मणिलाल विश्वकर्मा
सिरहा, १४ कार्तिक। लगातारको वर्षाका कारण पाकेको धान भित्र्याउन नपाउँदै खेतमा ढल्न थालेपछि किसानहरू चिन्तित भएका छन्। बंगालको खाडीबाट विकसित ‘मोन्था’ चक्रवातको कारण भएको वर्षाले पाक्नै लागेको धान ढलेपछि किसानलाई मर्का परेको हो।
सिराहाको गोलबजार ९ का पूर्ववडाध्यक्षसमेत रहेका किसान रामपुकार कामतीले वर्षाले पाक्न लागेको धानमा क्षति पुगेको बताए। ‘रोप्ने वेलामा खडेरीको मारमा परेका किसान जसोतसो धान भित्र्याउने वेलामा बेमौसमी वर्षाको मारमा परेका छौँ,’ उनले भने, ‘दुःख गरेर खेती गर्छौँ, तर प्रकृतिले साथ दिएन।’
कर्जन्हा नगरपालिका ३, बन्दीपुरका युवा किसान जितेन्द्र यादवले बेमौसमी वर्षाले किसानमाथि बज्रपात भएको गुनासो गरे। मुस्किलले एक हप्तापछि भित्र्याउन सकिने धानलाई पानीले क्षति गरेको उल्लेख गर्दै उनले भने, ‘तत्काल नगरपालिकाको कृषि शाखाले क्षतिको मूल्यांकन गरी किसानलाई राहत उपलब्ध गराउनुपर्छ।’ साउनको दोस्रो सातासम्म धान रोपाइँका लागि वर्षा नहुँदा किसानले बोरिङ, जेनेरेटरबाट तानेको पानीले जसोतसो रोपाइँ गरेका थिए। तर, धान भित्र्याउन नपाउँदै वर्षाले क्षति पुर्याएकाले किसानलाई राहत दिनुपर्ने उनको माग छ।
जिल्लामा ८८ प्रतिशतभन्दा बढी रोपाइँ
मनसुनी वर्षाले साथ दिएको अवस्थामा साउनको मसान्तसम्म करिब सतप्रतिशत रोपाइँ हुने सिराहा जिल्लामा यसपटक खडेरी परेर साउनको अन्तिम सातातिर मात्र पानी परेपछि ८८.१७ प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्र सिराहाले जनाएको छ। केन्द्रका प्रमुख नरेन्द्रकुमार महासेठका अनुसार मौसम सामान्य रहेको अवस्थामा प्रायः कात्तिकको तेस्रो सातादेखि कटाइ सुरु हुने धानमा वर्षाले क्षति पुर्याएको छ।
‘सुरुमै रोपिएको धान फाट्टफुट्ट कटाइ पनि सुरु भएको थियो,’ उनले भने, ‘तर, वर्षाले विभिन्न स्थानीय तहमा पाक्नै लागेको धान ढलेर क्षति भएको छ।’ बेमौसमी वर्षासँगै आएको सामान्य हावाले पनि धान ढलेपछि दाना कुहिएर उत्पादन घट्ने उनले बताए। ‘वर्षा रोकिएपछि स्थानीय तहको कृषि शाखासँग समन्वय गरी कहाँ कति क्षति भयो भन्ने यकिन हुन्छ,’ उनले भने।
केन्द्रका अनुसार जिल्लाको कुल खेतीयोग्य जमिनमध्ये ५४ हजार हेक्टरमा बर्खे र एक हजार ३४५ हेक्टरमा चैते धान खेती हुन्छ। जिल्लामा २१ हजार ५३३ हेक्टर जग्गामा बाह्रै महिना र १८ हजार ३३८ हेक्टर अर्धसिँञ्चित जग्गाबाहेक ३४ हजार ४२ हेक्टर क्षेत्रमा आकासेपानीको भरमा नै खेती हुँदै आएको छ।


 
                     
                            
                                                            


 
         
         
        

















