- दिनेश गजमेर
धरान/ देशकै सबै भन्दा धेरै दलित समुदायको जनसंख्या रहेको मधेश प्रदेशमा वर्षेनी दलित समुदाय माथि हुने विभेदका घटना बढ्दै गएको छ । मधेश प्रदेशमा जातीय भेदभाव तथा छुवाछुतका घटना बढी हुने गरेको एक अध्ययनले देखाएको छ ।
केही दिन अघि इन्सेक नेपालले सार्वजनिक गरेको नेपाल मानव अधिकार वर्ष २०२२ का अनुसार वर्षेनी अधिकार हनन्का घटनाहरुमा कुनै कमि आउन सकेको छैन् । पुस्तकका अनुसार पछिल्लो चार वर्षमा दलित समुदायका ६२ जनाको हत्या भएको छ भने २ सय ४९ जना माथि बलात्कार भएको छ । तथ्यांक अनुसार सन २०१८ मा मधेश प्रदेशमा ११ जनाको हत्या भएको थियो भने सन २०२१ मा ११ जनाकै हत्या भएको छ । सबै भन्दा बढी सन २०२० र २०१९ मा २०÷२० जनाको हत्या भएको थियो । जिल्लागत हेर्दा सबै भन्दा धेरै धनुषामा २०, सिरहामा १२, सप्तरीमा ७, सर्लाही ८, रौतहट ५, बारा ३ र पर्सामा ४ जनाको हत्या भएको देखिएको छ ।
यता बलात्कारका घटनामा पनि कुनै कमि आएको छैन् । प्रतिवेदनको तथ्यांक अनुसार चार वर्षको अवधिमा भएका २ सय ४९ वटा बलात्कारका घटना मध्ये १ सय ८४ बालिका र ६५ महिला बलात्कृत भएका छन् । २०१८ मा ४० जना, २०१९ मा ६२, २०२० मा ८६ र २०२१ मा ६१ जना दलित महिला तथा बालिका बलात्कृत भएका छन् ।
बलात्कारको घटना सबै भन्दा धेरै सिरहामा ७३ वटा भएको छ । त्यस पछि सप्तरीमा ४४, धनुषामा ३९, महोत्तरी २५, सर्लाही ५, रौतहट २५, बारा १३ र पर्सामा २५ वटा बलात्कारका घटना भएको उल्लेख छ । बलात्कारको प्रयासमा ३१ जना महिला र यौन दुव्र्यवहार घटनामा ६२ जना बालिका पिडित भएका छन् ।
प्रदेशमा प्रहरी हिरासतमा गएको दुई वर्षमा मृत्यु भएका तिनै जना दलित समुदायका रहेका रहेका छन् रौतहटमा एक र धनुषामा दुई जना दलित युवाहरुले हिरासतमै मृत्यु भएको थियो । हिरासतमा मृत्यु हुनेमा रौतहत जिल्ला गरुडा नगरपालिका ८ का १९ वर्षिय विजय महराको इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा भएको थियो । हिरासतमा प्रहरीले दिएको यातनाका कारण नेशनल मेडिकल कलेज बिरगंजमा उपचारका क्रममा उनको २०७७ भदौ ११ गते मृत्यु भएको थियो ।
त्यसै गरि धनुषा जिल्लाको इलाका प्रहरी कार्यालय सबैला प्रहरी हिरासतमा २२ वर्षिय शम्भु सदाको २०७७ जेठ २८ गते शौचालयमा पासो लगाएर झुण्डिएको अवश्थामा शव फेला परेको थियो । उनले चलाएको ट्याक्टर दुर्घटना हुँदा एक स्थानीयको मृत्यु भएको थियो । त्यस्तै धनुषाकै लक्ष्मीनियाँ गाउँपालिका २ सिनुरजोडाका ४० वर्षिय पल्टु रविदासको २०७८ साउन १५ गते जिल्ला प्रहरी कार्यालय धनुषाको थुनुवा कक्ष भित्र रहेको शौचालयमा पासो लगाएर झुण्डिएको अवश्थामा शव फेला परेको थियो । विभिन्न आरोपमा गिरफ्तार परेका उनीहरुको प्रहरी हिरासतमै मृत्यु हुनुमा पिडित परिवारले प्रहरीको कुटपिट तथा यातनाका कारण भएको आरोप लगाएका छन् ।
दलित महिला माथि बोक्सीको आरोपमा दुव्र्यवहार पनि मधेश प्रदेशमै बढी हुने गरेको तथ्यांकमा देखिएको छ । प्रतिवेदनका अनुसार सन २०१८ देखि २०२१ सम्मा १४ जना दलित महिला माथि कथित बोक्सीको आरोप लगाएर दिशा कोच्याउने, कुटपिट तथा अमानवीय व्यवहार गरिएको छ ।
इन्सेकको तथ्यांक अनुसार सन २०१७ देखि २०२१ सम्म मधेश प्रदेशमा जातीय छुवाछुतका घटनामा ५ महिला र १८ पुरुष गरि २३ जना पिडित भएका छन् । यस अवधीमा सात वटा घटनाको मात्रै प्रहरीमा उजुरी परेको छ ।
सार्वजनिक को तथ्यांक अनुसार सन २०२० मा सामाजिक आर्थिक र मानव अधिकार हनन्का घटनामा जातजातिका आधारमा पिडित ७ सय ७८ मध्ये सबै भन्दा धेरै दलित समुदायका १ सय ८८ जना थिए । करिब २४ दशमलव १६ प्रतिशत रहेको थियो ।
देशका सातै प्रदेश मध्ये १७ दशमलव २९ प्रतिशत जनसंख्या रहेको मधेश प्रदेशमा जातपात र छुवाछुतका नाममा दलित माथि विभेदका घटनाहरु बढ्दै जानुमा राज्यका हरेक निकायमा तथा निती निर्माणको तहमा दलित सहभागिता नहुनुनै रहेको प्रतिवेदनले निश्कर्ष निकालेको छ । -कोशीपत्र