टुटफुट भएको वीरगञ्जको मुख्य सडक, अस्तव्यस्त ट्राफिक र अव्यवस्थित विद्युत तथा नेटका तार ।
वीरगञ्ज १३ वैशाख । रोजगारी तथा अध्ययनको शिलशिलामा बाहिर गएकाहरुले स्थानीय सरकारको आगमनपश्चान वीरगञ्ज शहर कायापलट भएको आशा गरेका थिए । तर लामो समयपछि पुनः वीरगञ्ज फर्किदा उनीहरुको आशा निराशामा परिणत भएको छ । मधेश आन्दोलनको रापमा मधेशवादी दलले नै विजयी हाँसिल गरेको वीरगञ्ज महानगरपालिकामा मधेशको विकास र मधेशी समुदायको जिवनस्तरमा सुधार हुनेमा आशाबादी जनता अर्को निर्वाचन नजिकिएसँगै निराश बनेका हुन् ।
जनता निराश हुनु पनि स्वभाविक नै हो, संघीयतापश्चात घरघरमा सिँहदरबारको नारा लगाएसँगै थुप्रै झुठा आश्वासन बाँडेका जनप्रतिनीधिले जितेपछि जनतामा कर लाद्ने र आफ्ना आसेपासेलाई नियुक्ती दिन बाहेकका कुनै काम नगरेपछि सन्तुष्ट हुने कुनै कारण पनि छैन ।
वीरगञ्ज महानगरपालिकाभित्रको कुरा गर्ने हो भने वीरगञ्जमा एसियाली विकास बैंकको अनुदानमा बनेका केही सडकबाहेकका परिवर्तन देखिदैनन् । टोलटोलमा बनेका पीच सडक पनि शहरी विकास कार्यालयले बनाई दिएको हो । सडक बन्दा आउने समस्या समाधानका लागि समेत महानगरपालिकाले कुनै सहयोग नगरेको त्यहाँका कर्मचारी बताउँछन् । विगतदेखि नै खेल्दै आएको नारायणी रंगशाला, आदर्शनगर रंगशाला पनि व्यवस्थित र अत्याधुनिकसहितको भयो होला भन्ने कल्पना पनि कल्पनामै सिमित रह्यो । व्यवस्थित हुनुपर्नेमा दुवै रङ्गशालाको अवस्था उल्टै जीर्ण बन्दै गइरहेको छ ।
घडिअर्वा पोखरीको सौन्दर्यकरण, अन्य पार्कहरु निर्माण, वृक्षरोपणले हराभरा भएको होला भन्ने सपना पनि विपनामा रुपान्तरण हुन सकेन । अँझै भएका खुला ठाउँमा पनि प्लटिंग गरिएको दृश्यले अब स्वच्छ र हराभरा वीरगञ्जको परिकल्पना यथार्थमा हेर्ने सपना सपनामै सिमित हुनेमा नगरबासी चिन्तीत देखिन्छन् । पूरानो बस पार्कलाई एउटा सुन्दर पार्क बनाउन सकिन्थ्यो तर यहाँका निर्वाचित मेयर विजयकुमार सरावगीले त्यसलाई कंक्रिटीकरण गरेर गाडी पार्किङ्ग गर्ने ठाउँ बनाइदिए । अब महानगरको मूख्य बजार क्षेत्रमा खुला ठाउँ नै छैन ।
मधेश आन्दोलनकै रापमा भएको चुनावमा मधेशबादी पार्टीबाट सरावगी मधेश प्रदेशको एक मात्र महानगरपालिकाको मेयरमा निर्वाचित भए । महानगरका ३२ वटा वडामध्ये १३ जना वडाअध्यक्ष पनि तत्कालिन संघीय समाजवादी फोरम हालको जसपाबाट भएको र मेयरसँगै मधेश प्रदेशको मुख्यमन्त्री पनि सोही पार्टीका भएपछि जनताको अपेक्षा बढ्नुलाई स्वभाविक मान्न सकिन्छ । तर वडा स्तरमै पुगेको स्थानिय सरकारले संतोषजनक काम गर्न नसकेपछि वीरगञ्जका स्थानियहरुले यसपटक परिवर्तन खोजिरहेका छन् ।
मेयर पदमा निर्वाचित भए पश्चात आफैले घोषणा गरेका कामसमेत गर्न नसकेका सरावगीले पुनः ठूलाठूला सपना बाँडेर निर्वाचनमा होमिएपछि नगरबासीले उनलाई विश्वास गर्ने आधार पनि देखिँदैन । उनले अघिल्लो निर्वाचनताका मेरो कसम नामले बाँडेको सपनाबाट सबै प्रभावित थिए । व्यापारिक पृष्ठभूमिबाट आएका सरावगीसँग काम गर्ने भिजन होला, देशविदेशमा रहेका संघसंस्थासँग सहकार्य गरेर उनले यहाँ नीतिगतदेखि भौतिक रुपमै राम्रा परिवर्तन गर्लान भन्ने नगरबासीको सोच थियो । तर उनि निर्वाचित भएर आएपछि त्यस्तो केहि भएन । महानगरको विकासका लागि योजना लिएर आउने विज्ञहरुलाई उनले आफै पढाएर पठाउने गरेको महानगरकै कर्मचारीहरु बताउँछन् ।
सबैमा शिक्षाको पहुँच पुगोस् भन्ने अभिप्रायले सरकारले सामुदायीक विद्यालयमा माद्यामिक सम्मको शिक्षालाई निःशूल्क बनाएर सबै जिम्मेवारी स्थानीय तहलाई नै हस्तान्तरण गरेको थियो । तर सरकारको प्रयास असफल भयो भन्दा कुनै फरक नपर्ला । किनभने अहिले पनि अंग्रेजी कक्षा, परीक्षा शूल्कलगायतका बहानामा सामुदायिक विद्यालयमा पनि शूल्क असुल्ने क्रम नरोकिदा गरिब, विपन्न समुदायका बालबालिकाहरुसमक्ष शिक्षाको पहुँच पुग्न नसकेको यथार्थ हो । शैक्षिक क्षेत्रमा सुधार होला भन्ने अपेक्षा पनि निरासामा परिणत भयो । मेयर सरावगी प्रधानाध्यापक र शिक्षक सरुवाको राजनीतिमै पाँच वर्षसम्म रुमलिए ।
अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी नियमावली २०७७ मा समेत सार्वजनिक विद्यालयले माद्यामिक तह सम्मको शिक्षामा कुनै पनि बहनामा शुल्क लिन मनाही गरे पनि सो व्यवस्था कार्यन्वयन हुन सकिरहेको छैन । यसका अलावा विद्यालयमा पनि मनलाग्दो नियुक्ती र आफुखुशी सरुवा गर्ने प्रवृतिले कतिपय शिक्षकहरु नै सरावगीसँग रुष्ट छन् ।
भौतिक संरचना थप्नु त परको कुरा भएका संरचनाहरुको समेत संरक्षण तथा संवद्र्धन एवम् जगेर्ना गर्न नसकेको वीरगञ्जका बौद्धिक वर्गको टिप्पणी छ । महानगरको मूख्य सडकको अवस्था हेर्दा बौद्धिक वर्गाको कुरा प्रमाणित हुन्छ । घण्टाघरदेखि माइस्थान चोकसम्मको बाटो खाल्डाहरुले भरिएको छ । वर्षायाममा अर्को मूख्य चोक आदर्शनगर पूर्ण रुपले डुब्छ । सरावगी भने उक्त सडक निर्माणको जिम्मेवारी महानगरको क्षेत्राधिकारभित्र नपर्ने भन्दै पन्छिने गरेका छन् । तर उनै सरावगीले प्रदेश सरकारले घोषणा गरेको मधेशी शहिद पार्कमा कंक्रिटीकरण गरीरहेका छन् ।
त्यसैगरी महानगरवासीको लाइफलाईन मानिने सिर्सिया नदीको अवस्थापनि दिक्क लाग्दो छ । कालो दुर्गन्धित नदीले हाम्रो शहरको पहिचानलाई नै कालो बनाएको छ । तर नदीलाई सफा बनाउन महानगरका प्रतिनीधिहरुले केही गरेको देखिँदैन ।
फोहोर व्यवस्थापनमा पनि महानगर चुकेको छ । निर्वाचित भएर आएदेखि फोहोर व्यस्थापनका लागि करोडौँ खर्च भएको मेयर सरावगीको दावीलाई मान्ने कुनै आधार छैन ।
यहाँका सडक, नाला र चोकचोकमा थुप्रिएको फोहर पनि पाँच वर्षदेखि उस्तै छ । तर मेयर सरावगी भने यसको जिम्मेवारी महानगरबासीलाई दिने गरेका छन् । हुनत फोहर व्यस्थापन महानगर एक्लैले गर्न नसक्ने कुरा हो, स्थानीयहरुको साथ पनि आवश्यक हुन्छ । यद्दपी, महानगरपालिकाले प्रयास पनि नगरेको अवस्था छ । फोहर व्यस्थापन नहुँदा यहाँ लामखुट्टेको समस्या विकराल छ ।
वीरगञ्ज महानगरपालिका भएपनि महानगरसँग हुने कुनै विशेषता नभएको सरावगीले पटक पटक स्विकार गर्दै आउनुले पनि बिकास नभको कुरालाई थप पुष्ठि गरेको छ । ग्रामिण क्षेत्रलाई सदरमुकाम वीरगञ्जसँग जोड्न सघन शहरी बिकास कार्यालयले सडक नबनाईदिएको भए आज पनि कच्ची बाटो र धुलो तथा धुवा र हिलोमै नगरबासी पौँठेजोडी खेल्न विवश हुने थिए ।