काठमाडौं १४ चैत । स्थानीय तह निर्वाचन, २०७९ मा एक करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाताले मतदान गर्न पाउने भएका छन् । गत पाँच वर्षमा ३६ लाख ७९ हजार २ सय ४१ जना नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगले मतदाता नामावली ऐन बमोजिम गत माघ २४ गतेसम्म नामावली दर्ता गराएका र वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पूरा हुने नेपाली नागरिकको नामावली मतदानका लागि स्वीकृत गरेको हो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनको मिति घोषणा भएपछि आयोगले स्वीकृत गरेको निर्वाचन तालिका बमोजिम नै सबै कार्यक्रम समयमै गरेको बताए। उनले आगामी दिनमा समेत आयोगले उक्त कार्यक्रमलाई दृढतापूर्वक लागू गरेर २०७९ वैशाख ३० गते मतदान गर्न पूर्ण रूपमा तयार छ भने । उनले समयमै मतदान गराउन मतदाता नामावली, मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नामावली र मतदान स्थल तथा मतदान केन्द्र तोकिएको जानकारी दिए ।
आयोगका अनुसार देशभरि ८९ लाख ९२ हजार १० जना पुरुष र ८७ लाख ४१ हजार ५ सय ३० जना मतदाता महिला छन् । लिङ्ग पहिचान नभएका वा अन्य समूहका १ सय ८३ जना मतदाता छन् । आयोगले बागमती प्रदेशमा सबैभन्दा बढी ३४ लाख १२ हजार ८ सय ६९ जना मतदाता रहेको जनाएको छ । सबैभन्दा कम कर्णाली प्रदेशमा १० लाख एक हजार २ सय ८२ जना मतदाता छन् । बागमतीमा मतदाता पुरुष १७ लाख चार हजार ८ सय ९८ र मतदाता महिला १७ लाख सात हजार ९ सय ४२ तथा अन्य २९ जना छन् । कर्णालीमा पाँच लाख छ हजार १ सय ८० पुरुष र चार लाख ९५ हजार ९९ मतदाता महिला छन् ।
प्रदेश १ मा दोस्रो सबैभन्दा बढी ३३ लाख ४७ हजार ३ सय ८४ मतदाता छन् । प्रदेश १ मा १६ लाख ९९ हजार ८ सय मतदाता पुरुष र १६ लाख ४७ हजार ५ सय ६१ मतदाता महिला र अन्य २३ जना छन् । मधेस प्रदेशमा १७ लाख ९७ हजार ९ सय ४५ पुरुष र १५ लाख ३३ हजार १ सय ५८ मतदाता महिला र अन्य ६७ जना छन् । लुम्बिनीमा कुल ३२ लाख १९ हजार ४ सय ५७ मतदाता रहेकोमा १६ लाख १८ हजार ७३ पुरुष र १६ लाख एक हजार ३ सय ५२ महिला तथा ३२ जना अन्य मतदाता छन् ।
गण्डकी प्रदेशमा आठ लाख ४४ हजार ४ सय ५२ पुरुष, नौ लाख २४ हजार ९ सय ४८ महिला र ११ अन्य गरी कुल मतदाता १७ लाख ८९ हजार ४ सय ११ जना छन् । सुदूरपश्चिम प्रदेशमा आठ लाख ६ सय ६२ पुरुष र आठ लाख ३१ हजार ४ सय ७० महिला तथा १८ अन्य गरी कुल मतदाता १६ लाख ३२ हजार १ सय ५० जना छन् ।
झन्डै २२ हजार केन्द्र
निर्वाचन आयोगका पदाधिकारीको आइतबार बसेको बैठकले मतदान स्थल र मतदान केन्द्रसमेत तय गरेको छ । देशभरि १० हजार ७ सय ५६ मतदानस्थलमा २१ हजार ९ सय ५५ मतदान केन्द्र तोकिएका छन् ।आयोगका प्रवक्ता पौडेलले सबैभन्दा बढी मधेस प्रदेशमा दुई हजार १ सय ६३ मतदान स्थल तोकिएको जानकारी दिए। मधेस प्रदेशमा चार हजार १ सय ८९ मतदान केन्द्र रहनेछन् । बागमती प्रदेशमा दोस्रो सबैभन्दा बढी एक हजार ७ सय ९२ मतदान स्थलमा चार हजार ९५ मतदान केन्द्र रहनेछन् ।
प्रदेश १ मा एक हजार ८ सय ७७ मतदान स्थलमा चार हजार ५१ केन्द्र, लुम्बिनी प्रदेशको एक हजार ६ सय २९ मतदान स्थलमा तीन हजार ८ सय ३२ केन्द्र, गण्डकीमा एक हजार २ सय ५३ मतदान स्थलमा दुई तीन सय केन्द्र, सुदूरपश्चिममा एक हजार १ सय ३५ मतदान स्थलमा दुई हजार एक सय ३ केन्द्र तथा कर्णालीमा ९ सय ७ मतदान स्थलमा एक हजार ३ सय ८५ केन्द्र तोकिएको आयोगले जनाएको छ ।