कल्याणपुर नगरपालिका १० बङ्ठियाका सुअ‍ैभ मियाँले गर्जो टार्न २०७० सालतिर स्थानीय साहु रामकृपाल साहसँग ३० हजार रुपैयाँ ऋण लिए।

विनाय यादव

सिरहा, ९ साउन। कल्याणपुर नगरपालिका १० बङ्ठियाका सुअ‍ैभ मियाँले गर्जो टार्न २०७० सालतिर स्थानीय साहु रामकृपाल साहसँग ३० हजार रुपैयाँ ऋण लिए। आर्थिक रुपले विपन्न सुअ‍ैभले २ वर्षसम्ममा पनि ऋण चुक्ता गर्न सकेनन्।

srijana school 2

रामकृपालले ताकेता गरेर तनाव दिन थालेपछि उनले दुईवर्ष पछि २०७२ साउन ५ गते साहुले साँबा ब्याज जोडेर भने अनुसार २ लाख ५७ हजार ६ सय ८१ रुपैयाँको तेब्बर ७ लाख ७३ हजार ४३ रुपैयाँको नयाँ तमसुक बनाइदिए।

त्यसको डेढ वर्षपछि २०७३ माघतिर सुअ‍ैभले साहु रामकृपालले मागे अनुसार ४ लाख रुपैयाँ दिएर ऋण चुक्ता गरे। तर, रामकृपालले तमसुक भने दिएनन्। मिटरब्याजकै कारोबार गरेर अकुत सम्पति अर्जेका उनको मिर्चैयामा पनि घर छ।

उनले तमसुक मिर्चैयाको घरमा रहेको भन्दै अर्को दिन ल्याइदिने भनेर पैसा लिए। सुअ‍ैभलाई घर पठाइदिए। सुअ‍ैभ पनि विश्वासमा परेर तमसुकका लागि त्यतिबेला अड्डी कसेनन्। त्यसपछि सुअ‍ैभले पनि गाउँघरकै मान्छे हो भन्ने सोंचेर खासै सोधखोज गरेनन्। तर, विश्वासमा परेर गरेको त्यहीँ भूल सुअ‍ैभका लागि अहिले रोवाइको कारण बनेको छ।

यसको झण्डै ६ वर्षपछि रामकृपालले मात्र ३० हजार रुपैयाँ साँबाको ब्याजको स्याज जोडेर पैसा दिएको दुई वर्षमा बनाएको २ लाख ५७ हजार ६ सय १ रुपैयाँको तेब्बर गरेर बनाएको ७ लाख ७३ हजार ४३ रुपैयाँको तमसुक अदालतमा लगाइदिएका छन्। अदालतसँग उनले तेब्बर गरेर बनाइएको मूलधन ७ लाख ७३ हजार ४३ रुपैयाँको हालसम्मको ब्याज जोडेर १२ लाख ८१ हजार ७ सय ४ रुपैयाँ दिलाइदिन माग गर्दै मुद्दा दायर गरेका छन्।

मधेशमा ऋण लेनदेन हुँदा मूलधनको तेब्बरको कागज बनाइने आम चलन नै छ। कगजको तल्लोभागमा ऋणको मूलधन लेखिने चलन छ। तमसुक अदालतमा लगाउँदा भने मूलधन लेखिएको मूनिको भाग च्यातेर लगाइन्छ। उनले पनि वास्तविक मूलधन लेखिएको तल्लो भाग च्याचेर कागज अदालतमा लगाएका छन्।

हामीले मूनिको भागमा वास्तविक मूलधन पनि लेखिएको सक्कल कागजको फोटोकपी फेला पारेका छौं। सबै पैसा नै फरफारक भइसेकेकाले सुअ‍ैभले पटकपटक मुद्दा फिर्ता लिइदिन रामकृपाललाई हारगुहार गर्दै आएका छन्। तर, साहु उनको कुरा सुन्न समेत तयार छ्रैनन्। जसका कारण सुअ‍ैभ बिचल्लीमा परेका छन्।

यस्तै, सिरहाको कर्जन्हा नगरपालिका ३ की कुसुम देवि साहले २०७४ फागुन चैततिर घर बनाउँदा रुपैयाँ आवश्यक परेर स्थानीय मिटरब्याजी हिना यादवसँग तीन महिनामा पटक–पटक गरी ६ लाख रुपैयाँ सापटी लिइन्। तीन महिनापछि हिना यादवले कुसुमलाई तमसुक बनाउन दवाव दिन थालिन्। तर, कुसुमले आफू सबै रकम विस्तारै चुक्ता गरिदिने भन्दै तमसुक नबनाउन पटकपटक अनुनय गरेपनि हिना मानिनन्।

295504843_805674200814050_2347464801322762064_n

सिरहा कर्जन्हा नगरपालिका ३ की कुसुम देवि साह मिटरब्याजले घरबार विहिन हुने अवस्था आएको विलौना सुनाउँदै।

अन्त्यमा कुसुम तमसुक बनाउन बाध्य भइन्। तमसुक बनाउन जाँदा हिनाले कुसुमलाई दिएको ६ लाख रकमको हप्ता ब्याज जोडेर तीन महिनामै २० लाख पुयर्याइन्। एक लाखको हप्ताको १० हजारको दरले उनले जोडेर हिसाब सुनाउँदा कुसुम छाँगाझरे जस्तै भईन्। उनले पटक–पटक आफू पनि गरिब मान्छे नै भएकोले मिलाएर जोड्न आग्रह गरिन्। तर, हिनाले मानिन्।

mount school 333

उनले २०७५ जेठमा आफ्नो नाममा दुईटा, ससुरा पल्टु यादवको नाममा एउटा र हाल विदेशमा रहेका श्रीमान दिपेन्द्र यादवको नाममा एउटा गरी जम्मा ४ वटा तमसुक बनाइन्। त्यसमा पनि २० लाखको तेब्बर ६० लाखको तमसुक बनाइएको छ। जसमा एउटा ६ लाख, एउटा २१ लाख, एउटा १८ लाख र एउटा १५ लाखको कपाली गराइएको छ।

कपाली बनाउने बेला हिनाले अहिले कागज बनाउनु पछि मिलाएर पैसा दिनु भनेर फकाएर बनाइन्। तर, अहिले उनले कुसुमलाई घर न घाटको बनाइदिएकी छन्। कुसुमले हालसम्म ऋण वापत ७ लाख नगद र ३ लाखबढीको गरगहना दिएपनि अहिले हिनाले आफ्नो ससुरा पल्टु यादवको नाममा रहेको २१ लाखको तमसुक अदालतमा लगाएर मुद्दा जितिलिएका छन्।

अदालतले २०७६ पुष २९ मा कुसुमले हिनाका ससुरा पल्टुलाई २९ लाख २७ हजार ७५० रुपैयाँ ८२ रुपैयाँ तिनुपर्ने आदेश जारी गरेको छ। तर, रकम तिर्न नसकेपछि अदालतले कुसुमको घर रहेको १२ धुर जग्गा, घर, चर्पी, पाइपसहित भएभरको सबै सम्पत्ति डाक लिलाम गरिदिएको छ।

अहिले हिनासहित उनको परिवारले घर खाली गर्न र बाँकी तीन वटा कागजको पैसा छिटो तिर्न धम्की दिइरहेका छन्। यहाँसम्मकी कुसुमले पटकपटक घर खाली नगराउन अनुनय गर्दा साहुको परिवारले घर पसेरै कुटपिटसमेत गर्दै आएका छन्।
एक मात्र छोरा रहेको कुसुमको श्रीमान बितिसकेका छन्। यस्तो अवस्थामा पनि साहुकार यादवको परिवारले उनीमाथि मचाइरहेको यत्रो बितन्डा रोक्न कसैले सुनिरहेका छैनन्।

यहाँ बर्णन गरिएका साहु रामकृपाल, हिना र पल्टु अनि ऋणी सुअ‍ैभ र कुसुम त उदाहरण मात्र हुन्। मधेशमा यस्ता धेरै परिवारहरु छन्, जो परिवार मिटरब्याजीहरुको फन्दामा परेर घर बारविहिनको अवस्थामा पुगेका छन् । तर, राज्यले यसमाथि कुनै ठोस कदम उठाउन सकेको छैन।

sahakari copy (1)