सिरहा, १ ११ असोज। ‘चुरेको संरक्षण गर्ने कि विनाश’ यसको मुख्य जिम्मेबारी स्थानीय बासिन्दा रहेको मधेश प्रदेश सभा प्राकृतिक स्रोत तथा वातावरण समितिले बताएको छ। समितिले सिरहाको गोलबजार नगरपालिका १० घुर्मीघाटस्थित चुरेको फेदीमा आयोजना गरेको ‘प्राकृतिक स्रोत तथा वातावरण समितिका प्रदेश सभा सदस्यहरुले नागरिक तथा सरोकारवालाबीच अन्तरक्रिया’ मा चुरे संरक्षणमा सहयोग गर्न स्थानीय बासीसँग आग्रह गरेका हुन्।
चुरेको विनाशले पूरै तराई मधेश मरुभूमि बन्ने जोखिम बढिरहेको भन्दै यसको संरक्षणमा सबैको सहकार्य आवश्यक रहेको समितिका सदस्य तथा कार्यक्रममा प्रमुख अतिथि समेत रहेका प्रदेश सभा सदस्य मनोज कुमार सिंहले बताए। उनले चुरेबाट भईरहेको दोहन रोक्न स्थानीय समुदाय अग्रसर हुनुपर्ने बताउँदै प्राकृतिक प्रकोपबाट हुने क्षति रोकथामको लागि आफ्नो तर्फबाट सरकारलाई आग्रह गर्ने प्रतिबद्धता जनाए।
यो क्षेत्रका सांसद समेत रहेका सिंहले ‘पानी रिचार्ज’ का लागि चुरे भेगमा ठूला ताल तलैया निर्माण गरी संरक्षण गर्नुपर्नेमा जोड दिए। उनले यो क्षेत्रमा विद्यमान पानी, सिंचाई, वन विनाश, नदी कटान जस्ता समस्या, वातावरणीय स्थिति र चुरेको अवस्थाको बारेमा जस्ताको त्यस्तै प्रतिवेदनमा उल्लेख गरी प्रदेश सभा सचिवालय र सरकारलाई बुझाइने उल्लेख गरे। ‘गोलबजार र मिर्चैया जोड्ने सडक बाटो र घुर्मी खोलामा पुल निर्माण गर्न स्थानीयको माग अनुसार पहल गर्नेछु’ उनले भने।
संसद सहयोग परियोजना अन्तर्गत युएनडिपी– संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको सहयोगमा मधेश प्रदेश सभा सचिवालयको आयोजना तथा नेपाल मधेश फाउण्डेशनको आयोजनामा भएको अन्तरक्रियामा समितिकी सभापति शारदा पहाडीले चुरेको विनाश र अवैध नदी दोहनले पर्यावरणीय सम्बन्ध खलबलिन सक्ने भन्दै यसको संरक्षणमा स्थानीय समुदायको भूमिका महत्वपूर्ण हुने बताइन्। ‘मधेश प्रदेशको अधिकांश स्थानमा चुरे क्षेत्र अतिक्रमण भएका छन्, यसको अवैध दोहन र वन विनाशले पर्यावरणीय सम्बन्ध खल्बलिंदै गएको छ’ उनले भनिन् ‘चुरेको संरक्षण गर्नु राज्यको दायित्व भएतापनि स्थानीय समुदायको भूमिका महत्वपूर्ण हुन्छ।’ एउटा व्यक्तिलाई मात्र नभएर चुरेको आवश्यकता समग्र देशलाई भएकाले यसको संरक्षणमा पनि सबैको उत्तिकै दायित्व हुनु पर्नेमा उनको जोड थियो।
अनियन्त्रित मानव बस्तीको बिस्तार, विश्व जलवायु परिवर्तनको असर र अन्धाधुन्द ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् एवम् वन विनाशको कारण चुरे क्षेत्र विनासको चपेटामा पर्दै गएकोप्रति सजग हुन आग्रह गर्दै उनले तराई क्षेत्रमा त्यसको असर देखिन थालेकाले वनजंगलको संरक्षण गर्नुपर्ने उल्लेख गरिन्। ‘तराई मधेस र चुरे क्षेत्रको अन्तरसम्बन्ध यस्तो छ कि चुरे जोगाए सबैको कल्याण हुन्छ’ उनले भनिन्। अन्तरक्रिया कार्यक्रममा स्थानीयले उठाएका मागहरु समितिले प्रतिवेदनमा हुबहु उतारेर प्रदेश सरकारलाई बुझाउने प्रतिबद्धता जनाउँदै उनले चुरे संरक्षण सम्बन्धी योजना बनाउन सरकारलाई दवाव दिइने बताइन्।
समितिकी अर्का सदस्य ममतादेवी मण्डलले चुरे क्षेत्रको समस्या समाधानको लागि सबै एकजुट हुनुपर्नेमा जोड दिइन्। कार्यक्रममा स्थानीयले आफूहरुले भोग्दै आएका समस्याहरु सांसद समक्ष व्यक्त गरेका थिए। अन्तरक्रियामा प्राकृतिक स्रोत तथा वातावरण समितिका सभापति पहाडीसहित सदस्यहरु सिंह, मण्डल, नुरुल नेशा तथा सांसद साहिदा खातुन लगायतको सहभागिता थियो।
स्थानीय नागरिकले भोग्नु परेका समस्या प्रदेश सभा सदस्यमार्फत् नै संसदसम्म पु¥याउन उद्देश्यसहित आफूहरुले सहकार्य गर्दै आएको संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका प्रतिनिधि डा. बिटुबाबु श्रीवास्तवले जानकारी दिए।