सिरहा, २६ माघ। पूर्वपश्चिम हुलाकी राजमार्गअन्तर्गत औरही गाउँपालिका ५ मा रहेको सहजा खोलामा एक दुर्घटना भएको छ। सहजामा खोलामा गएराति मध्यरातमा कार खसेर दुर्घटना भएको हो।

पूर्वबाट जनकपुरतर्फ जाँदै गरेको बीएबी ७८२१ नम्बरको कार दुर्घटना हुँदा कारमा सवार चालकसहित तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका १४ मुजेलियाका चालक २२ वर्षीय अभिषेक कुमार राय, पछाडि सवार ३९ वर्षीया दिपिकाकुमारी उपाध्याय र २० वर्षीया प्रिति पट्टेल घाइते रहेको प्रहरीका सूचना अधिकारी तथा डीएसपी रमेशबहादुर पालले जानकारी दिए।
घाईतेहरुको प्रादेशिक अस्पताल सिरहामा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि उनीहरूलाई जनकपुर लगिएको छ। क्षतिग्रस्त बनेको कार भने दुर्घटनास्थलमै छ।
सहजा खोलामा १० वर्षदेखि पुल निर्माण हुँदै आए पनि ठेकेदार र सम्बन्धित निकायको लापरबाहीले अहिलेसम्म काम सम्पन्न हुन सकेको छैन। जसका कारण यहाँ लगातार दुर्घटना हुँदै आएको छ।
आक्रोशित स्थानीयले नेता र प्रहरी प्रशासन विरुद्ध चको नारा लगाउँदै हुलाकी राजमार्ग अवरुद्ध पार्दै प्रदर्शन गरिरहेका छन्। ठेकेदार र सम्बन्धित निकायलाई कारबाही हुनुपर्ने, यथाशीघ्र पुल निर्माणको सुनिश्चित हुनुपर्ने र दुर्घटना रोक्न तत्काल कुनै उपाय निकाल्नुपर्ने माग आफूहरूको रहेको स्थानीय सामाजिक अगुवा सन्तोष यादवले बताए।






















