वीरगञ्ज, १७ चैत । पर्साको सखुवाप्रसौनी गाउँपालिकाकी उपाध्यक्ष फुलमति देवी चौधरीलाई जनता समाजवादी पार्टी (जसपा) पर्साले पार्टीबाट निष्कासन गरेको छ । पार्टीको नीति नियमविपरित कामहरु गरेको भन्दै बुधवार बैठकले चौधरीलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो ।
जसपा पर्साका अध्यक्ष रामनरेश प्रसाद यादवको अध्यक्षतामा बसेको बसेको बैठकले स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै स्थानीय निर्वाचन निर्देशिका २०७८ को बारेमा जिल्लाका पदाधिकारी र सदस्यहरुलाई अभिमुखिकरण समेत गरिएको छ । बैठकले यही चैत २० गतेसम्म केन्द्रिय समितिको निर्णयबमोजिम वडा तथा पालिकाहरुको उम्मेदवार छनौट गरेर जसपा जिल्ला समन्वय समितिमा पठाउने निर्णय पनि गरिएको जसपा पर्साका सचिव तबरेज अहमदले जानकारी दिए ।
सचिव अहमदका अनुसार जिल्ला अध्यक्ष यादवको नेतृत्मा जिल्ला पदाधिकारी, सदस्य, पालिका सदस्य, क्षेत्रिय सदस्य, वडा सदस्य रहने गरी ५ सय १ सदस्यीय स्थानीय निर्वाचन मूल परिचालन कमिटी गठन गरिएको छ ।
उक्त समितिले निर्वाचनमा पार्टीलाई जिलाउन गतिविधि अगाडी बढाउने जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवले बताए । यस अघिको निर्वाचनमा पनि जसपाले उल्लेख्य स्थानमा जित हाँसिल गर्न सफल भएको स्मरण गर्दै यस पटकको निर्वाचनमा पर्सा जिल्ला कब्जा गर्ने दावी गरे ।
त्यसैगरी जिल्ला सचिव अहमदको नेतृत्वमा २ सय १ सदस्यीय निर्वाचन प्रचार प्रसार समिति गठन गरिएको छ । पार्टीलाई पर्सा जिल्लामा सशक्त बनाउन र सबै स्थानीय तहदेखि वडासम्म जसपालाई जिताउने सचिव अहमदको भनाई छ ।
बैठकले जसपा परित्याग गरेर गएकाहरुलाई कारवाही गर्ने निर्णय पनि गरेको सचिव अहमदले जानकारी दिए ।