काठमाडौं, १८ कात्तिक । प्रदेश र स्थानीय तहलाई मन परेका कर्मचारी ल्याउन र मन नपरेका कर्मचारी पठाउन पाउनेगरी सरकारले प्रदेश र स्थानीय तहमा कर्मचारीको आकर्षण बढ्ने गरी अन्तर प्रदेश तथा अन्तर स्थानीय तहमा कर्मचारी सरुवा हुन पाउने नीतिगत निर्णय गरेको छ । अब प्रदेश र स्थानीय तहले कुनै कर्मचारी आफूलाई मन परेन भने अन्यत्र पठाउने र आफूलाई मन पर्ने कर्मचारी पनि ल्याउन सक्ने बाटो खुला गरेको हो ।
त्यस्तै प्रदेश र स्थानीय तहमा समायोजन भइसकेका कर्मचारीलाई पनि यसअघि समायोजन भएको कार्यालय मन परेको छैन भने आफूलाई पायक पर्ने कार्यालयमा जान पाउनेछन् ।
गत भदौ १ गते यस सम्बन्धी मन्त्रिपरिषद्ले नीतिगत निर्णय गरेपछि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अन्तर स्थानीय तह र अन्तर प्रदेश सरुवाको तयारी सुरु गरेको हो ।
सङ्घका कर्मचारी स्थानीय र प्रदेश तहमा जाँदा एक तह वृद्धि र ग्रेड थप हुने भएकाले अवकाश हुँदा पेन्सन वृद्धि हुने भएकाले सङ्घका कर्मचारी प्रदेश तथा स्थानीय तहमा जाने आकर्षण देखिएको थियो । कतिपय कर्मचारी पेन्सन बढाउन मात्र प्रदेश तथा स्थानीय तहमा जान सक्ने भएकाले कम्तीमा तीन वर्ष सेवा अवधि बाँकी भएका कर्मचारीलाई मात्र समायोजनमा पुनः अवसर दिन लागिएको हो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव राजीव पोखरेलले मन्त्रिपरिषद्को निर्णयलाई आधार मानेर मन्त्रालयले एउटा मापदण्ड निर्माण गर्न लागेको र सो मापदण्ड निर्माण भएपछि सङ्घका कर्मचारी स्थानीय तह र प्रदेशमा जान चाहे बाटो खुल्ने बताए ।
उनले भने, “सङ्घमा भन्दा प्रदेश र स्थानीय तहका कर्मचारीको तलब धेरै भएकाले अवकाश हुनुअघि तल्लो तहमा समायोजन हुँदा उनीहरूको पेन्सन बढ्छ । पहिला समायोजनका क्रममा प्रदेश र स्थानीय तहको आकर्षण नबुझेर कतिपय कर्मचारीले सङ्घमै रोजेकाले अहिले उहाँका लागि थप सहज बनाउन लागिएको हो ।”
अहिलेसम्म मन्त्रालयमा सङ्घमा भएका करिब चार सय कर्मचारीले प्रदेश र स्थानीय तहमा जान पाऊँ भनी निवेदन दिएका छन् । यो निर्णयसँगै सङ्घमा भएका करिब एक हजार कर्मचारी प्रदेश तथा स्थानीय तहमा सरुवा हुने अपेक्षा मन्त्रालयको छ ।
निर्णय प्रमाणीकरण हुन ढिलाइ भएकाले मन्त्रिपरिषद्ले गरेको निर्णय कार्यान्वयनमा ढिलो भएको तर अब छिट्टै निर्णय अगाडि बढ्ने मन्त्रालयले जनाएको छ । यसअघि समायोजन भइसकेका कर्मचारीको अन्यत्र सरुवा गर्ने कुनै प्रावधान थिएन ।
मन्त्रिपरिषद्को यो निर्णयसँगै सम्बन्धित स्थानीय तह तथा प्रदेश सरकारको सहमतिमा मात्र सरुवा हुनेछ । यसले समायोजनमा भएका कमजोरी सच्याउने मन्त्रालयको विश्वास छ । प्रदेश र स्थानीय तहमा आवश्यकताभन्दा कम र सङ्घमा आवश्यकताभन्दा धेरै कर्मचारी भएकाले सरकारले समायोजित कर्मचारीलाई अन्तर प्रदेश वा अन्तर स्थानीय तह जान पाउने व्यवस्था गरेको हो । सङ्घमा आवश्यकताभन्दा धेरै कर्मचारी हुँदा कतिपय कर्मचारी जिम्मेवारी विहीन रहँदै आएका थिए ।
कतिपय स्थानीय तहले भने अन्तर प्रदेश तथा स्थानीय तहमा सरुवा हुन पाउने व्यवस्थाप्रति असहमति जनाएका छन् । सङ्घीय संरचनामा कर्मचारी सरुवामा केन्द्रीय सरकार नै हावी हुन लागेको भन्दै कतिपय स्थानीय तहले विरोध गरेका हुन् । स्थानीय र प्रदेशमा समायोजन भइसकेका कर्मचारी पुनः अन्यत्र सरुवा हुँदा नयाँ आउने कर्मचारीलाई स्थानीय तहको कामका बारेमा सुरुदेखि नै बुझाउनुपर्ने भएकाले स्थानीय तहको आपत्ति रहेको नेपाल नगरपालिका सङ्घका महासचिव भीम ढुङ्गानाले बताए ।
सम्बन्धित प्रदेश तथा स्थानीय तहले सहमति नदिएसम्म सरुवा नहुने भएकाले यसमा सङ्घको हस्तक्षेप हुने सम्भावना नभएको मन्त्रालयले जनाएको छ ।
कर्मचारीको समायोजनका क्रममा सङ्घमा करिब ४९ हजार कर्मचारीको दरबन्दी कायम भएको थियो । त्यस्तै स्थानीय तहमा ६७ हजार, प्रदेश तहमा २२ हजार पाँच सय दरबन्दी कायम गरिएको मन्त्रालयले जनाएको छ ।