जनकपुर, २८ कात्तिक। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबीच कुनै पनि किसिमको विवाद वा समस्या नरहेको स्पष्ट पारेका छन्।

शनिबार जनकपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले पार्टीले सरकारलाई दिएका सल्लाह, सुझाव र आलोचनालाई लिएर अनावश्यक हल्ला फैलाइएको भन्दै त्यस्ता भ्रमको पछि नलाग्न आग्रह गरे।

सरकार आफैँले गरेका वाचाहरू पूरा गर्ने काममा तल्लीन भएर लागिपरेको उल्लेख गर्दै उनले आफ्नै सरकारप्रतिको रचनात्मक आलोचनालाई फुटको संकेत नभई बलियो आन्तरिक लोकतन्त्रको उदाहरणका रूपमा बुझ्नुपर्ने बताए। रास्वपा लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले पक्ष र विपक्षमा हुने बहसहरूलाई सधैँ सकारात्मक रूपमा लिने गरेको उनको भनाइ छ।

कार्यक्रममा बोल्दै सभापति लामिछानेले यसपटक जनताले रास्वपालाई काम गर्ने अवसर दिएको बताए। अहिले प्राप्त जनमतबाट पनि मधेशले परिवर्तनको महसुस गर्न नसके आफू अर्को पटक भोट माग्न नआउने उनले घोषणा गरे।

जनता झुक्याएर भोट माग्ने चरित्र स्थापित हुने हो भने त्यस्तो राजनीति आफूलाई आवश्यक नरहेको लामिछानेको तर्क छ। उनले मधेशी जनताको जीवनमा परिवर्तन ल्याउने आशा, भरोसा र विश्वासका साथ प्राप्त भएको यो अवसरलाई धोका नदिन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिए।

(न्यूज कारखानाबाट)