी आकर्षित छन् भनेर सोधिएको प्रश्नमा पनि वैदेशिक रोजगारी र आप्रवासन भन्नेको संख्या ७२ प्रतिशत छ । त्यस्तै, नेपाली बिदेसिनुको मूल कारण के हो भन्ने पूरक प्रश्नमा पनि रोजगारीको अवसरको कमी भन्ने ८२ प्रतिशत छन् । यसले आप्रवासनको प्रवृत्ति र रोजगारीको समस्याको भयावह अवस्था चित्रित हुन्छ ।

संघीय सरकारले तत्काल सुधारका लागि प्राथमिकता दिनुपर्ने विषयको पहिलो नम्बरमा भने मूल्यवृद्धि परेको छ । खान, बस्न, यातायात, शिक्षा, बिजुली, मोबाइल, इन्टरनेट, स्वास्थ्य सेवा र पिउने पानीको मूल्यवृद्धि नियन्त्रण गर्ने मुख्य प्राथमिकता हुनुपर्छ भनेर जवाफ दिने साढे ६४ प्रतिशत छन् । सार्वजनिक सेवा र भौतिक पूर्वाधारको सुधारलाई ध्यान दिनुपर्छ भन्ने करिब ४० प्रतिशत छन् । यसले सरकारले सुधारको थालनी नागरिकको जनजीवनमा प्रत्यक्ष जोडिएका सवालबाट गर्नुपर्छ भन्ने देखिन्छ ।

A coalition to win elections, another coalition to come to power and again and again the people disappointed by the coalition

यी सबै कारणले नै सरकारी संस्थाप्रति नागरिकको भरोसा स्थिर वा घटेको देखिएको हुन सक्छ । यो सर्वेक्षणमा सरकारी संस्थाको विश्वास बढेको, घटेको वा स्थिर छ भन्ने प्रश्न सोधिएको थियो । यसमा राष्ट्रपति, प्रधानमन्त्री, प्रदेश सरकार, संसद्, न्यायपालिका, पालिकाका मेयर, उपमेयर, नेपाली सेना, नेपाल प्रहरी, सञ्चारमाध्यम, नागरिक संस्थाहरूको सूची थियो । यसमध्ये करिब ३० प्रतिशतले संघीय सरकारप्रतिको विश्वास घटेको बताएका छन् भने ४५ प्रतिशतले विश्वासको तह स्थिर रहेको जवाफ दिएका छन् । प्रदेश सरकारअन्तर्गत २० प्रतिशतले विश्वास घटेको र ४२ प्रतिशतले स्थिर रहेको उल्लेख गरेका छन् ।

मिडिया र नागरिक संस्थाप्रति भने विश्वासको तह बढेको सर्वेक्षणले देखाएको छ । ५७ प्रतिशतले मिडियाको विश्वास बढेको भनेका छन् भने करिब ४८ प्रतिशतले नागरिक संस्थाप्रतिको भरोसा गरेका छन् । अभिव्यक्ति स्वतन्त्रताको अवस्थाबारे सोधिएको प्रश्नमा करिब ८० प्रतिशतले आफूलाई लागेको कुरा निर्धक्कसँग बोल्न वा लेख्न सक्छु भन्ने जवाफ दिएका छन् ।

A coalition to win elections, another coalition to come to power and again and again the people disappointed by the coalition

यो तथ्यले स्वतन्त्रताको तह बढेको देखाउँछ । लैंगिक क्लस्टरबाट हेर्दा सर्वेक्षणमा सहभागी १ हजार ५ सय १२ महिलामध्ये ७४ प्रतिशतले खुला बोल्न सक्छु भनेका छन् । सर्वेक्षणमा सहभागी १ हजार ४ सय ४८ पुरुषमध्ये करिब ८५ प्रतिशतले निर्धक्क बोल्छु भनेका छन् । यसबाट देखिन्छ– महिला अझै आफ्नो कुरा राख्ने स्वतन्त्रतामा पुरुषको दाँजोमा पुग्न सकेका छैनन् ।

A coalition to win elections, another coalition to come to power and again and again the people disappointed by the coalition