मुकेश कुमार यादब/सिरहा, ५ कात्तिक । सिरहाको नरहा गाउँपालिकाले दशैं मुखमा पनि यहाँ कार्यरत शिक्षक लगायतका कर्मचारीलाई ४ महिनादेखि तलव दिन सकेको छैन । गाउँ कार्यपालीकाको आन्तरिक विवादका कारण आर्थिक वर्ष ०७७÷७८ को परिषद् नभएकाले कर्मचारीलाई तलव खुवाउन नसकिएको गाँपा प्रमुख रामसरण यादवले जनाए ।
दशैं पेश्की सहित ५ महिनाको तलव नपाएपछि कर्मचारी निराश बनेका छन् । शिक्षा शाखा अधिकृत देब शंकर यादबले साउन देखि तलव नपाएको बताए । उनलभने, “दशैंको वेला, खसी बोका, छोरा छोरीलाई लुगाफाटो किन्नु पर्ने अझै तलव हातमा परेको छैन, घर खर्च चलाउन पनि मुस्किल हुन थालेको छ ।”
अधिकृत यादवले शिक्षकहरुले तलव नआएपछि दिनहु फोन गरेर परेसान गरेको बताए । उनलेभने, ‘‘अरु कर्मचारीको जस्तो शिक्षक हुँदैन, ४÷४ महिनाको तलव नपाएपछि मुस्किल भईहाल्छ नी, मलाई दिनहुँ फोन गरेर हैरान लाईरहेको छ ।’’
सार्वजनिक आधारभुत विद्यालय नरहा ३ का प्र.अ. रामनारायण मण्डल शिक्षक कर्मचारीले तलव मागेर हैरान पारेको बताए । उनले भने, “दशैं भित्रिसक्दा पनि तलव पाइएको छैन, शिक्षक कर्मचारीले पनि तलव मागेर हैरान परिसक्यो म त बिलखवन्दमा परेको छु ।”
त्यसैगरी, गाउँपालीमै कार्यरत एक कर्मचारीले दशैं खर्च सहित ५ महिनाको तलव पाउनुपर्ने बेलामा अझै तलव पाउनेमै अन्यौल देखिएपछि समस्या भएको बताए । ‘‘सवै कर्मचारीलाई दशैंमा पेश्की सहितको तलव थाप्ने, दशैंमा बालबच्चालाई नयाँ कपडा किन्ने मन हुन्छ, तर, हामीलाई भने खाईपाई आएको तलव नै समयमा पाएका छैनौं,’’ ती कर्मचारीले भने ।
उनले आजसम्म तलवको अत्तोपत्तो नभएको बताए । उनलेभने, ‘अझै तलव पाउने निकासा हुने कुनै टुङ्गो लागेको छैन, आज कुनै निर्णय भएर तलव हालेपनि दशैंमा त्यो पैसा काम लाग्दैन् ।’ उनले थपे, ‘‘आज ढिलो चाँढो गरी चेक वनेपनि भोली भरदिन चेक पोष्टिङमै जान्छ पर्सि सप्तमीबाट बैंक बन्द हुने भएपछि त्यो तलव दशैंलाई कामै छैन ।’’
गाउँपालीकाका अध्यक्ष राम सरण यादवले गाउँकार्यपालीकाको आन्तरिक विवादका कारण गाउँसभा सम्पन्न गर्न नसकिएकोले समस्या भएको बताए । कर्मचारीको तलव सम्म खुवाउने उपायको बारेमा सल्लाह भईरहेको अध्यक्ष यादवले बताए ।
गाउँपालीकाले अझै पनि बजेट विनियोजन सम्वन्धि परिषद् गर्न नसकेका कारण आफूहरुलाई आर्थिक कारोवार गर्नै समस्या भएको गाउँ पालीकाका प्रमुख प्रशासकिय अधिकृत राजकुमार दासले बताए । उनले भने, ‘हामीलाई अझैसम्म आर्थिक कारोवार गर्ने नगरपारिषद्बाट अख्तियारी नै पाएका छैनौ, तर पनि कुनै विधि प्रकृया अपनाएर कर्मचारीलाई तलव सम्म खुवाउने विषयमा छलफल भईरहेको छ ।’
गाउँ पालीका भित्र शिक्षा, स्वास्थ्य, कृषि, पशु कार्यालय सहित करिव दुई सय शिक्षक कर्मचारी रहेका छन् । अघिल्लो वर्ष पनि नरहा गाउँ पालीकाले समयमा नगरपरीषद् गर्न नसक्दा दशैंमा कर्मचारीको हातमा तलव परेको थिएन् । विवादका कारण सुरुवाती खवस्था देखिनै यो गाउँ पालीकाको परिषद् समयमा हुने गरेको छैन ।