गमक पोष्ट समाचारदाता / सप्तरी, ३ साउन । अनुगमन, मूल्याङ्कन, जवाफदेहिता र सिकाई (मिल) प्रणाली पारदर्शिता एवम् जवाफदेहिता कायम गर्नका लागि गैरसरकारी सामाजिक संस्था र लाभग्राही बीचमा पुलको रुपमा काम गरीरहेको पाइएको छ ।
गैरसरकारी संस्थाहरुद्वारा संचालित विभिन्न कार्यक्रम एवम् क्रियाकलापहरुका सन्दर्भमा संस्थाले उपलब्ध गराउने जानकारी लाभग्राहीको लागि उपयोगी भएपछि यस्तोदेखिएको हो । गैरसरकारी संस्थाहरुद्वारा सप्तरीमा संचालित परियोजना सम्वन्धमा लाभग्राहीहरुसंगको अन्तरक्रिया मार्फत मिल प्रणाली उपयोगी पुलको रुपमा देखिएको छ ।
मिल प्रणाली अन्तर्गत कुनै क्रियाकलाप कहिले हुने हो, को–को सहभागी हुने हो, कति समयको कार्यक्रम हो, छलफलको विषयहरु के–के हुन्, कार्यक्रमको खर्च कति हो, कुन–कुन शीर्षकमा खर्चको व्यवस्था गरिएको हो, सहभागीहरुलाई कति दिन पहिले कुन माध्यमबाट जानकारी गराइएको हो लगायतका विषयमा क्रियाकलाप संचालन गर्नु पूर्व नै लाभग्राहीलाई जानकारी दिइने हुँदा यो पारदर्शिता एवम् जवाफदेहिताको पुलको रुपमा स्थापित भएको हो । सेभ द चिल्ड्रेनको साझेदारीमा सप्तरीको सुरुङ्गा र खडक नगरपालिकामा सबल नेपालद्वारा संचालन भइरहेको कार्यक्रमहरुमा मिल प्रणाली अन्तर्गत उपयोगी जानकारीहरु दिने गरेकोमा लाभग्राहीहरुले सोको प्रशंसा गरेका छन् । सुरुङ्गा नपा २, भेडिया बस्ने बाल विकास केन्द्रकी शिक्षिका शान्ति चौधरीका अनुसार कार्यक्रममा भाग लिदा सहभागीहरुको मनमा रहने सेवा सुविधाको बारेमा सहभागीहरुले सोध्नु भन्दा पहिले नै जानकारी गराइदिए पछि प्रष्ट हुने गरेको र यसले इमान्दार पनि बनाएको छ ।
“टोल फ्रि मार्फत बिना पैसा मनको कुरा भन्न पाइने र कुनै कुरा सोध्न, बुझ्न, सुझाव दिन एकदमै राम्रो भएको छ” शिक्षिका चौधरी भन्छिन्–“बाल संरक्षण नीति लागु भएपछि यसको राम्रो प्रभाव छ, कक्षा कोठामा शिक्षकहरुले लाठी नलिई जानु हुन्नथ्यो तर आज भोली कुनै कक्षामा लठ्ठी भेटीदैन ।”
मिल प्रणाली अन्तर्गत निःशूल्क टोल फ्रि मार्फत लाभग्राहीहरुको प्रतिक्रिया, सल्लाह, सुझाव, जिज्ञासा, गुनासो प्राप्त गरिन्छ भने जवाफदेहिता बोर्ड, होर्डिङ्ग बोर्ड, बाल संरक्षण नीति लगायतको माध्यमबाट कार्यक्रम बारे जानकारी दिइन्छ । सबल नेपालको मिल अधिकृत अमित कुमार शाहका अनुसार टोल फ्रि मार्फत आएका कुराहरु दर्ता गरिन्छ तर फोन गर्नेको नाम गोप्य राखिन्छ । लाभग्राहीको अनुमतिमा मात्रै उहाँको नाम सम्वन्धित ठाउँमा पठाइन्छ । कुनै गुनासो सामान्य होस् वा गम्भीर फोन गर्नेको नाम भनिदैन । यसले मिल प्रणालीको प्रभावकारिता बढाएको र यही नै यसको मर्म रहेको छ ।
“जवाफदेहिता बोर्ड मार्फत क्रियाकलाप संचालन हुने दिन, समय, उद्देश्य, सहभागी, गुणस्तर मानक, बिनियोजित बजेट, टोल फ्रि नं., फोन गर्ने दिन र समय बारेमा जानकारी दिन्छौं” मिल अधिकृत शाह भन्छन्–“त्यस्तै, होर्डिङ्ग बोर्डमा गुनासो गर्न सक्ने अवस्थाहरु, टोल फ्रि नं., फोन गर्ने दिन र समय लगायतका बारेमा हामीले जानकारी दिएका हुन्छौंअनि बाल संरक्षण नीतिमा बालबालिकालाई गर्न नहुने कुराहरु लेखिएको हुन्छ ।”
खडक न.पा.४ पंसेरामा रहेको सामुदायिक बाल क्लवको सदस्य मञ्जुला कुमारी साहले टोल फ्रि मार्फत बालबालिकाहरुले सोध्ने कुराहरु समयमा नै उत्तर पाउने गरेकोले धेरै खुशी लागेको बताएकी छन् । उनी भन्छिन्–“सबल नेपालमा चिठी मार्फत, त्यहाँको कर्मचारीलाई भेटेर र फोन मार्फत आफ्नो कुरा भन्न सकिन्छ र हाम्रो बाल क्लवको सदस्यले फोन मार्फत कार्यक्रम बारे सोध्दा छिटै उत्तर पाएकोमा धेरै राम्रो लागेको छ ।”
सुरुङ्गा–७, बसनपट्टीमा रहेको राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक उग्रनारायण चौधरीले पनि मिल प्रणालीलाई उपयोगी देख्छन् ।उनका अनुसार कुनै काम संचालन गर्दा शंका उपशंका लागेमा मनमा लागेको कुराहरु फोन मार्फत भन्न पाउँदा धेरै सजिलो भएको साथै कुनै सामाग्रीमा गुणस्तर नभएमा सुझाव दिन सकिने हुँदा अपनत्वको बोध भएको छ ।
मिल प्रणालीबाट उपयोगी जानकारीहरु पाए पछि खडक नपा २, गरुराहामा रहेको लक्ष्मी कृषक समुहकी प्रमेश्वरी देवी राम दंग छिन् । उनी भन्छिन्–“मिल प्रणालीले हाम्रो समुह र सबल नेपाल साथै सेभ द चिल्ड्रेन संग नजिक बनाएको छ । हामीहरुले पाउनुपर्ने सेवा सुविधाहरुको सजिलै जानकारी पाउन सकिन्छ ।कुनै गुनासोहरु गोप्यताका साथ सुनाउन पाइने भएकोले यो कुरा धेरै नै राम्रो हो ।”