गमक पोष्ट समाचारदाता / सिरहा, १ वैशाख । कोभिढ १९ को जोखिम विच ऐतिहासिक धार्मिक पर्यटकीय स्थल सलहेश फुलबारीमा पूजा अराधना गर्ने श्रद्धालु भक्तजनहरुको आज विहानैदेखि ठूलो भीड लागेको छ ।
जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमण फेरी फैलिन थालेकाले हाट बजार तथा मेला नलगाउन अनुरोध गरेपनि सिरहाको गोलबजार र लहान २२ मा प्रत्यक नयाँ वर्षको दिन लाग्ने धार्मिक तथा पर्यटकिय मेला भिडभाडका साथ लागेको हो ।
सरकारले भिड भाड नगर्न र विहिर हिड्नै परे माक्स लगाएर हिड्न अनुरोध गरेपनि सरकारी व्यवहारले सर्वसाधारण निडर भएका छन् । सरकार आफै भिडभाड नगर्न अनुरोध गर्ने अनी मन्त्रीहरुचाँही कार्यकर्ता जम्मा गरेर भाषण ठोक्दै हिडेकाले उनको अनुरोध सर्वसाधाण जनताले नपत्याएको मेलामा उपस्थित सर्वसाधारणले बताए ।
उनलेभने, ‘कोरोना पुनः फैलिएर जोखिम बढेको छ, तर सरकारी रवैयाका कारण सर्वसाधारण जोखिमको आँकलन गर्न सकिरहेको छैन, त्यसैले सरकारले आफ्नै कार्यशैली सुधार गर्नु जरुरी छ ।’
उनले प्रतिप्रश्न गर्दै भने । के मन्त्रीले कार्यकर्ता भिड गर्दा कोरोना नसर्ने हो र ?
लहान १ का नथुलाल चौधरीले आफू मेला हेर्नकै लागि काठमाडौंबाट आएको भन्दै त्यति टाढाबाट आएपछि एक पटक त यहाँ आउनै पर्यो नी ।
लहान नपा २२ मा १२ विघा क्षेत्रफलमा फैलिएको सलहेश फुलबारीभित्र रहेको राजा सलहेश र मालिनीको मन्दिरमा पूजा अराधना गर्ने मन्दिरसँगै टाँसिएको हारम जातको रुखमा प्रत्येक वर्ष नयाँ वर्षमा मात्र फुल्ने फुलको अवलोकन गर्न आउने भक्तजनको भीड यो वर्ष पनि देखिएको छ ।
तराईका दुसाद जातिका इष्टदेव मानिने सलहेशको पूजा अराधना गर्नाले मनोकांक्षा, आरोग्यता, सन्तान प्राप्ति र सलहेशको मन्दिरमा भाण्टा चढाउनाले चर्मरोग निको हुने जनविश्वासका कारण देश विदेशबाट हजारौंको संख्यामा भक्तजनहरुको ओइरो लागेको हो ।
सलहेश गाथामा उल्लेख भएअनुसार सोह्र शताब्दीको लोकनायक सलहेश र विराट राजाकी छोरी मालिनीबीच प्रगाढ प्रेम सम्बन्ध रहेको प्रेम असफल भएपछि मालिनीको सम्झनामा फुलबारीभित्र हारम रुखमा फूलको माला झण्ड्याइदिएकोले प्रेम प्रतिक त्यही हारमको रुखमा मात्र नयाँ वर्षको वैशाख १ गते फुल्ने गरेका पूजारी हरिसिंहदेव दनुवार वताउँनु हुन्छ ।
प्रत्येक नयाँ वर्षको दिन मात्र फुल्ने सुनाखरी जातको फुलको अवलोकन र दुर्लभ जातिको जडिबुटी खोज्न सिरहा, सप्तरी, धनुषा, सुनसरी लगायत भारतको विहारबाट हजारौंको संख्यामा सर्वसाधारण आउने गर्दछ । गत वर्ष पनि कोरोनाका कारण नलागेको मेला यो वर्ष पनि विगतको तुलनामा कम लागेको स्थानीयहरु बताउँछन् ।