कुरा सन् १९७० को दशकको हो । तीनताक भारतका कतिपय जिल्लाका चियाबगानले किशोरावस्थाका स्कुले विद्यार्थीलाई गर्मीयामको बिदामा ‘छोकडा’ पद सृजना गरेर एकमहिने अस्थायी काम दिन्थ्यो । चियाबगाननजिकै घर हुने हामी केही विद्यार्थी कहिले बिदा होला र काम गरौंला भनेर व्यग्र हुने गर्थ्यौं ।

दैनिक ५ रुपैयाँका दरले १५ दिन काम गरेपछि ज्याला ७५ रुपैयाँ पाइन्थ्यो । त्यो ज्यालाकै लोभले हुनुपर्छ, हामीलाई त्यो छोकडा पदले आकर्षित गरेको । ठूलाहरूजस्तै हामी पनि बिहान सातै बजे दिउँसोको खाजा बोकेर बगानतिर जाने गर्थ्यौं । हाम्रो काम थियो— चियाका बोट गोडमेल गर्नु र बोटमाथिको हरियो चाउचाउजस्ता झार बटुलेर फ्याँक्नु । यसरी सात–आठ कक्षा पढ्दाताका गर्मीयाममा एक महिना काम गरेर कमाएको १ सय ५० रुपैयाँ आमालाई दिएको क्षण मानसपटलमा अझै ताजै छ ।

सात कक्षा पुगेपछि हामी विद्यार्थीलाई साताका दुई दिन शिक्षकले व्यावसायिक कक्षामा खाम, चक, मैनबत्ती र कागजको थुँगा बनाउन सिकाउनुहुन्थ्यो । मैनबत्ती र चकका लागि फर्मा चाहिन्थ्यो भने खाम र थुँगाका लागि चाहिने पुराना कापी–किताब र सादा कापीजस्ता कच्चा पदार्थ घरमा सहजै उपलब्ध हुन्थे । हामी केहीे विद्यार्थीहरू शनिबारको आधा बेला र आइतबारे बिदामा खाम र थुँगा बनाएर किरानापसलमा बेच्थ्यौं । किरानापसल हुने साथीका अभिभावकले हामी विद्यार्थीहरूलाई प्रोत्साहन गर्न पनि ती सामग्रीहरू सहजै किनिदिने गर्थे ।

यसरी स्कुले जीवनमा सीप सिक्दै श्रमको महत्त्व बुझाउने भारतीय शिक्षाको त्यो शिक्षण पद्धतिलाई अझै पनि कतिपय राज्य तथा जिल्लाले निरन्तरता दिइरहेका छन् । केही समयअघि दिल्ली सरकारले सामुदायिक शिक्षा सुधार्ने रणनीतिक योजना अन्तर्गत निम्नमाध्यमिक तहदेखि विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ समूहगत रूपमा बीउपुँजी दिई विद्यार्थीलाई स्वरोजगार बन्न प्रोत्साहन गर्दै आएको छ ।

यसबारे श्रव्यदृश्य सामग्रीहरू सामाजिक सञ्जालमा प्रशस्तै भेटिन्छन् ।

मैले स्कुले जीवनमा बिदाको सदुपयोग गर्न तथा श्रमको महत्त्व बुझ्ने अवसर पाएँ । पछि आफ्ना छोराछोरी स्कुल पढ्दाताका जहिले पनि स्कुलको लामाछोटा बिदालाई कसरी सदुपयोग गर्ने भन्नेबारे सोचिरहन्थें । प्रायः उनीहरूको बिदासँगै मैले आफ्नो बिदा मिलाउँथें । उनीहरू साना छँदा धेरैजसो आफन्त भेटघाटका लागि हामी निस्कने गर्थ्यौं । किशोरावस्थाका भएपछि उनीहरूलाई आफ्ना रुचि अनुसारको सीप सिकाउन आफैं अग्रसर हुन्थें । छोरी चार कक्षा र छोरा दुई कक्षामा पढ्दाताका सुम्निमा बाल समूह गठन गरिदिएँ, जसमा साप्ताहिक बिदामा हामी बाल कार्यक्रम आयोजना गर्थ्यौं । एक पटक मैले दसैं–तिहारको लामो बिदामा समूहका बालबालिकालाई फर्मा नभए पनि माटाका दियोमा मैन पगालेर मैनबत्ती बनाउन सिकाएँ । छोरी र म भएर घरदैलो गरी ती मैनबत्ती बिक्री गर्थ्यौं ।

एक पटक लामो बिदामा मैले बाल समूहमार्फत स्थानीय संस्थासँग मिलेर पाँचदिने बाल भित्ते पत्रिकाको तालिम आयोजना गरें । तालिमपछि छोरीले साथीहरूसँग मिलेर एक वर्ष ‘बाल कोसेली’ भन्ने हस्तलिखित भित्ते पत्रिका निकालिन् । बिदामा सिकेको भित्ते पत्रिका लेखनको सीपले एसएलसीपछि छोरीलाई सञ्चार संकाय रोज्न सहज बनायो ।

नेपाली शिक्षाको विगत र वर्तमान सरसर्ती नियाल्ने हो भने बहुसंख्यक विद्यालयको शिक्षण सिकाइ पढाइलेखाइमै सीमित देखिन्छ । अझ कतिपय निजी विद्यालयहरूले त लामाछोटा बिदामा टन्न गृहकार्य दिने गर्छन् । बिदा भनेपछि विद्यार्थीहरू केही दिन निस्फिक्री भएर घुम्न र खेल्न मन पराउँछन् । विशेष गरी दसैं–तिहार र शैक्षिक सत्रको अन्तमा दिइने बिदालाई कसरी सदुपयोग गर्ने भन्नेबारे विद्यालय तथा अभिभावकहरू स्वयं ‘कुहिरोको काग’ जस्तै छन् । हुनेखाने अभिभावकहरूले केही दिन छोराछोरीलाई घुमाउन लगे पनि हुँदा खाने अभिभावकहरूले बिदालाई कसरी सदुपयोग गर्ने भन्नेबारे सोच्न पनि सक्दैनन् । यसो हुँदा पनि विद्यालयहरूले दिने गरेका बिदा विद्यार्थीका लागि उपलब्धिमूलक बन्न सकेका छैनन् ।

अहिले स्कुले विद्यार्थीहरूले वार्षिक परीक्षापछि पाएको बिदा आआफ्नै तरिकाले मनाउँदै छन् भने एसईई परीक्षा दिएर बसेका अधिकांश हुनेखाने घरका विद्यार्थीहरू कुन विषय लिएर कहाँ पढ्ने भन्नेबारे सोधखोज गर्दै छन् । काठमाडौंसहित ठूलासाना सहरका हुनेखाने विद्यार्थीहरू प्रवेश परीक्षाको तयारीमा जुटेका छन् भने हुँदा खाने घरका विद्यार्थीहरू ‘जे होला, परिणाम आएपछि हेरौंला’ भनेर बिदाको अधिकांश समय घुमफिरमै बिताइरहेका छन् । पछिल्लो समय एसईई दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गरेर कतिपय शैक्षिक संस्थाले ब्रिजकोर्स सञ्चालन गरेका छन् । एसईईपछि संकाय रोज्न यस्ता ब्रिजकोर्सले धेरथोर मद्दत गरे पनि बहुसंख्यक विद्यार्थीको पहुँच र सामर्थ्य हुँदैन । विशेष गरी सामुदायिक विद्यालयका अधिकांश विद्यार्थी एसईई दिएपछि कुन संकाय रोज्ने र कहाँ पढ्ने भन्नेमा बढी अलमलिने गरेका छन् ।

विकसित मुलुकहरूले सैद्धान्तिक शिक्षासँगै व्यावहारिक शिक्षालाई महत्त्व दिने गरेकाले स्कुले शिक्षापछि विद्यार्थीले भविष्यमा के गर्ने, कुन संकाय लिएर पढ्ने भन्ने विषयमा समय खर्चनुपर्दैन । छिमेकी मुलुक भारतकै कतिपय राज्य तथा जिल्लामा स्कुले शिक्षालाई उपलब्धिमूलक तथा जीवनोपयोगी बनाउन विद्यालयहरू लागिपरेका छन् । चीनमा बिहान सातदेखि बेलुकी सात बजेसम्म विद्यालय समय तोकिएको हुन्छ । उनीहरूको शिक्षण सिकाइ पढाइलेखाइभन्दा पनि सीप सिकाइमा केन्द्रित हुने गरेको अध्ययनले देखाएको छ । यसो हुँदा पनि स्कुले शिक्षाले उनीहरूलाई रुचि अनुसारको काम गर्न प्रोत्साहित गर्दै आएको देखिन्छ भने हामीकहाँ स्कुले शिक्षाको परम्परागत तथा निष्क्रिय शिक्षण सिकाइले विद्यार्थीहरूलाई झनै अलमलमा पारेको छ । यस अर्थमा हामीकहाँ स्कुले शिक्षाले विद्यार्थीलाई भविष्यमा कुन संकाय लिएर उच्च शिक्षा हासिल गर्ने भन्नेबारे मार्गनिर्देशन गर्न सकेको छैन ।

बाल्यावस्थादेखि किशोरावस्थासम्म स्कुले शिक्षा हासिल गर्दै आएका विद्यार्थीको रुचि थाहा पाई सोही अनुसारको व्यावहारिक शिक्षा दिन वर्तमान शिक्षा चुकेको छ । स्कुले जीवनमा लेख्न–पढ्न मात्र सिकाउने निष्क्रिय शिक्षण सिकाइको दुष्परिणाम आज विद्यार्थीले मात्र हैन, देशले नै भोगिरहेको छ । के निजी, के सामुदायिक, बहुसंख्यक विद्यालय तथा शिक्षक स्वयंले अझै पनि स्कुले शिक्षाको महत्त्व बुझेको देखिँदैन । स्कुले शिक्षालाई उपलब्धिमूलक बनाउन सर्वप्रथम विद्यालय र शिक्षक नै सजग र संवेदनशील हुन जरुरी छ । किनभने उमेर अनुसारको सीप सिकाउने पहिलो कर्तव्य विद्यालय र शिक्षकको हो । विडम्बना, अझै पनि स्थापित र महँगा भनिने अधिकांश निजी विद्यालयको ध्याउन्न चिकित्सक र इन्जिनियर उत्पादन गर्नु रहेको छ न कि समाजलाई विभिन्न क्षेत्रमा चाहिने जनशक्ति उत्पादन गर्नु ।

स्कुले शिक्षाको मुख्य उद्देश्य विद्यार्थीलाई भविष्यमा के पढ्ने र कसरी जीविकोपार्जन गर्ने भन्नेबारे मार्गनिर्देशन गर्नु हो । स्कुले शिक्षा हासिल गर्दै आएका किशोरावस्थाका विद्यार्थीहरूलाई उनीहरूको रुचि थाहा पाई सीप सिकाउन विद्यालय र शिक्षकले अतिरिक्त समय र ऊर्जा खर्चनुपर्ने हुन्छ । विद्यालयले दिने गरेका लामाछोटा बिदालाई कसरी सदुपयोग गर्ने भन्नेबारे विद्यार्थी र अभिभावकहरूलाई अभिमुखीकरण गर्नु जरुरी छ । यसका लागि किशोरावस्थाका विद्यार्थीलाई उनीहरूको रुचि अनुसार सीप सिकाउनुपर्छ । किशोरावस्थाका विद्यार्थी भनेका समाजलाई चाहिने साना जनशक्ति हुन् भनेर उनीहरूलाई सोही अनुरूपको सीप सिकाउन विद्यालय तथा शिक्षकले हरसम्भव प्रयास गर्नुपर्छ ।

कान्तिपुरबाट।