आशिष विश्वकर्मा
सिरहा, ६ चैत । नातिनीको विवाह गर्न खर्च जोहो गर्न पालेको सुङ्गुरलाई विष खुवाएर मारिदिएपछि सिरहा सुखीपुर नगरपालिका १० बलही विश्वकर्मा चोकका ५० वर्षीय गणपैत मरिक (डोम) को परिवार बिलखबन्दमा परेका छन् । विष हालेर खोरमा थुनेर पालेको चार वटा माउ सुङ्गुर मारिदिएपछि डोम परिवार बिलखबन्दमा परेका हुन् ।
मरेका माउ सुङ्गुर मात्र अहिलेको बजारभाउमा दुई लाख भन्दा बढी मूल्यको रहेको मरिकले बताए । उनले भने, ‘मरेका माउको मात्र मूल्य दुई लाख होला, त्यसका २५ वटा दुधे बच्चाहरु छन्, अव माउ नै मरेपछि ती बच्चाहरु पनि मर्छ ।’ सुङ्गुर मरेसँगै उनीहरुको नातिनी विवाह गर्ने र ऋण तिरोभरो गर्ने आशामा तुषारापात भएको छ । बढ्दै गरेका बच्चा र गर्भिणी सुङ्गुरहरुले पाउने पाठापाठी बेचेर गर्जो टार्ने योजना कार्यान्वयन हुन नपाउँदै दुःख आईलागेको उनले बताए ।
‘शुक्रबार बेलुकासम्म सद्दे रहेको सुङ्गुरहरु बिहान दाना खुवाउन जाँदा मरेको देख्दा बज्रपात नै भएझैं लाग्यो’ मरिककी श्रीमती सुमित्रादेवी मरिकले भनिन ‘हाम्रो मूख्य आयस्रोत नै सुङ्गुरका माउहरु हुन्, ती नै यसरी मारिदिएपछि म त छाङ्गाबाट खसेजस्तै भयो ।’ सबै सुङ्गुर मरेको देखेपछि आफूलाई भोक प्यास नै हराएको उनले दुखेसको पोखे । मरेकामध्ये एउटा आजभोलि ब्याउने भएको र अर्कोपनि गर्भिणी रहेको मरिकले बताए । बाँचेका एउटा पोथी र एउटा भाले सुङ्गुर पनि बिरामी परेको मरिकले जानकारी दिए ।
गोलबजार नगरपालिका १३ डङ्ग्राहाबाट करिब नौ वर्षअघि बसाई सरेर छिमेकी सुखीपुर १० गागन खोला किनारको ऐलानी जमिनमा बस्दै आएका उनले एउटा भालेसहित पाँचवटा माउ सुङ्गु पाल्दै आएका थिए ।
उनीहरुले आफ्नो सुङ्गुरलाई विष ख्वाएरै मारेको दावी गर्दै आएका छन् । मरिक परिवार सुंगुर मर्नुको कारण पत्ता लगाएर घटनामा संलग्नहरुलाई कारबाही र क्षतिपूर्तिको मागसहित जिल्ला प्रहरी कार्यालय सिरहा पुगेका छन् ।
जिल्ला प्रहरी कार्यालयले आइतबार भेटेरीनरी प्राविधिकले पोष्टमार्टम गरेकाले त्यसको रिपोर्ट आएपछि घटना बारे एकिन भन्न सकिने जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी सुवास बुढाथोकीले पोष्टमार्टम भएपछि मृत्युबारे थप खुल्ने बताए । उनले घटना प्रकृतिक मुचुल्का बनिसकेको र घटनाबारे अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।
मरिक त्यहाँ बस्न थालेपछि बस्तीपनि बढ्दै गएको र उनलाई बस्तिकाहरुले पटक पटक त्यहाँबाट अन्यत्र जान दवाव दिने गरेको मरिकले बताए । उनले भने, ‘हामीलाई सानो जात भएर, घर अगाडि सुङ्गु पालेर बस्न पाईँदैन यहाँबाट अन्यत्रै जाउ, भन्दै दवाव दिने गरेको छ ।’ सानो दुई वटा छाप्रोमा दुई छोरा, दुई बुहारी, नातानातिना सहित १४ जनाको परिवार बस्दै आएका छन् ।