वीरगञ्ज, २२ फागुन । सिर्सिया नदिलाई प्रदुषण मुक्त बनाउने आवाज उठेको आजदेखि हैन । विगत ३ दशकभन्दा लामो समयदेखि सिर्सिया नदिलाई प्रदुषण मुक्त बनाउन उठ्दै आएको आवाज गौन छ ।
स्थानीय, नागरिक समाजका अगुवा, समाजसेवी, बुद्धिजिवि, राजनीतिज्ञ, सञ्चारकर्मीसँगै वातावरण संरक्षणको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरुले समेत चालेका पहलहरु प्रभावहिन देखिएका छन् । स्थानीय प्रशासनदेखि स्थानीय सरकारले पनि देखावटी रुपमा योजना ल्याएको जस्तै गरेर जनताको आँखामा छारो हाल्ने गरेका छन् । सरोकारवाला निकायले सिर्सिया नदिलाई प्रदुषण मुक्त बनाउने विषयलाई नजरअन्दाज गरेको सहजै बुझ्न सकिन्छ ।
निरन्तर दवावका कारण पनि प्रदुषण न्युनिकरण हुनुपर्नेमा उल्टै प्रदुषण बढ्दै जानुका साथै अतिक्रमणको चपेटामा सिर्सिया नदि च्यापिदै गएको छ । संघियता स्थापनापश्चता स्थानीय सरकारले यसलाई गाम्भियर्ताका साथ योजनाबद्ध ढंगले अगाडी बढाउने आशा पनि निराशामा बदलिएको छ ।
नदि सेरोफेरोका बस्तीहरुमा र नदि छेउको सडकखण्डमा आवतजावत गर्न पनि दुर्गन्धले असहज हुने नदिमा कुनै बेला नुहाउने र पिउने पानी थियो भन्दा पत्यार नलाग्न सक्छ । हुन त लागोस् पनि कसरी ?
बारा, पर्साको औद्योगिक करिडोरमा रहेका साना ठूला गरी ४६ उद्योग उत्सर्जित हुने प्रदुषित रसायनयुक्त पानी र फोहोर पदार्थ प्रशोधन नगरि सिधै नदीमै उत्सर्जन हुँदा नदिको यो दुरावस्था आएको हो । औद्योगिक कोरिडोरमा रहेका छाला, डिस्टीलरी, टेक्सटाइल, घ्यू, साबुन लगायतका उद्योगबाट निस्कने रसायनयुक्त पानीसँगै जीवजन्तुका सडेगलेका छाला, रौं, खरानी, लेदो लगायतका विकारहरू नदीमै मिसाउँदा नदि प्रदुषित बनेको हो ।
वीरगन्ज महानगरपालिकाले पनि शहरको ढल र नालाको दुर्गन्धित पानी सिधै नदीमै मिसाउने गरेको छ ।
नदीको प्रदुषणले बारादेखि पर्सा मात्रै नभएर सिमावर्ती शहर भारतको रक्सौलसम्मका करिब ३ दर्जनभन्दा बढी गाउँ र बस्तीका बासिन्दाहरु प्रभावित हुँदै आएका छन् । मानिसमा मात्रै नभएर पशु चौपायमा समेत नदि प्रदुषणको असर देखिन थालेको स्थानीय बताउँछन् ।
नदि प्रदुषण गरेको भन्दै वि.स. २०७५ कार्तिक ९ गते पर्सा जिल्ला अदालतमा वीरगञ्ज महानगरपालिकासहित विभिन्न उद्योगहरुको विरुद्ध अधिवक्ता सुरेन्द्र कुर्मीले मुद्दा दायर गरेका थिए । उनै कुर्मीको नेतृत्वमा वीरगञ्जको घण्टाघरमा आज (आइतवार) देखि २ दिने धर्ना सुरु भएको छ । १० बुँदे मागसहित धर्ना बसेका कुर्मीले नदिलाई सफा बनाएरै छाड्ने अडान राखेका छन् ।
वीरगञ्ज महानगरपालिकाभित्रका सम्पुर्ण नालाहरुको फोहोर पानीलाई प्रशोधिन गरेर मात्रै नदीमा फाल्ने व्यवस्था गर्नुपर्ने, छाला र मासु उद्योगहरुले रौँ, जिवावशेष र विभिन्न रसायनयुक्त पदार्थहरुलाई नदिमा फाल्न बन्द गर्नुपर्ने, उद्योगबाट निस्किने छाई र दुषित पानीलाई नदिमा मिसाउन नदिने, सिर्सिया नदि अतिक्रमण मुक्त बनाउने स्वच्छता कर वीरगञ्जलाई प्रदुषणमुक्त बनाउने कार्यमा लगानी गर्नुपर्ने उनीहरुको माग छ । हरेक २ सय मीटरको दुरीमा सार्वजनिक शौचालयको निर्माण र हाल सञ्चालित शौचालयको पुर्ण सरसफाईको व्यवस्था गर्नुपर्ने माग पनि अभियानकर्ताहरुले अघि सारेका छन् ।
अभियानमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि समर्थन जनाएको छ । लोसपा वीरगञ्ज महानगर कमिटीका अध्यक्ष ओमप्रकाश सर्राफले नदि सफा भएमा यसले वातावरण पनि सफा बनाउन सघाउ पुग्ने बताए । नदिलाई प्रदुषण मुक्त बनाउन सबैले हातेमालो गर्नुपर्नेमा उनले जोड दिए ।
नदिलाई प्रदुषण मुक्त बनाउनका लागि दलिय धारभन्दा माथि उठ्नुपर्ने लोसपाकी नेतृ एवम् वीरगञ्ज महानगरपालिकाको उपप्रमुखकी उम्मेदवार रम्भा मिश्राको भनाई छ । यो पार्टीको एजेण्डा नभएर आम नागरिकको र पर्सेलीको एजेण्डा भएकाले सबैले साथ दिन मिश्राले आग्रह गरिन् ।
वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाईले पनि सिर्सिया नदि प्रदुषण मुक्त अभियानमा ऐक्यबद्धता जनाएका छन् । देशमा भएका हरेक परिवर्तनहरुमा युवाको अहम् भूमिका रहेको हुँदा यो अभियानमा पनि युवाहरु सहभागी हुनुपर्ने चौगाईले बताए । उनले भने, ‘परिवर्तन एकैपटक हुँदैन, समय लाग्छ । हामी निरन्तर आवाज उठाउँदै आएका छौँ । परिवर्तनका लागि युवा शक्ति एकजुठ हुनुपर्छ ।’
आइतवार बिहान १० बजेदेखि सुरु भएको धर्नालाई भोली पनि निरन्तरता दिने अभियानका संयोजक कुर्मीले जानकारी दिए ।