वीरगञ्ज, ३१ जेठ। सडक भनेकै सवारीको निर्वाध आवागनका लागि हो र फुटपाथ पैदलयात्रुहरुको लागि । तर, वीरगञ्जको सडक र सडकपेटी भने न सवारीमैत्री छ, न पैदलयात्रुमैत्री नै । स्थानीय जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल गुजारिसकेको वीरगञ्जले काँचुली फेर्ने कुनै संकेत देखाएको छैन।
सडकमै हुने पार्किङ सडकको ठूलो समस्या बनेको छ । महानगपालिका र ट्राफिक प्रहरी यसलाई व्यवस्थित गर्ने मामिलामा चुकेका छन् । विशेषगरी बाइपास सडक अहिले पार्किङ गर्ने राम्रो स्थल बनेका छन् ।
दैनिक गाडीको संख्या बढ्दै गर्दा पार्किङको प्रवन्ध गर्न सकिएको छैन । पार्किङको व्यवस्था नहुँदा वीरगञ्जको घण्टाघरदेखि मकालु चोकसम्म सडकमै सवारी पार्किङ गर्ने गरिएको छ । त्यतिमात्रै होइन आदर्शनगर चोकदेखि महानगरको गेटैसम्म पनि भएभरका सवारी सडकमै पार्किङ गरिन्छ । एक त साँघुरो सडक, अर्को सडकमै पार्किङ गरिँदा यात्रु हिँड्ने र सवारी हिँड्ने ठाउँ नै हुँदैन ।
वीरगञ्जमा धेरैजसो सडकपेटीमा ब्यापारीको रजाइँ छ । आफ्नो पसलभरिको सामान पेटीभरि फिँजाएर ब्यापारीहरु दंग परेर बसेका छन् । पैदलयात्रुलाई सडकबाट नहिँडी सुखै छैन ।
सडक पेटीमा ब्यापार गर्न बस्ने त छँदै छन्, त्यसमाथि पसलका सामान पनि पेटीभरि फिँजाएर बस्नेहरुका कारण वीरगञ्जको पैदलयात्रा पनि कठीन बनेको छ ।
विभिन्न स्थानका सडकपेटीमा ग्यारेज र ग्रील उद्योग नै चलिरहेका छन् । बाइपास रोड र घण्टाघरभन्दा उत्तरतर्फ पावरहाउससम्मका सडकमा यस्ता दृश्य बढी देखिन्छ ।
यस्तै वीरगञ्जको विर्ता क्षेत्र झनै लथालिङ छ । मेडिकल हबको रुपमा रहेको यो क्षेत्रको फुटपाथ र सडक पार्किङ र ठेला व्यापारीको कब्जामा पुगेको छ ।
वीरगञ्जमा सडकपेटीमा मौलाउँदो पार्किङको सवाल पनि सँगै छ । पैदलयात्रुलाई सडकमा हिँड्न बाध्य बनाएर फुटपाथमा पार्किङ गर्नेहरुप्रति ट्राफिक प्रहरी पनि ‘एक्सन’ लिन सकिरहेको छैन ।
वीरगञ्जका सडक पेटीमा हुने सवारी पार्किङ अब सामान्य बनिसक्यो । यात्रुलाई सडकमा झार्न बाध्य पार्ने गरी पेटीमा भएको पार्किङ हटाउने आँट कसैले गरेको भेटिन्न ।
भर्खरै मात्रै महानगरमा नयाँ जोश सहित नयाँ नेतृत्व आएको छ । यो नेतृत्वले महानगरको यी र यस्ता सामान्य विषय सम्बोधन गर्ने छ भन्ने वीरगञ्जवासीले विश्वास लिएका छन् ।