जनकपुरधाम, २० कात्तिक। मधेश प्रदेश सरकारबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का मन्त्रीहरुले पदबाट राजीनामा दिएका छन्। नयाँ सत्ता समीकरण निर्माणको कसरत तीव्र भइरहेका बेला कांग्रेस नेतृत्वको सरकारमा सहभागी नेकपाका चार मन्त्रीले आजै राजीनामा दिएका हुन्। मन्त्रीहरुले मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई ह्वाट्स एपमा राजीनामा पत्र पठाएका छन्। 

नेकपा संसदीय दलको केहीबेरअघि सम्पन्न भर्चुअल बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो। पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि बसेको बैठकले मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएको थियो।

पार्टीको निर्णयअनुसार चारैजना मन्त्रीले राजीनामा दिएको गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले जानकारी दिए। उनले पार्टीको उच्च नेतृत्वबाट निर्देशन आएकाले राजीनामा दिएको बताए।

मधेश प्रदेश सरकारमा नेकपाबाट अर्थमन्त्री तथा संसदीय दलका नेता युवराज भट्टराई, उद्योग तथा पर्यटनमन्त्री कनिष पटेल, गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो र ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री जवाहर कुशवाहा सहभागी थिए।

३० असोजमा एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव नेतृत्वको सरकार अल्पमतमा परेको थियो। त्यसयता नेकपाले कांग्रेस नेतृत्वको सरकारलाई साथ दिँदै आएको थियो। तर, पछिल्लो राजनीतिक घटनाक्रमसँगै नेकपाले पनि सरकार छाड्ने निर्णय गरेपछि सरकार थप संकटमा परेको छ। सरकारले विश्वासको मत लिन अब आठ दिन मात्रै बाँकी छ।