मणिलाल विश्वकर्मा

लहान, २३ असोज। ठेक्का सम्झौताअनुसार २०७४ सालमै निर्माण सम्पन्न भई सेवा सुचारु भइसक्नुपर्ने सिराहाको लहान नगरपालिका– ७ स्थित मालपोत कार्यालयको भवन निर्माण व्यवसायीको ढिलासुस्तीले नौ वर्ष बित्दा पनि अधुरो छ। ठेक्का सम्झौता भएको नौ वर्ष बित्दासम्म ठेकेदार कम्पनी मृत संजीवनीःगहिल सन्स कम्पनी प्रालि जेभीले कार्यालयको बाउन्ड्री, दुई तलाको ढलानसहित प्लास्टरर, भुइँतलाको झ्यालको फ्रेम र पहिलो तलाको झ्यालमा ग्रिल र दोस्रो तलामा सेटरिङ ठड्याएको छ।

सप्तरीको राजविराजस्थित सघन सहरी तथा भवन निर्माण आयोजनामार्फत ५ असार ०७२ मा मूल्य अभिवृद्धि करबाहेक दुई करोड ९१ लाख ८७ हजार दुई सय ३७ रुपैयाँ ३७ पैसामा ठेक्का लिएका निर्माण व्यवसायीले चौथोपटकको म्याद थपमा ०८१ पुस मसान्तभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने समयसीमा तोकिएको आयोजनाका साइट इन्जिनियर उदय चौधरीले जानकारी दिए।

उनका अनुसार असोज पहिलो हप्तासम्मको कामको प्रगति करिब ८० प्रतिशत छ। ‘निर्माण व्यवसायीले तदरुकता देखाएको खण्डमा तोकिएको समयसीमाभित्र निर्माण सम्पन्न हुन्छ,’ उनले भने, ‘तर, विभिन्न बहाना देखाउँदै आलटाल गर्दै आएका छन्, पछिल्लोपटक थपिएको म्यादभित्र पनि निर्माण सम्पन्न नगरे कम्पनीलाई कालोसूचीमा राखिनुका साथै आवश्यक कारबाहीको प्रक्रियामा जान्छौँ।’

सम्झौता भएको तीन वर्षसम्म मालपोत कार्यालयको भवनका लागि संघीय मन्त्रिपरिषद्को निर्णयपछि दिइएको जग्गा नक्साअनुसार मालपोत र सडक डिभिजनको स्वामित्व विवाद, नक्सा डिजाइन स्वीकृतिमा ढिलाइजस्ता कारणले निर्माण विलम्ब भएको उनले बताए। ‘निर्माण थालेलगत्तै कोरोना महामारीले काम ठप्प भयो,’ उनले भने, ‘निर्माण व्यवसायीले पेस गरेको कागजातको आधारमा त्यतिसम्म मान्यौँ पनि। तर, अब बहाना बाजी मान्दैनौँ।’ 

भाडाको घरबाट सेवा प्रवाह गर्न सकस
२०५४ सालमा सिराहा जिल्लाको तत्कालीन असनपुर गाविसदेखि पूर्वका लहानसहित उत्तर र दक्षिणतर्फका २३ गाविसका लागि स्थापित लहान मालपोत स्थापनाकालदेखि नै भाडाको घरमा सञ्चालन हुँदै आएको कार्यालय प्रमुख दीपेन्द्रनारायण चौधरीले बताए।

उनका अनुसार लहान मालपोतले स्थानीय तहको पुनर्संरचनापछि गोलबजार नगरपालिका १, २, ३, ४, ५ र ६ नं वडा, धनगढीमाई र लहान नगरपालिका, सुखीपुर ९, बरियारपट्टी १ र ५, नवराजपुर, भगवानपुर, सखुवानन्कारकट्टी, लक्ष्मीपुरपतारीसहित नौ स्थानीय तहका लागि सेवा प्रवाह गर्दै आएको छ। ‘भाडाको घरमा भएकाले कोठा साँघुरो हुँदा मोठ, तामेलीको व्यवस्थापन गर्न अप्ठ्यारो छ,’ उनले भने, ‘सेवाग्राहीलाई बस्ने ठाउँ र मोटरसाइकल पार्किङ गर्ने ठाउँसम्म नहुँदा सडकमै राख्न बाध्य छन्।’

लहान मालापोतबाट वार्षिक रूपमा जिल्लाका नौ स्थानीय तहका करिब १६ देखि १७ हजार लिखत पारित हुने उनले बताए। ‘त्यति ठुलो संख्यामा लिखत पारित भएपछि कागजात सुरक्षित राख्न पनि साह्रै गाह्रो छ,’ उनले भने, ‘आफ्नो भवन छिटो निर्माणका लागि पहल गरिदिन कयौँपल्ट भवन निर्माण आयोजना कार्यालय, जिल्ला प्रशासन गयौँ, तर नौ वर्षसम्म पनि निर्माण सम्पन्न भएको छैन।’ 

‘मालपोतसँगै उत्तरपट्टि तीन वर्षपछि ठेक्का लागेको साढे तीन तलाको नापी कार्यालय भवन निर्माण सम्पन्न भई गत साउनदेखि नै सेवा प्रवाह सुरु भएको छ,’ उनले भने, ‘निर्माण व्यवसायीको कारणले मालपोतले भने अप्ठ्यारो झेलिरहेको छ।’

गत आर्थिक वर्ष ०८०-८१ मा लहान मालपोतबाट जग्गा रजिस्ट्रेसन, लाभकर, अन्य प्रशासनिक सेवा शुल्क गरी २७ करोड रुपैयाँ बढी राजस्व संकलन भएको जानकारी दिँदै उनले भने, ‘त्यति धेरै राजस्व संकलन गर्ने कार्यालय भने भाडाको घरमा बस्न बाध्य छौँ।’ मालपोतको आफ्नो भवन नहुँदा मासिक रूपमा ६० हजार पाँच सय रुपैयाँ भाडा तिर्न बाध्य भएको उनको गुनासो छ।