वीरगञ्ज, १६ असार। भारतको बिहारस्थित दरभंगा जिल्ला कुसेश्वर ३ का रबिन्द्र मुखियाको आँखामा बिहिवार खुशीले आँसु थामिएन। १४ महिनादेखि बेपत्ता श्रीमती रिना देवी फर्किने आश मारिसकेका मुखियाले छोरासहित श्रीमती पाएपछि आँखाबाट खुशीको आँसु बगेको पत्तै पाएनन्।
मुखियाले श्रीमती रिनासँगै छोरा उज्जवल पनि उपहारमा पाए। १२ असोज २०७८ मा धनुषाको धनुषाधाम नगरपालिका ९ बाट कमजोर मानसिक अवस्थामा गर्भवति महिलाले कष्टपुर्ण जीवन बिताईरहेको खबर आएपछि मानव सेवा आश्रमको टोली उनको उद्धारका लागि त्याहाँ पुगेका थिए। आश्रमको टोलीले उनलाई भेटाउन नसकेपछि प्रहरी र आश्रमको टोलीले घण्टौ लगाएर खोज्दा जंगलमा फेला पारेको थियो। एम्बुलेन्समा राखेर मानव सेवा आश्रम वीरगञ्ज ल्याई उनको उपचार थालिएको थियो।
आश्रममा आश्रितहरुको निःशूल्क रुपमा उपचार गर्ने बरिष्ठ मानसिक रोग बिशेषज्ञ डा. भरत गोइत र बरिष्ठ स्त्री रोग बिशेषज्ञ डा. लक्ष्मी थापाको सल्लाहबमोजिम उनलाई प्रभु हस्पिटलमा भर्ना गरियो। सोही दिन ति महिलाले राति ११ बजे छोरालाई जन्म दिइन्। बच्चा जन्मिए पछि ४ दिन अस्पतालमै राखेर आमा र छोराको उपचार गरियो। स्वास्थ्य अवस्था पूर्ण रुपमा ठीक भएपछि अस्पतालबाट डिस्चार्ज गरियो। अस्पतालमा लागेको खर्च प्रभु हस्पिटलका सञ्चालकद्वय डा. मनोज गुप्ता र डा. लक्ष्मी थापाले लिएनन्।
छोराको नाम उज्जवल राखिएपछि उनको हेरचाह र लालनपालनको सम्पुर्ण जिम्मेवारी मानव सेवा आश्रम वीरगञ्जले गरीरहेको थियो।
मानव सेवा आश्रमको प्रेम र हेरचाह एवम् डा. गोइतको उपचारको परिणामस्वरुप रिना देवीको मानसिक अवस्था ठीक हुँदै गयो। उनले आफ्नो ठेगाना बताउन सक्ने भएपछि उनका श्रीमान रबिन्द्र मुखिया र भाई इन्द्रजित मुखिया उनलाई लिन मानव सेवा आश्रममा पुगेका हुन्। ९ महिना ४ दिनका उज्जवल र त्यति प्रेम र सद्भावका साथ हेरचाह गरेर ठीक भएकी रिना देवीलाई परिवारको जिम्मा लगाउन मानव सेवा आश्रमका संरक्षक प्रकाश थारु, आश्रमका मधेश प्रदेश प्रमुख देवेश गुप्ता, आश्रमकी वीरगञ्ज प्रमुख सानु माया गुरुङ्ग लगायत आश्रम परिवार भावुक देखिन्थ्यो।
सुखद पारिवारीक पुर्नमिलन गराएकोमा खुशी भएपनि आएकोमा खुशी भएपनि आफ्नै काखमा खेलाउने र आफैले खुवाउने छोरा उज्जवललाई पठाउँदा केही भावुक भएको आश्रमका मधेश प्रदेश प्रमुख देवेश बताउँछन्।
बच्चाले खाने कृतिम दुध पिलाउनुका साथै रातिको १२–१ बजे रुँदा पनि झर्काे नमानेर आफ्नै छोरा जस्तै गरी माया र हेरचाह गर्ने सानुमाया गुरुङका पनि आँखा ओभाना थिएनन्। देबेशले बाबा, सानुमायाले आमा, मुना लिम्बुले दिदी, प्रमिला श्रेष्ठले काकीको प्रेम दिएर उज्जवलाई ९ महिनासम्म हेरचाह गरे।