- जीबछ यादव ‘उदासी’
अगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि मनोयन दर्ता गराई चुनाव चिन्ह प्राप्त गरेर विभिन्न दलका उम्मेदवारहरु चुनाव प्रचार प्रसारमा पनि लागि सकेका छन् । विभिन्न समाजिक सञ्जालदेखि लिएर मतदातासँग भेटघाट, विभिन्न विचार गोष्ठी, सभा सम्मेलनमार्फत चुनाव प्रचार प्रसार तीब्रता लिएको छ । अहिले शहर वजारभन्दा गाउँघरलाई यो चुनावले छोपि सकेको छ ।
चुनाव भनेको प्रतिस्पर्धात्मक खेल जस्तै हो । खेलमा जस्तै चुनावमा पनि कोही हार्छन् भने कोही जित्छन्। खेलमा जस्तै यसमा पनि जित्नका लागि सबै दाउ प्रयोग गरेका हुन्छन्। प्रतिस्पर्धीले जित्नकै लागि साम, दाम, दण्ड, भेद सबै प्रयोग गरेका हुन्छन्। खासगरि मधेशमा चुनाव जित्नकै लागि सबै फर्मुला प्रयोग गरेका हुन्छन्।
समग्र देशको राजनीति र मधेश प्रदेशको राजनीति बिल्कुलै फरक छ । माओवादीको जनयुद्ध र मधेश आन्दोलनपछि मधेशको राजनीतिमा आएको उलटफेरले फरक परिस्थिति सृजना गरि दिएको छ । खोलामा बाढी आएको समयमा खोला तर्न भय त्रास हुन्छ तर सुकेको बेलामा त्यही खोलामा मज्जाले तर्न सकिन्छ । अहिले मधेशको राजनीतिमा बाढीको अवस्था होइन, सुख्खाको अवस्था छ । खोला तर्न कुनै भय त्रास छैन । मधेशका वामपन्थी समर्थक तथा सचेत मतदाताहरु लोकतान्त्रिक वामगठबन्धनलाई रोज्ने कि जसपा–एमाले बेनामी गठबन्धनतिर जाने दोधारमा छन् । यस दोधारबाट किनारा लाग्न मंसिर ४ लाई कुर्नै पर्छ तर त्यसअघि मधेशको चुनावी तस्विर प्रष्ट हुने देखिन्छ।
राजनीतिमा इमान्दारिता निष्ठा र सिद्धान्तको स्खलन दिन प्रतिदिन भइरहेको छ । त्यसले गर्दा सचेत मतदाताहरु निराश छन् । काँग्रेस, माओवादी केन्द्रसहितको सत्ता गठबन्धन छ भने अर्कोतिर जसपा–एमाले गठन छ । ती दुवै गठबन्धमा मधेशवादी दलको संलग्नता छ । सत्ता गठबन्धनमा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल रहेको छ भने एमालेसँग उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी रहेको छ।
मधेशवादी दलहरुमा आएको यस विभाजनले मधेशका मतदाता जो मधेशवादी दललाई रुचाउँछन् उनीहरु अन्योलमा देखिएका छन् । यता, वामपन्थी दलहरु पनि दुवैतर्फ विभक्त छन् । त्यसले गर्दा वामपन्थी समर्थक मतदाताहरु पनि अन्यौलमा परेको अवस्था छ । दलहरुको बीचमा चुनावी परिणाम ल्याउन अङक गणितको आधार मानेर गठबन्धन गरेपनि समर्थक मतदाता आम जनताले यस गठबन्धनलाई सहयोग र साथ नदिइने आवाजहरु पनि सबैतिर सुनिन थालेका छन्।
अहिले सुनिएको आवाजहरु मतमा बदलिए र मतपेटिकामा खसे भने निर्वाचन परिणमपछि मधेशवादीहरु पनि एक ठाउँ र वामपन्थीहरु वाम एकता गर्न बाध्य नहोला भनि भन्न सकिदैन । जसपा–एमाले गठबन्धनले एमालेलाई फाइदा कि घाटा यो महत्पूर्ण प्रश्न अहिले रहेको छ । स्थानीय तहमा जसपा र एमालेका मतहरु जसरी खसेका थिए । त्यहि अनुपातमा मत खसला र एमाले जसपा गठबन्धनले बाजी मार्ला भनि सोच जसपाका अध्यक्ष उपेन्द्र यादव र एमालेका अध्यक्ष केपी शर्मा ओलीको रहेको छ।
त्यही सोचेर एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवले मधेशका जनतालाई बाँडफाँट गर्ने गरी मधेश प्रदेशका आठवटै जिल्लामा हुलाकी राजमार्ग छेउछाउ जसपालाई दिएको छ भने महेन्द्र राजमार्ग एमालेले आफै राखेका छन् । हतारमा गरेको निर्णय कहिलेकाहीं राम्रो भएपनि प्रायः त्यसले नोक्सान नै गरेको हुन्छन् । त्यस कुरालाई एमालेर बुझ्न सकेको छैन । जसपा नेपालका नेताहरु आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्नका लागि एमालेमा प्रवेशमा प्रवेश गर्नुभयो भने उता उपेन्द्र यादवले आफ्नो पार्टी बचाउनका लागि रातारात एमालेसँग गठबन्धन गर्नुभयो । यो गठबन्धन गरेर एमालेलाई भन्दा जसपालाई बढी फाइदा हुने देखिन्छ ।
त्यही थाह पाएर जसपाका अध्यक्ष उपेन्द्र यादवले एमालेसँग गठबन्धन गर्नुभयो। यदि केही दिन मात्र गठबन्धन नगरेको भए जसपाका अरु नेताहरु पनि एमालेमा प्रवेश गर्नुहुन्थ्यो । त्यो कुराको संकेत अध्यक्ष उपेन्द्र यादवले पनि पाइसक्नु भएको थियो । त्यसलाई जोगाउनका लागि भएपनि एमालेसँग चुनावी तालमेल गर्न बाध्य हुनुभयो।
सिरहाका जसपा नेता सत्रुधनसिंह कोइरी एमाले प्रवेश गर्न बालकोट जान तयारी अवस्थामा हुनुहुन्थ्यो । सत्रुधनलाई बालकोट जानबाट रोक्न सफल हुनुभयो । सत्रुधन सिंहले राजिनामा दिइसक्नु भएको थियो।
केही दिनमै एमालेमा प्रवेश गर्ने तयारीमा लाग्नु भएको थियो। त्यसका सूचना उपेन्द्र यादव कहाँ पुग्यो। उपेन्द्र यादवले एमालेसँग गठबन्धन नै गरेपछि सत्रुधन सिंह कोइरी आफ्नो राजिनामा फिर्ता लिनुभयो। राजिनामा फिर्ता लिएपनि उहाँले जसपाबाट प्रतिनिधिसभा सदस्यका लागि टिकट पाउनु भएन। सत्रुधनसिंहको ठाउँमा राजकिशोर यादवलाई प्रतिनिधिसभाको उम्मेदवार बनाउनुभयो।
सत्रुधनसिंहले टिकट नपाउने भएपछि उहाँ पुनः एमालेमा गएर सिरहा २ (क) का लागि प्रदेशसभा सदस्यको उम्मेदवार बन्नुभयो। टिकटकै लागि जसपा छाडेर एमालेका प्रवेश गरेका कतिपय नेताहरु अहिले न घरका भएका छन् न घाटका। जसपा–एमालबीच चुनावी गठबन्धन भएपनि न जसपाका मतदाताहरु एमालेको उम्मेदवारलाई मन पराइ रहेका छन्, न एमालेका मतदाताहरु जसपाका उम्मेदवारलाई मन पराइ रहेका छन् । एक हाते सदस्यता र अर्को हात टिकट पाएका नव आगन्तुक उम्मेदवारहरुलाई पनि जनताले मन पराई रहेका छैनन।
केही दिन अगाडिसम्म नागरिकता विधेयक प्रमाणिकरण नगरेको भन्दै राष्ट्रपति विद्या देवी भण्डारी र एमालेका अध्यक्ष केपी ओलीको पुतला जलाएको जसपा अहिले त्यही केपी शर्मा ओलीसँग घाँटीमा घाँटी जोडेको छ । स्थानीय तहको चुनावमा जसपा र एमालेका नेता तथा कार्यकर्ता एक अर्कासँग आँखा समेत जुधाउन सकिरहेको थिएन तर यसपटको चुनावमा उनीहरु एकअर्का झण्डा बोक्न बाँध्य हुनुभएको छ ।
एक अर्कालाई देखि नसक्ने मतदाताहरुको मन सुलेसनले टालेर नटालिने अवस्था देखिएको छ । यसले दुवै दललाई सोचे जस्तो फाइदा होला जस्तो लाग्दैन । मधेश प्रदेशमा जसपा नेतृत्वको सरकारले मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत व्यापक भ्रष्टाचार भएको कुरा एमालेका प्रदेशसभाका सदस्यहरुको जसपाको विरोधमा दर्जनौ सभाहरुमा मनतव्य दिनु भएको थियो । तसर्थ, नेताले चाहदैमा जनताले अप्राकृतिक गठबन्धनलाई साथ दिइहाल्ने अवस्था देखिँदैन । मधेश प्रदेशका मुख्यमन्त्रीदेखि लिएर मन्त्रीहरुको अवस्था पनि नाजुक छ ।
एमालेलाई सप्तरीको मलेठ घट्नापछि मधेशमा सभा गर्न र अन्य कार्यक्रम गर्न पनि समस्या थियो । त्यति मात्र होइन, २०७४ को चुनावमा सिरहा–३ र धनुषा–४ बाट क्रमशः लिलानाथ श्रेष्ठ र रघुवीर महासेठ मात्रै चुनाव जित्नु भएको थियो । नेकपा विभाजन हुँदा मधेशमा प्रभु साहहरु केपी ओलीलाई साथमा लिएर मधेश प्रवेश गराउनुभयो ।
तर त्यही केपी शर्मा अोलीले प्रभु साहलाई मात्रै टिकट दिनु भयो उहाँका साथमा आएका र उहाँले पार्टीमा ल्याएका नेताहरुले टिकट नपाउने अवस्था सृजना भयो । त्यसपछि प्रभु साहले स्वतन्त्र उम्मेदवार भएर एमालेमा विद्रोह गर्नुभयो । यसले पनि एमाले–जसपा गठबन्धनलाई ठूलै नोक्सानी पुरयाउने देखिन्छ । नेकपा एमाले मधेश प्रदेशका इन्चार्ज समेत रहनु भएको रघुवीर महासेठ, सह इन्चार्ज लिलानाथ श्रेष्ठ र प्रदेश अध्यक्ष राम औतार यादवले पुरानो नेता कार्यकर्ताहरुलाई पाखा लगाएर जसपासँग गरेको माया प्रितिले एमाले–जसपा गठबन्धनसँग चुनावी मुद्दा समेत कमजोर परेको छ ।
अरुलाई जेसुकै होस् आफ्नो क्षेत्रमा चुनाव जित्न रघुवीर महासेठ र लिलानाथ श्रेष्ठले एमाले–जसपा गठबन्धन गरेर सुरक्षित हुन खोज्नु भएको सन्देशले एमालेका जमिनी नेता कार्यकर्ताहरु गरम मुडमा छन् । कही यसले गर्दा आफू सुरक्षित हुन खोजेका रघुवीर महासेठ र लिलानाथ श्रेष्ठलाई नै चुनाव महँगो पर्ने त होइन । सप्तरी–२ मा जसपा अध्यक्ष उपेन्द्र यादव र जनमतका अध्यक्ष सिके राउतबीच हुने चुनावी टक्करमा उपेन्द्र यादव रक्षात्मक अवस्थामा पुग्नु भएको छ ।
सप्तरी भनेको अत्यन्तै सेन्टिमेन्टल र संवेदनशील मतदाता र नेताहरुको जिल्ला भएकोले राजनीतिक मुद्दा उपेन्द्र यादवले कमजोर गरेको छ भनि विश्लेषण भइरहेको छ । जुन एमालेले दिनरात मधेश र मधेशीलाई सराप्यो । माखे साङ्ग्लोसम्मको संज्ञा दियो । काले धोतीसम्म भन्यो त्यो दलसँग जसपाले चुनावी गठबन्धन गर्नुले पक्कै पनि मतदातालाई सोच्न बाध्य बनाएको हुनुपर्छ ।
वामपन्थी समर्थक मतदाताहरु एमाले, माओवादी दुई फरक फरक गठबन्धनमा विभाजित भएपनि मतदान गर्ने अवसर मिलेमा वामपन्थी उम्मेदबारहरुलाई खोजी खोजी र रोजी रोजी मतदान गर्न पाए हुन्थ्यो भने हिसाबले पनि धारणाहरु सार्वजानिक भइ रहेको छ । यस्तो खाले मतदाताहरुको मतले नेकपा एकिकृत समाजवादीको उम्मेदबारहरु पनि जित हासिल गर्ने अवस्था सृजना भएको छ । यस्तो अवस्था खास गरी सिरहामा देखिएको छ ।
यता सतारुढ गठबन्धनमा नेपाली काँग्रेसको नेता कार्यकर्ताले आफ्ना सैद्धान्तिक र पारम्पारिक मतदाताहरुलाई गठबन्धनको धर्म अनुसार मत हाल्यो र केही गडबड गरिएन भने मधेशमा एमाले–जसपा गठबन्धनभन्दा बढी भारी हुने प्रष्ट छ । हरेक निर्वाचन क्षेत्रमा काँग्रेस, एकीकृत समाजवादी र माओवादीको मत जोडने हो भने गठबन्धन सजिलै चुनावी गोल गर्न सफल हुनेछ ।
सिरहाको २, ३ र ४ नम्बर क्षेत्रमा काँग्रेसले माओवादी र एकीकृत समाजवादीलाई चापेर मतदान गरे भने सत्ता गठबन्धन बाजी मार्छ । अलिकति पनि मत यताउती भयो भने हार हात लाग्नेछ । सिरहा ३ मा सत्ता गठबन्धनको नेतृत्व गरेको पार्टी नेपाली काँग्रेसले कुनै बेइमानी गरेन भने माओवादी केन्द्रबाट उम्मेदवार हुनु भएका विश्वनाथ साहबाट एमालेका लिनानाथ श्रेष्ठलाई हारको सामना गर्नुपर्ने हुन्छ । काँग्रेसले आफनो दलभित्रको खिचातानीले मत यताउति गरयो भने लिलानाथ श्रेष्ठले जित हात पार्न सक्ने अवस्था छ ।
यस्तै सिरहा–२ मा पनि नेपाली काँग्रेस र माओवादी केन्द्रले दिलोज्यान लगाएर मत पेटिकामा मत सुरक्षित गर्न सकेन भने चित्रलेखा यादवको लागि पनि परिस्थिति अनुकूल नहुनसक्छ । हुनत दुबै गठबन्धनमा विश्वासको वातावरण बन्न जरुरी छ । तर जसपा–एमाले गठबन्धन अप्राकृतिक भएको कारण मतदाताहरु विश्वस्त हुनसकेका छैनन् । दुवै गठबन्धनका नेताहरु बीच मन बाँधिएको छैन मतदाता बाँधिनु धेरै टाढाको कुरा हो । यो कुराले सतारुढ गठबन्धनको लागि फाइदा हुने सम्भावना बढी छ ।
नेपाली काँग्रेसमा जति विवाद भएपनि मतदान हुने बेलासम्ममा मत आफ्नै गठबन्धनलाई जान सक्ने अवस्था बन्न सक्छ । तर मंसिर ४ पछि गठबन्धनको स्वरुप प्रकृति हेरफेर हुने गरी जनताले मनमनै गरेको वाम एकतालाई मतमा परिणत गरिदिने र मधेसवादी दलका समर्थक मतदाताहरुले मधेसवादीलाई एक ठाँउमा ल्याउने गरी मतदान गर्ने मुडमा पनि रहेको छ।
साहारा टाइम्सबाट।