फाईल फोटा।
सिरहा, २८ कात्तिक। आदिदेव सूर्यको उपासना गरी निष्ठापूवर्क मनाइने छठ पर्वको दोस्रो दिन आज ‘खरना’ मनाइँदै छ। आजको दिन साँझ चामल, सक्खर र दूध मिलाएर बनाएको खीर प्रसादको रूपमा ग्रहण गरी खरना मनाइन्छ।
दिनभर उपबास बसेका ब्रतालुले आज साँझ नियम निष्ठाकासाथ खीर बनाएर ग्रहण गर्दछन्। खीर प्रसादको रूपमा घरपरिवारका सदस्यहरूले ग्रहण गर्नुको साथै पर्व नहुने आफन्त तथा छिमेकलाईसमेत वितरण गर्ने चलन छ।
सन्तान एवम् पारिवारिक सुखसमृद्धिको कामना गरी चारदिनसम्म मनाइने आस्थाको महापर्व छठ हिजो शुक्रबारदेखि नहाय खाय विधिबाट सुरु भएको छ। पहिलो दिन ब्रतालुहरूले नुहाएर अरबा अरबाइन एवम् चोखो भोजन गर्छन्।
तेस्रो दिन आइतबार छठ पर्वको मुख्य दिन रहेको हो। आइतबार छठको पूजा सामग्री तलाउ, पोखरीलगायतका जलासय घाटमा लगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिने परम्परा छ। यो दिनलाई सौझका अर्घ्य पनि भनिन्छ। सोमबार बिहान उदाउँदो सूर्यको अर्घ्य दिएपछि छठपर्व समापन हुनेछ।
छठको मुख्य दिन अर्थात अस्ताउँदो सूर्यको अर्घ्य दिने दिनलाई सौझकारक र अन्तिम दिन अर्थात उदउँदो सूर्यलाई अर्घ्य दिने दिनलाई पारन भनिन्छ।
यस पर्वमा उखु, हल्दी, अदुवा, भोगटे, कागती, स्याउ, सुन्तला एवम् विविध प्रकारका कृषि उपजहरु, बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती लगायतको सामग्रीहरु चढाइन्छ। त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा तथा विविध प्रकारको मिठाइ सूर्य देवता अर्थात दिनानाथलाई चढाउने गरिन्छ।
अर्घ्य दिने ब्रतालु ४८ घण्टासम्म पानी पनि नखाई उपबास बस्ने गर्दछन्। छठ पर्वमा सूर्य भगवान अर्थात दिनानाथलाई अर्घ्य दिन तयार गरिने परिकारहरू अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रूपमा मानिन्छ।
संघिय सरकारले छठ पर्वको अवसरमा सोमबार सार्वजनिक बिदा समेत दिएको छ।






















