सिरहा, १ असोज । भारतले प्याज निर्यात रोकलगाएसँगै सिरहामा कालोबजारी सुरु भएको छ । लुकाएर महँगो मूल्यमा प्याज बिक्री गरेको आरोपमा सिरहाका विभिन्न ठाउँबाट तीन जना व्यापारीलाई प्रहरीले पक्राउ गर्दै ७४ क्विन्टल भन्दा बढी प्याज नियन्त्रणमा लिएको छ ।

सिरहाको लहान गोलबजार र मिर्चैया नगरपालिकाका तीन वटा व्यापारीले आफ्नो गोदाममा राखेर कालोबजारी गरिरहेको पाइएपछि उनीहरुलाई पक्राउ गर्दै प्याज नियन्त्रणमा लिएको सिराहा प्रहरीले जनाएको छ ।

गोलबजार नगरपालिका ४ मा जय लक्ष्मी सब्जी भण्डारका सञ्चालक मिर्चैया नगरपालिका ५ का ४४ वर्षीय उमेश प्रसाद साह, मिर्चेया नगरपालिका ५ मा जयमाता दी सब्जी भण्डारका सञ्चालक बिनोदकुमार साह र लहान नगरपालिका ३ का गंगा ट्रेडर्सका सञ्चालक रामनारायण नायकलाई प्याज कालोबजारी गरेको आरोपमा पक्राउ गरिएको सिरहाका प्रहरी प्रबक्ता बिनोद घिमिरेले जनाए ।

उनीहरुले लुकाएर राखेको ७४ क्विन्टल ४० किलो प्याज समेत बरामद गरेको उनले बताए । प्याज कालोबजारी गरेको पाइएपछि उनीहरुको पसल र गोदाम समेत सिल गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

इलाका प्रशासन कार्यलय लहान, उद्योग व्यापार संघका प्रतिनिधी, स्थानीय जनप्रतीनिधि तथा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पसलहरु अनुगमन गर्दा कालोबजारी गरेको पाइएको घिमिरेले बताए ।