• सञ्जीव कार्की

स्वतन्त्रता सीमारहित हुँदैन। सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने स्वतन्त्रता हाम्रो अभीष्ट होइन। स्वतन्त्रता पनि उचित र अनुचितको परिभाषामा अनुबन्धित रहन्छ। अश्लील स्वतन्त्रता र सामाजिक मूल्यसहितको स्वतनत्रता पृथक् कुरा हो। हाम्रो समाज यदाकदा सीमारहित स्वतन्त्रताको पक्षधर बन्न खोज्छ त्यो ज्यादै जोखिमयुक्त स्वतन्त्रताको माग हो त्यसले स्वतन्त्रताको मानक स्थापना गर्दैन। स्वतन्त्रतालाई छाडातन्त्रसँग एकाकार गराउँछ। 

स्वतन्त्रताको अर्थ नेपाली बृहत् शब्दकोशमा यसरी परिभाषित गरिएको छ: ‘कुनै प्रकारको शासनिक बाधा, बन्धन आदि नभई उचित कार्य र व्यवहार गर्न पाउने अधिकार; स्वातन्यत्रय।’ यसले उचित कार्य र व्यवहार गर्न पाउने अधिकार भनेर स्वतन्त्रतामा उचित शब्द पनि थपिदिएको छ। स्वतन्त्रता भनेको मनलाग्दी गर्न पाउने व्यवस्था नभएर योग्य र सुयोग्य सूचना पाउने नागरिकको हक हो। सबै सूचना र समाचार प्रसारण र प्रकाशनलायक हुँदैनन्, त्यसैले समाचार स्व्रिmनिङको योग्यता र आचरण आवश्यक हुन्छ। 

स्वतन्त्रताको निरपेक्ष अर्थ खोज्न थालियो भने स्वतन्त्रता मर्यादाहीन र अराजक हुन्छ। स्वच्छन्दता स्वतन्त्रता होइन। बेलगाम तरिकालाई स्वतन्त्रताको अर्थ भिराइयो भने समाज जसरी आज अराजक बनेको छ, त्यसरी नै बन्दै जाने छ । पाए जति सूचना बजारमा पठाउनु स्वतन्त्रताको दुरुपयोग हुन्छ । नियमको उल्लङ्घन हुन थालेपछि नियन्त्रण र नियोजनको विषय उठ्छ र कानुन आकर्षित बन्छ, त्यसैले हाम्रो प्रेसलगायत अन्य सामाजिक सञ्जालको स्वतन्त्रता नियन्त्रण उन्मुख बन्दै छ । नियमन र निषेध दुई फरक कुरा हुन् । 

मर्यादित स्वतन्त्रता आजको आवश्यकता बनेको छ। प्रेस स्वतन्त्रता, व्यक्तिगत स्वतन्त्रता र पारदर्शिताको नाममा जुन हदका निकृष्ट कार्य भएका छन्, हुने गरेका छन् तिनले प्रेस स्वतन्त्रताको खिल्ली उडाएका छन्। व्यक्तिगत स्वतन्त्रतालाई पुनः परिभाषित गर्नुपर्ने बनाएका छन्। स्वतन्त्रताको परिभाषामा अराजकता थपेका छन्। आमप्रबुद्ध मान्छेको चासो र स्वतन्त्रताको लडाइँ लडेकाहरूको चिन्ता अनि चर्चाको विषय अशिष्ट स्वतन्त्रताको विपक्षमा छ। शिष्ट मर्यादित र सापेक्षित स्वतन्त्रताको पक्षमा छ। 

स्वतन्त्रता सामाजिक नैतिकताको विषय हो । मानवीय, सभ्यता र शिष्ट अनुशासित समाजमा मर्यादित स्वतन्त्रताको अभ्यास गरिन्छ। वाक् स्वतन्त्रताको अर्थ, वाक् मर्यादा गुमाउनु होइन। मर्यादित स्वतन्त्रताको पक्षधर हुनु अधिकार र गौरवको विषय बन्छ। मर्यादित स्वतन्त्रताभित्र पत्रकारिताका आधारभूत सिद्धान्तहरू सन्निहित रहन्छन्। शुद्धता, सन्तुलन, विश्वसनीयता, शिष्टता, नैतिकता र स्वच्छता, त्यस्तै गरी व्यक्तिगत स्वतन्त्रताभित्र पनि मर्यादा, शिष्टता नैतिकता र अन्य पक्षको स्वतन्त्रता र स्वाभिमानमा आँच नपु¥याउने इमान वाक् स्वतन्त्रतालाई लोकतन्त्रको प्राणवायुको नामले पनि पुकारिन्छ । स्वतन्त्रताको महìव के र कति हुन्छ त्यो स्वतन्त्रताको उपयोग गर्न नपाएका पुस्ता र विश्वमा वाक् स्वतन्त्रता खोसिएका मान्छेले व्यक्त गर्ने पीडामा व्यक्त भएको देखिन्छ। ‘मेरो कलम नभाँच, मेरो बोल्ने मुख नथुन, मेरो हात गोडामा नेल नठोक भन्ने बिपी कोइरालाका समकालीन सबै कम्युनिट कांग्रेस र २०४६ सम्मको स्थिति बेहोर्ने आममान्छेलाई थाहा छ बन्धनभित्र कैद भएको स्वतन्त्रताको अर्थ? राजा ज्ञानेन्द्र शाहले २०६१ मा सञ्चार माध्यममा गरेको निषेधको परिणति के भयो दुनियाँ जगजाहेर छ। 

प्रजातन्त्रको मौलिक हक हो स्वतन्त्रता। नेपालमा थुप्रै आन्दोलन भए सशस्त्र, निशस्त्र। सङ्घर्ष प्रजातान्त्रिक स्वतन्त्रता सुनिश्चित गर्नकै लागि भएका थिए। प्रेस स्वतन्त्रता, लोकतान्त्रिक व्यवस्थाको मेरुदण्ड मानिन्छ । कसैको हस्तक्षेप, नियन्त्रण र नियोजन बिनास्वतन्त्र तवरले कार्य गर्ने लेख्ने बोल्ने, सङ्घ सङ्गठन खोल्न पाउने वा निर्बाध रूपमा आफ्ना गतिविधि गर्न पाउने अवरोधरहित अवस्थाको प्रावधान हो।

 लोकतान्त्रिक मर्यादा मूल्य र अस्मिताको जीवन्तता र गतिशीलता वाक् स्वतन्त्रताको परिधिका रूपमा व्याख्या विश्लेषण गरिन्छ। विचार अभिव्यक्तिको स्वतन्त्रताले खुला समाजको वृद्धि र विकासमा बहुकोणबाट मद्दत पु¥याइरहेको पाइन्छ। विचार प्रवाह गर्ने, आफ्नो मार्गनिर्देश सम्प्रेषण गर्ने स्वतन्त्रताले नागरिकलाई बलियो बनाउन र अन्यायको विरुद्ध प्रथम प्रतिरोध गर्न बल प्रदान गर्र्छ। 

स्वतन्त्र र निष्पक्ष ढङ्गले गर्ने टिप्पणी आलोचना र विरोधले गलत प्रवृत्तिलाई सचेत गराउने, झापड लाउने र केहीहदसम्म नियन्त्रण गर्ने काम गर्छ। संवैधानिक हकका रूपमा नै सुरक्षित अभिव्यक्ति स्वतन्त्रता प्रयोग गर्न नजान्दा यसको मर्यादा उल्लङ्घन गर्दा आममान्छे नेतागण र पत्रकारलगायत बारम्बार चुकेका छन्छौँ। आधुनिक सूचना प्रविधि र अधिकांश मान्छेको हातमा सञ्चार माध्यमका थरी थरी साधन भएकाले एक क्लिकमा कुनै पनि अभिव्यक्ति तत्क्षण विश्वव्यापीकरण गर्ने अवसर प्राप्त छ, फलतः जुनसुकै घटना पनि सामाजिक सञ्जालमा पुग्छ र तत्काल टिप्पणी प्रतिटिप्पणी हुन थाल्छ। 

 हामी स्वतन्त्रताको नाममा जुन कुरा गरिरहेका छौँ र निर्बाध पाउने हक भन्छौँ त्यो मर्यादामाथिको उपहास हो। स्वच्छन्दता होइन स्वतन्त्रता, यसको मर्यादा, सीमा र नैतिक बन्धन सामाजिक अभ्यास पनि छन्। ब्रेक थ्रु गर्ने र ब्रेकिङ न्युज बनाउने होडले, लोकप्रिय बन्ने ध्याउन्नले अभिव्यक्ति अधिकारको नाममा हामीले कर्तव्य र जिम्मेवारी बिर्सिरहेका छौँ।  जान अन्जानको हतारोले विचार अभिव्यक्त गर्दा क्षण भरमै कसैको जिन्दगी बर्बाद पार्ने र सामाजिक हैसियत धुलिसात पारिदिने कामसमेत भएका छन्। गलत सन्देश प्रवाह गर्दा र कतिपय संवेदनशील विषयका सन्देश प्रकाशन गर्दा पर्ने दीर्घकालीन असरलाई, व्यक्तिगत चरित्र हत्यालाई संवैधानिक बन्दोबस्तीको आडमा बचाउन सकिन्न। त्यसैले सचेतता अत्यन्तै जरूरी हुन्छ। लोकतन्त्र बलियो बनाउन हरेक विषयमा जनमतको छलफलले दिने राय, सचेत खबरदारी अनि अभिमतको खाँचो र पारदर्शिता हुन्छ तर सबै विषयमा पारदर्शिताको माग गर्दै स्वतन्त्रताको कुरा गर्नु कर्तव्यप्रति आँखा चिम्लनु हो।

स्वच्छ आलोचना, स्वस्थ निर्देशन र सैद्धान्तिक टिप्पणी, सैद्धान्तिक प्रतिटिप्पणीले सरकारी नीतिहरू दिशाहीन बन्दैनन्, प्रवृत्तिगत आलोचनाले व्यक्तिको मान मर्दन हुँदैन। वाक् तथा अभिव्यक्ति स्वतन्त्रता आजको समाजको अभिन्न पक्ष हो। पृथक् पृथक् विचार सैद्धान्तिक मान्यता, दर्शन अनि व्यवहार भएको बहुल समाजमा सबैको एकै विचार मान्यता र विश्वास पाइन्न, त्यसैले कतिपय अभिव्यक्ति अलि असहज र अस्वाभाविक तवरका साथ आउँछन्। दमनको हतियारले तह लगाउने नभएर उत्कृष्ट नैतिक दबाबसहित मर्यादा र सीमामा बसेर प्रतिरोध गर्नु पर्छ। 

लोकतन्त्रको आधारभूत तत्व अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता नै हो तर यो मर्यादित, अनुशासित र अनुकरणीय हुनु पर्छ। वाक् स्वतन्त्रता मर्यादासहितको विशिष्ट संस्कृति पनि हो। नैतिक र जवाफदेही स्वतन्त्रताले मात्रै लोकतन्त्र मजबुत हुन्छ । प्रविधिको  क्षणिक लाभ र कस्मेटिक आकर्षणभन्दा यसले पार्ने दूरगामी जोखिममा ध्यान पुग्नु जरुरी हुन्छ। 

माक्र्सवादी चिन्तक स्टुआर्ट हल “मिडियाले वास्तविक कुरालाई नकाव भिराउँछ” भन्छन् तर मिडिया नै नहुनु जस्तो मध्ययुगीन अन्धकालको पृष्ठपोषण उनको उद्देश्य देखिन्न। मिडिया समग्रमा निषेध नभएको र अभिव्यक्तिको स्वतन्त्रता प्रकट गर्ने ठाउँ अन्यत्र पनि भएको कारण टिकटकमाथिको सरकारी प्रतिबन्ध विशेष आपत्तिको विषय नहुनु पर्ने हो। यद्यपि समस्या कन्टेनको हो। स्वच्छन्दता अभिव्यक्तिमा हो। प्लेटफर्म अर्थात् माध्यमको होइन। सामाजिक सद्भाव बिथोलिने, समाज भड्किने, प्रविधिबाट नभएर प्रयोगकर्ताबाट हो। नयाँ र प्रविधिमैत्री पुस्तालाई सामाजिक विमर्श र ज्ञान उत्पादनमा फ्यासिलेटेड गरौँ। गलत ज्ञान र गलत अफवाहबारे सचेत गराऔँ प्रविधिको नियमन गरौँ। 

वाक् स्वतन्त्रताको जति महत्व र अर्थ छ त्यति नै वाक् मर्यादाको पनि मूल्य र अस्तित्व छ। मूल्यहीन हुनु भनेको जथाभावी बोल्ने र बोलेको कुराको स्वामित्व नलिने, उत्तरदायी नबन्ने कारण नै बोलीको गरिमा गिरेको र बोली अर्थहीन बन्न पुगेको हो। निर्बाध वाक् स्वतन्त्रताको माग गर्ने अधिकार सम्झनेले वाक् मर्यादाको पक्ष कहिल्यै बिर्सन नमिल्ने विषय हुन्।  अधिकारसँग कर्तव्य जस्तै वाक् स्वतन्त्रतासँग वाक् मर्यादा, वाक् सीमा र वाक् कर्तव्यका पक्ष अन्योन्याश्रित भएर रहेका हुन्छन्। एक सिक्काका दुई पाटा झैँ हो वाक् स्वतन्त्रता र वाक् मर्यादा? जसरी सिक्काको दुई पाटोबिना सिक्का खोटो हुन्छ, त्यसै गरी वाक् मर्यादा र वाक् स्वतन्त्रताबिना सभ्य र सुसंस्कृत बन्ने समाज खोटो हुन्छ। स्वतन्त्रतामा अनुशासन र नैतिकता अन्तर्निहित हुन्छ। 

वाक् स्वतन्त्रता अनुशासित र मर्यादित भए मात्र सभ्य समाज र संस्कृति निर्माण सहज हुन्छ। वाक् मर्यादाको सवाल वाक् स्वतन्त्रताको सङ्कुचन नभएर कर्तव्य र अधिकारलाई सँगसँगै बुझ्ने कडीको रूपमा लिनु पर्छ। वाक स्वतन्त्रता मर्यादित त्यस बेला पनि बढी हुन्छ जति बेला शासन र शासक मर्यादित र जिम्मेवार रहन्छन्। जिम्मेवार निकाय र सरकारलाई मात्र गैरजिम्मेवार स्वतन्त्रताको हनन गर्ने हक र नैतिक तागत रहन्छ। नियन्त्रित स्वतन्त्रताको विरोध र मर्यादित स्वतन्त्रताको पक्षमा आजको प्रेस र सामाजिक सञ्जाल रहनु जरुरी छ। वाक् स्वतन्त्रता विशिष्ट प्रयोग हो, अश्लील अभ्यास किमार्थ होइन। स्वतन्त्रता निरपेक्ष होइन सापेक्षित हुँदा यसको मर्यादा रहन्छ। अनियन्त्रित स्वतन्त्रता सामाजिक र नैतिक जोखिम हो। 

बहुदलीय व्यवस्थामा एक दलसँग अर्को दल असहमत हुन्छन् नै। एक नेतासँग अर्को नेताको विचार नमिल्न सक्छ। नेताकार्यकर्ता दलको विचार र नेताको नेतृत्व शैलीसँग सहमत भएर पार्टीहरूमा आबद्ध हुन्छन् त्यसैले कुनै पनि विचार नेता र शैलीसँग कोही पनि शतप्रतिशत सहमत बन्ने स्थिति हुँदैन । असहमत विचारको विपक्षमा खण्डन गर्ने आफ्नो तर्क दिने स्वतन्त्रता हुन्छ तर स्वतन्त्रताको उपभोग गर्ने कुनै पनि व्यक्ति र विचारको विरोध गर्ने प्रतिकार गर्ने विशेष अवस्था र प्रव्रिmया पद्धति, संस्कृति र अभ्यासहरू छन्। राजनीतिक मञ्चबाट गर्नुपर्ने विरोध धार्मिक मञ्चबाट गरेको सुहाउन्न। त्यस्तै विशुद्ध प्रतिस्पर्धात्मक खेलको मजा लिने ठाउँमा कसैप्रतिको जिन्दावाद मुर्दावाद अराजनीति हो। नेता÷मन्त्री र प्रधानमन्त्री, राष्ट्रपति उपस्तिथित गैरराजनीतिक क्षेत्रमा मुर्दावाद भन्नु अलोकतान्त्रिक घृणित अराजनीति हो। आफ्नो देशका खेलाडीको मनोबल वृद्धि गर्न दशरथ रङ्गशालाभित्र देशको प्रधानमन्त्री पुग्दा अमुक दलका कार्यकर्ताको राजनीतिक प्रेरित नाराबाजी आपत्तिजनक हो। खेलाडीको उत्साह बढाउन व्यक्ति केपी ओली होइन प्रधानमन्त्री संस्था, देशको कार्यकारी अथोरिटी गएको भन्ने बुझ्नु पर्छ। भोलि त्यो अथोरिटीमा आज नाराबाजी गर्नेहरूको नेता पनि जान सक्छ भन्ने नबुझ्नेले स्वतन्त्रताको कुरा किन गर्ने ? 

राजनीतिक नारा लाउन खण्डन गर्न, विरोध र प्रतिवाद गर्न थुप्रै ठाउँ छन्। राजनीति पनि निश्चित ठाउँमा अनुशासन पालन गरेर खेलिने खेल जस्तै सामाजिक र संवैधानिक प्रबन्ध हो।  भोलि बन्ने र आउने प्रधानमन्त्री पनि जुनसुकै पार्टी र जोसुकै व्यक्ति हुन सक्छन् र खेल हेर्न जान सक्छन् त्यस्तो बेला प्रधानमन्त्रीसँग असहमति राख्ने पार्टी र नेताकार्यकर्ताले विरोध गर्ने परिपाटी बस्यो भने को बच्ला कसका विरुद्ध नारा लाग्न छुट्ला? यस्ता प्रवृत्ति र पक्षले स्वतन्त्रताको रक्षा गर्न सक्दैन। आत्मघाती स्वतन्त्रता र अराजक स्वतन्त्रता आममान्छेको चाह र संस्कृति होइन। मूल्यसहितको स्वतन्त्रताको वकालत गरौँ। मूल्यहीन र स्तरहीन स्वतन्त्रता त्याज्य ठानौँ। सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने स्वतन्त्रताको विपक्षमा मत निर्माण गरौँ।