सप्तरी २९, कार्तिक। सप्तरीको विष्णुपुर गाउँपालिका १ स्थित जनता माध्यमिक विद्यालय, (प्राविधिक) खुरहुरियाका निमित्त प्रधानाध्यापक अशोककुमार यादव लामो समयदेखि अनुपस्थित भएपछि विद्यालयको पठनपाठन तथा प्रशासनिक काम प्रभावित भएको छ।
उनी चार महिनादेखि विद्यालयमा अनुपस्थित भएपछि विद्यालयको पठनपाठनदेखि अन्य दैनिक कामकाज र व्यवस्थापनमा समेत असर परेको हो।
विद्यालयको शिक्षक तथा लेखा अनुगमन समितिले विद्यालयमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रधानाध्यापक यादवले विभिन्न शीर्षकको बजेट अनियमित तरिकाबाट खर्च गरेको पाइएको आरोप लगाएको छ। खर्चको बिल भरपाई माँग गरेपछि उनी असार २० देखि नै विद्यालयमा उपस्थित नभएको लेखा अनुगमन समितिका सदस्य कैलाश यादवले जानकारी दिए।
सामाजिक लेखा परीक्षणका लागि वडा नम्बर १ का अध्यक्ष बलराम यादवको संयोजकत्वमा गठित लेखा अनुगमन समितिले अनुगमन गर्दा आर्थिक वर्ष २०७९÷८० मा तीन लाख ७९ हजार ८९० तथा आव २०८१÷८२ मा पाँच लाख १३ हजार र अन्य रितनपुर्याई खर्च गरी कुल १९ लाख २९ हजार ९३८ रुपियाँ अनियमित ढङ्गले खर्च गरेको पाइएको सदस्य यादवको भनाइ छ।
लेखा अनुगमन समितिले कारबाही प्रव्रिmया अगाडि बढाएपछि नै निमित्त प्रधानाध्यापक अशोककुमार यादव विद्यालयमा अनुपस्थित रहनुभएको सहायक प्रधानाध्यापक महेशकुमार यादवले जानकारी दिए।
विद्यालयमा महिनौँसम्म प्रधानाध्यापक यादव हाजिर नभएको तथा त्यसको असर पठनपाठन तथा विद्यालय प्रशासनलाई पर्न गएकोबारे माथिल्लो निकायमा जानकारी गराउँदासमेत कुनै चासो नदेखाइएको विद्यालयका अधिकांश शिक्षक र अभिभावकले पत्रकार सम्मेलनमा गुनासो गरे। जिल्ला प्रशासन कार्यालय सप्तरीले २०८२ असोज २४ गते विष्णुपुर गाउँपालिकालाई पत्राचार गरी प्रधानाध्यापक व्यवस्थापन गर्न भने पनि हालसम्म गाउँपालिकाले कुनै जानकारी नगराएको पत्रकार सम्मेलनमा शिक्षकहरूले बताए।
विद्यालयको शैक्षिक अवस्था सुधारसहित विभिन्न माँग राखेर गठित विद्यालय सङ्घर्ष समितिका संयोजक प्रेमनारायण यादवले गाउँपालिका र वडा कार्यालयको गैरजिम्मेवारीपनले विद्यलयमा समस्या आएको बताए।
गाउँपालिका अध्यक्ष उपेशप्रसाद यादवले आरोपको खण्डन गर्दै केही शिक्षक र अभिभावककै कारण यस्तो अवस्था आएको बताए। उनले काम गर्ने वातावरण नभएकै कारण निमित्त प्रअलाई गाउँपालिकामा काजमा खटाइएको जानकारी दिए। विद्यालयमा देखिएको विवाद समाधान गर्न आफूहरू गम्भीर भएको भन्दै त्यसका लागि आवश्यक पहल थालिएको उनले बताए।
शिक्षा संयोजक रामेन्द्र यादवले निमित्त प्रअलाई त्यहाँका स्थानीय गुटबाजीले धाकधम्की दिँदै आएका कारण काम गर्न असहज भएपछि उनी गाउँपालिकमा हाजिर भईरहेको बताए। विद्यालयको समस्या समाधानका लागि पहल गरिरहेको उनको भनाइ छ ।
विद्यालयका निमित्त प्रधानाध्यापक यादवले भने आफू सम्पर्कविहीन नभएको बताए छ। उनले विद्यालय जाँदा दिनहुँ धाकधम्की आएपछि हाजिर हुने अवस्था नरहेकाले हाल गाउँपालिकामा आएर हाजिर भएको बताए।
(गोरखापत्रबाट)






















