काठमाडौं, २९ माघ। स्वास्थ्य बीमा बोर्डले बीमितले पाउँदै आएको एक लाख रुपैयाँको उपचार सेवा सुविधा नघटाइएको स्पष्ट पारेको छ। बीमा गरेबापतको एक लाख रुपैयाँ बराबर उपचार शुल्क यथावत् राखिएको बोर्डका सूचना अधिकारी विकेश मल्लले जानकारी दिएको हो।
उनले बीमा कार्यक्रमअन्तर्गत तीन हजार पाँच सय रुपैयाँ बराबरको योगदान बराबर पाँच जना परिवारले पाउने वार्षिक कूल एक लाख रुपैयाँ बराबरको उपचार सेवाको सीमा यथावत् राखिएको बताए।
बोर्डले २५ हजार रुपैयाँको ओपीडी सेवा र ७५ हजार रुपैयाँको अस्पतालमा भर्ना तथा आकस्मिक सेवाका लागि प्रयोग गर्न सकिने गरी छुट्याइएको सूचना अधिकारी मल्लले बताए। स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत ६ जना परिवारसम्मका लागि तीन हजार पाच् सय रुपैयाँ बराबरको योगदानका आधारमा एक लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा सुविधा उपलब्ध गराइन्छ।
यस्तै, थप प्रतिसदस्य सात सय रुपैयाँका दरले योगदान रकम थपिँदै जाने र प्रतिसदस्य २० हजार रुपैयाँ बराबरको सेवासुविधा थपिने प्रावधान रहेको छ। बोर्डले अनावश्यक रूपमा हुने ओपीडी सेवाको प्रयोग र दोहोरोपन रोक्न तथा गम्भीर, जटिल र ज्यान जोखिममा पर्ने रोगको उपचारका लागि स्रोत सुनिश्चित गर्नका लागि सेवाको रकम छुट्याएकाले त्यही अनुसार प्रयोग गर्न पनि बोर्डले आग्रह गरेको छ।
स्वास्थ्य बीमाको बजेटको ७० प्रतिशतभन्दा ठूलो हिस्सा सामान्य बिरामीको ओपीडी सेवामा नै खर्च भइरहेको छ। बोर्डका सूचना अधिकारी मल्लले वास्तविक बिरामीको उपचारमा बीमाको रकम खर्च गर्ने उद्देश्यका साथ ओपीडी, अस्पताल भर्ना र शल्यक्रिया जस्ता अलग–अलग शीर्षकमा खर्च तोकिएकाले त्यसको पालना गर्न आग्रह गरे।





















