• किरण कर्ण
आइतबार अबेर उच्च अदालत जनकपुरले जनकपुर बम काण्डका सम्बन्धमा फैसला गरेलगत्तै सो घटनाका पीडितहरु मर्माहत भएका छन् । उच्च अदालत जनकपुरले धनुषा जिल्ला अदालतको फैसलालाई उल्ट्याउँदै मुख्य योजनाकारको जन्मकैदको सजायलाई घटाएर सात वर्षसम्मको सजाय सुनाएको छ । उच्च अदालतको यो फैसलाले मिथिला आन्दोलनका सहिद परिवारदेखि घाइतेहरूसमेत निकै आक्रोशित बनेका छन् । उनीहरु उच्च अदालतको सो फैसलालाई पुनरावेदनको माग गर्दै सर्वोच्च अदालतमा जाने बताउँछन् ।

के हो जनकपुर बम काण्ड ?

पहिचान, अधिकार, सांस्कृतिक र भाषाको संरक्षण तथा सम्वर्द्धनका लागि भन्दै २०६८÷०६९ मा मिथिला राज्य संघर्ष समितिले शान्तिपूर्ण आन्दोलनको घोषणा गरेको थियो । मिथिला राज्यको माग गर्दै मिथिला अभियानीले ०६९ वैशाखदेखि शान्तिपूर्ण आन्दोलनलाई निरन्तरता दिँदै चोकचोकमा धर्ना, कविता वाचन, चक्का जाम लगायतका आन्दोलनका कार्यक्रम गरेका थिए ।०६९ वैशाख १८ गते मिथिला अभियानीले रामानन्द चोकमा शान्तिपूर्णरुपमा चक्का जामसहित सडकमै धर्ना दिए । बिहान करिब ८ बजेदेखि १० सम्मका लागि सुरु भएको चक्का जामसहितको धर्ना कार्यक्रम समापन हुन केही क्षणमात्र बाँकी थियो । धर्नाकारीहरुको छेउमै गएर कसैले एउटा मोटरसाइकल रोक्यो । धर्ना समापनलाई कोणसभामा परिणत गर्ने आन्तरिक तयारीमा अभियन्ताहरु लागिरहँदा केही बेरमै एक्कासी बम विस्फोट भयो ।

विस्फोटबाट ५ जनाको घटनास्थलमै मृत्यु भयो । ३३ जना गम्भीरदेखि सामान्य घाइते भए । यिनै घाइतेमध्येका एक थिए धीरेन्द्रमोहन झा । विस्फोटबाट बेहोस भएका उनलाई निकै बेरपछि होस आयो । उनकै अगाडि मिथिला अभियानी रञ्जु झा रगतले लतपतिएको अवस्थामा ढलेकी थिइन् । अगाडि बढ्न खोज्दा आफू घाइते भएको चाल पाए । देब्रे हातका तीन वटा औंला नै थिएनन् भने ढाडबाट पनि रगत बगिरहेको उनले पाए ।

मुलुक संघीयतामा गइसकेपछि पनि आफूहरुले मिथिला–मैथिलीको पहिचान, सांस्कृतिक अधिकार, भाषा सहितको माग गर्दै मिथिला राज्यको स्थापनाका लागि शान्तिपूर्ण आन्दोलन गरेको उनको भनाइ छ । तर यस्तो आन्दोलनमा आफूलाई हिंसाको निशाना बनाइएको उनले बताए । यतिमात्र होइन, बम विस्फोटमा संलग्नलाई नेपालको कानुन अनुसार सर्वस्वसहित जन्मकैदको फैसला हुनुपर्नेमा उच्च न्यायालयले उल्टै तल्लो अदालतको सजायलाई समेत घटाएकोमा निकै पीडा भएको उनी बताउँछन् ।

बम विस्फोटमा मारिएकी रञ्जु झाका छोरा अंशु झाले फाँसी दिनुपर्ने अपराधीलाई सात वर्षको सजाय तोकेर पीडितप्रति नै व्यङ्ग्य गरिएको बताउँछन् । उनी भन्छन्, ‘अपराधीलाई कुनै पनि बहानामा छाड्न मिल्दैन । धनुषा जिल्ला अदालतले गरेको जन्मकैदको फैसला पनि यस्ता अपराधीका लागि कम नै हो । उच्च अदालतले सात वर्षको कैद सजाय फैसला सुनाउनु कुनै पनि अर्थमा उचित होइन, यसको विरुद्ध हामी सर्वोच्च अदालतमा जानेछौँ ।’
सो बमकाण्डमा ज्यान गुमाएकी आफ्नी आमालाई सरकारले सहिद घोषणा गरेको र १० लाख रुपैयाँ क्षतिपूर्ति दिएको उनले सुनाए । उनी भन्छन्, ‘म भन्छु मेरो आमा देऊ, म १० लाख रुपैयाँ दिन्छु ।’
बम विस्फोटबाट घाइते भएका मिथिला अभियानी धीरेन्द्रमोहन झाले उच्च अदालत जनकपुरको फैसलाप्रति असन्तुष्टि जनाए । उनले भने, ‘बर्बर हत्या गर्ने वा गराउनेलाई कुनै पनि बहानामा छाड्नु भनेको अदालतमाथि प्रश्न उब्जिनु हो । अदालतको बारेमा हामीले पत्रपत्रिकामा पढ्ने कुरा सही नै हो जस्तो लाग्न थाल्यो । अदालत पनि सेटिङमै चल्दो रहेछ भन्ने पुनः प्रमाणित भयो ।’
उच्च अदालतले जिल्ला अदालतको सजायलाई के आधारमा घटायो भन्ने आफूहरुले बुझ्न नसकेको उनले बताए । आफूहरु सर्वोच्च अदालतमा यसविरुद्ध पुनरावेदन गर्ने उनको भनाइ छ ।
धनुषा जिल्ला अदालतको फैसलाविरुद्ध अभियुक्त पूर्व राज्यमन्त्री संजय साहले उच्च अदालत जनकपुरमा दायर गरेको रिट निवेदनमाथि सुनुवाई गर्दै न्यायाधीशद्वय धीर बहादुर चन्द र रमेश ढकालको संयुक्त इजलासले सात वर्ष सजायको फैसला गरेको छ ।
उच्च अदालतका राजिष्ट्रार खड्कराज अधिकारीले साहमाथि ज्यान मार्ने उद्योग र कर्तव्य ज्यान मुद्दा चलेको जनाएका छन् । ज्यान मार्ने उद्योग रहेकाले धनुषा जिल्ला अदालतले गरेको जन्मकैदको फैसलालाई उल्ट्याउँदै सात वर्षको सजाय हुने फैसला गरिएको उनको भनाइ छ ।
सो विस्फोटमा मिथिला आन्दोलनको योद्धा एवं प्रतिभावान् कलाकार रञ्जु झाका अतिरिक्त सुरेश उपाध्याय, दीपेन्द्र दास, झगरू मण्डल र बिमल शरणको मृत्यु भएको थियो ।                                                   रातोपाटी अनलाईनबाट ।