सिरहा, १६ कार्तिक। धनुषामा यात्रुबाहक बसको ठक्करबाट अटो रिक्सामा सवार एकै परिवारका तीनसहित चार जनाको मृत्यु भएको छ। दुर्घटनामा थप दुई  बालबालिका गम्भीर घाइते भएका छन्।

विराटनगरबाट धनगढी जाँदै गरेको सु. प्र ०१–००१ ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ ह १२३० नम्बरको अटोलाई शनिबार साँझ ठक्कर दिंदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो। 

पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका १ वीरेन्द्र बजारमा भएको सो दुर्घटनामा गणेशमान चारनाथ नगरपालिका १ भरतपुरका करिव ४० वर्षीय धनबहादुर पुर्वछाने मगर, ३५ वर्षीय शम्भु पुर्वछाने मगर, ३५ वर्षीया निशा मगर र अन्दाजी ४० वर्षीय अटोरिक्सा चालक डम्बर राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रमुख इन्सपेक्टर लक्ष्मण सोतीले जानकारी दिए।

प्रहरीका अनुसार दुर्घटनामा १४ वर्षका शीतल मगर र ९ वर्षका रोशन मगर गम्भीर घाइते छन्।

उनीहरूको जनकपुरधामस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ।