सिरहा, ३० कार्तिक। पूर्वपश्चिम हुलाकी सडक अन्तर्गत सिरहा–धनुषा जोड्ने अधुरो कमला पुल निर्माणमा सरकाले चाँसो नदेखाएको आक्रोसमा स्थानीयले सिरहामा सरकारको ‘शव जुलुस’ निकालेको छ।  सिरहा विकास मञ्चको अगुवाईमा शिक्षक, विद्यार्थी, बुद्धिजीवि तथा जनप्रतिनिधीहरुले आज अपरान्ह सिरहा सदरमुकाममा सरकार विरुद्ध ‘शव जुलुस’ प्रदर्शन गरेको हो।

कमला र सहजा नदीको पुल नबन्दा स्थानीयले वर्षौंदेखि चरम सास्ती भोग्दै आएको भए पनि सरकारले चासो नदिएको आक्रोसमा सरकार मरेतुल्य भएको भन्दै ‘शव यात्रा’ गर्नु परेको मञ्चका संयोजक रामरिझन यादवले जनाए। उनले भने, ‘जनताको शास्ति देख्न छोडेकाले हामीलाई सरकार बाँचेकै छ जस्तो लाग्न छाड्यो, त्यसैले आज हामीले सरकारको शव यात्रा निकालेका हौं।’ 

महावीर चौकबाट निस्केको जुलुस जिल्ला प्रहरी कार्यालय नजीक आएपनि प्रहरीले हस्तक्षेप गरेका थिए। प्रहरीले प्रदर्शनकारीले बोकेको प्रतिकात्मक शव खोस्ने क्रममा प्रहरी र प्रदर्शनकारीबीच  नाता तान भएको थियो। यादवले आफूहरूको आवाजलाई सरकारले बेवास्ता गरिरहे थप संघर्षमा जान बाध्य हुने चेतावनी दिए।