सिरहा, १७ भाद्र। आधारभूत विद्यालय सिरहा नगरपालिका ९ रामनगर गुलरियाका शिक्षकले वषौंदेखि कामै नगरी तलव खाईरहेका छन्। एक जना विद्यार्थी समेत भर्ना नभएका यस विद्यालयका २ जना शिक्षकले नियमित तलव भत्ता खाँदै आएका छन्।
जिल्ला सदरमुकाममै रहेपनि यस विद्यालयमा पछिल्लो तीन शैक्षिकसत्रदेखि एक जना पनि विद्यार्थी भर्ना भएका छैनन्। विद्यालयका प्रधानाध्याम श्यामकुमार यालवले अभिभावकहरुले नै विद्यार्थी नदिएपछि आफूहरु कामविहिन भएको भएको बताए।
उनले हाक्काहाक्की भने, ‘गाउँको विचमा विद्यालय भएपनि कसैले विद्यार्थी पठाउँदैनन्, हामीले कसलाई पढाउने? यो वर्ष पनि चुनावका कारण विद्यार्थी भर्ना भएन; अवपनि चुनाव आउँदैछ विद्यार्थी कसरी भर्नागर्ने?’ उनले हामीसँगै प्रतिप्रश्न गरे। प्रअ यादवले विद्यार्थी माँग्न आफू घरघरै गएको दावी गरेपनि कसैले विद्यार्थी नदिएको बताए।
विद्यार्थी भर्ना नभएपनि शिक्षकको तलव, छात्रवृति रकम, पाठ्यपुस्तकको रकम भने नियमित गईरहेको छ।
यो शैक्षिकशत्रमा एक जना विद्यार्थीपनि भर्ना भएको छैन। ०७७ र ०७६ मा विद्यार्थी भर्ना नभएपनि सवै रकम गएको शिक्षा शाखाले जनाएको छ। विद्यालय चलाउनु पर्छ भन्ने लागेर नगरपालिकाले आर्थिक वर्ष २०७७ मा शिक्षकको तलवभत्ता बाहेक छात्रा छात्रवृति बापत १८ हजार चार सय, दलित छात्रवृति ४ हजार चार सय, पाठ्यपुस्तक बापत १२ हजार हजार ९८४ रुपैयाँ पठाएको छ।
२०७६ मा छात्रा छात्रवृति बापत १३ हजार दुई सय, दलित छात्रवृति १२ हजार र पाठ्यपुस्तक बापत १२ हजार हजार ८४१ रुपैयाँ पठाएको छ।
विद्यालयको नाममा रकम पठाएपनि तलव बाहेकका रकम खर्च नभएको शिक्षा शाखाले जनाएको छ।
उनले पहिला राम्रै विद्यार्थी रहेपनि कोरोनापछि विद्यार्थी आउनै छाडेको बताए। उनले भने, ‘विद्यार्थीलाई पढाई चाहिएको थियो, हाम्रो विद्यालय बन्द रहेकाले निजी विद्यालयमा सवै विद्यार्थी गईसक्यो।’
उनले थपे अव फेरी चुनाव आउँदै विद्यार्थी भर्ना गर्न सकिन्दैन, अव आउने शैक्षिकशत्रबाट मात्र पठन पाठन सुचारु हुन्छ।’
पाँच जना शिक्षक रहेको यस विद्यालयमा विद्यार्थी भर्ना हुन छाडेपछि तीन जनाको अन्यत्र सरुवा गरिएको नगर शिक्षा शाखा प्रमुख काशिन्द्र यादवले जानकारी दिए। अहिले पनि प्र.अ. श्यामकुमार र भुवनेश्वर यादव सहित २ जना शिक्षक बसेर तलव खाई रहेका छन्। उनले, ‘त्यहाँको समस्या लामो समयदेखि छ, हामीले पटक–पटक सुधार गर्न खोजेपनि सकिएको छैन।’
अघिल्लो शिक्षा समितिले विद्यालय मर्जगर्ने योजना बनाएपनि स्थानीयले नमानेपछि रोकिएको बताए। उनले भने, ‘हामीले मर्ज गर्ने योजना बनाएका थियौं, स्थानीयले विद्यालय बन्दभएपछि नयाँ खोल्न फेरी समस्या हुन्छभन्दै रोके।’
अहिले सवै शिक्षकहरुलाई अन्यत्र पठाएर नयाँ शिक्षकको टिम ल्याएर विद्यालय सञ्चालन गर्ने योजना बनाएको यादव बताए। उनले शिक्षा समिति गठन नभईसकेकाले केही कामहरु गर्न समय लागेको बताए।
शिक्षकहरुले पढाउने भन्दा पनि राजनीतिकरण गरेर विद्यालयलाई लथालिङ्ग बनाएको स्थानीयको आरोप छ। स्थानीय अभिभावक वीरेन्द्र यादवले विद्यालयमा नियमित शिक्षक नआउने र आएपनि गफ चुटेर बस्ने गरेकाले आफ्ना विद्यार्थी निजी विद्यालयमा पठाएको बताए।
उनले भने, ‘मास्टरहरु पढाउनु हुन्न, एक त विद्यालय नै आउनु हुन्न, आएपनि कक्षामा नगई कार्यालयमै बसेर गफ हाँकिरहेका हुन्छन्,’। ‘विद्यार्थीले पढाइदिन आग्रह गर्दा पनि शिक्षकहरुले आज पढाई हुँदैन भनेर विद्यार्थीलाई घर पठाईदिनु हुन्थ्यो।’
सावित्री शर्माको १० नम्वर वडामा रहेको दलित उत्थान आधारभुत विद्यालयमा सरुवा भएपनि उनी अपाएक परेको भन्दै गएका छैनन्। उनी हामी विद्यालय पुग्दा गाउँमा रहेका ३ जना बालबालिकार्लाइ जम्मा गरेर पढाईरहेका थिए। उनको माघ देखिको तलव भत्ता उत्तै गएपनि उनी हाजीरभने भएका छैनन्।
उनले आफूलाई यहाँ बस्ने मन नभएकाले सरुवा मागेको हो। पायक पर्ने ठाउँमा नदिएकाले पनि यही हाजिर गरिरहेको छु।