जीवछ यादव

लहान, १६ कार्तिक। सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरुमा अधिकांश दलित विपन्न समुदायका बालबालिकाहरु नै भर्ना भएका हुन्छन्। नियमित विद्यालय नआउने समस्या समाधानका लागि लहान ११ पिडरबोनी माध्यमिक विद्यालयका प्रधानाध्यापक र शिक्षकहरु दलित बस्तीको दैलो दैलोमा पुग्ने अभियान सुरु गरिएको छ।

विद्यालयका प्रधानाध्यापक वीरेन्द्रकुमार यादव भने, ‘प्रधानाधयापक भएर आएको तीन महिनाको अवधिमा विद्यार्थी सङ्ख्या हेर्दा अधिकांश दलित समुदायका रहेको पाइयो। कक्षा ६ देखि १० कक्षासम्मका विद्यार्थीहरु अनुपस्थित रहने गरेकाले चाहे अनुसारको सुधार गर्न कठिनाइ भएपछि दलित बस्तीमा पुगेर नियमित विद्यालय पठाउन अभियान सुरु गरेका छौँ।’

लहान ११ पिडरबोनीका राम उद्गार मरिक (डोम) को घरमा पुगेर किन तपाईंका चार जना विद्यार्थीहरु नियमित विद्यालय जाँदैनन्? भन्ने प्रश्न गर्दा, हामी डुम समुदायका बालबालिकाहरु पढेर के गर्ने? खालको कुराहरु सुन्दा संविधानले सारा विभेदहरु हटाइसकेको छ। विद्यालयमा छुवाछूत छैन। डुम समुदायहरु जो समाजमा हेपिएका दबिएका छन् त्यसबाट मुक्त हुन शिक्षा नै आवश्यक रहेको चेतना दिएपछि मरिक परिवारले नियमित विद्यालय पठाउने विश्वास दिलाएको प्रअ यादवले सुनाए।

दैलोमै पुगेर नियमित विद्यार्थी पठाउन प्रअ र शिक्षकहरुले दिएको जनचेतनाले अब नियमित विद्यालय पठाउने रामउद्गार मरिकले प्रतिबद्धता व्यक्त गरे। डोम समुदायलाई हेर्ने दृष्टिकोण परिवर्तन भएको महसुस भइकाृ रामुद्गारले बताए।

मधेश प्रदेशका डोम समुदाय र मुसहर समुदायका बालबालिकाहरु अहिले पनि नियमित विद्यालय नजाने, बाल श्रमिकको रुपमा काम गर्ने, बालविवाह हुने गरेकाले डोम र मुसहर समुदायलाई शिक्षाको मूलधारमा ल्याउन विशेष कार्यक्रमको आवश्यकता रहेका दलित अगुवा लेखक राजेश राम विद्रोहीले बताए। उनले भने, ‘पिडरबोनी माविका प्रअ लगायत शिक्षकहरुले गरेका प्रयास सार्थक देखियो। यस्तै किसिमको जनचेतना दलित बस्तीमा सामुदायिक विद्यालयहरुले फैलाउन आवश्यक छ।’

लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीका अनुसार दलित समुदायहरु रहेका बस्तीलाई ध्यानमा राखेर प्रस्तावित माध्यमिक विद्यालय सञ्चालन र दलित बालबालिकाहरुलाई यस वर्षदेखि शैक्षिक सामग्रीको रुपमा कपी पेन्सिल निःशुल्क वितरण गर्ने कार्य अघि बढाएका छ। दलित बस्तीहरुमा ४१ वटा निःशुल्क ट्युशन कक्षा पनि चलिरहेका छन्। विद्यार्थीहरुलाई  कक्षामा नियमित हाजिर हुन पिडरबोनी माध्यमिक विद्यालयका प्रअ यादवले थालेको यो कार्यलाई ५९ वटै सामुदायिक विद्यालयमा लागू गराउने मेयर चौधरीले बताए।

डोम र मुसहर समुदायको बालबालिकाहरुलाई शिक्षा दिइनका लागि आवासीय विद्यालय बनाउनुपर्ने पटक पटक मधेश प्रदेशमा आवाज उठाइरहेका प्रदेशसभा सदस्य राजेन्द्रप्रसाद चौधरीले बताए।

(गोरखापत्रबाट)