महाधिवेशन नजिकिएसँगै कांग्रेसभित्र आन्तरिक विवाद चुलिँदो
काठमाडौं, २२ भदौ । नेपाली काग्रेसको १४ औँ महाधिवेशनको मिति नजिकिँदै गर्दा आन्तरिक विवादभने चुलिँदै गएको छ । सभापति शेरबहादुर देउवाले मनलाग्दी पार्टीको विभाग विस्तार गरिरहेको भन्दै देउवा समूह इतर पक्षले असन्तुष्टि जनाउँदै आएका छने । महाधिवेशनलाई प्रभावित गर्ने गरी सभापति देउवाले विभाग गठन गरिरहेको उनीहरुको आरोप छ ।
रामचन्द्र पौडेल र सिटौला पक्षका नेताहरुले सभापतिले आफ्नो निर्णय नसच्याए आफूहरु सभापति विरुद्ध आन्दोलनमा जाने चेतावनी दिएका छन् । उनीहरुले धर्ना दिनेदेखि लिएर आमरण अनसन बस्नेसम्मको चेतावनी दिएका छन् । यता देउवा पक्षका नेताहरुले भने विभाग गठन र शुभेच्छुक संस्थाहरुलाई पूर्णता दिने निर्णय स्वभाविक भएको बताउँदै आएका छन् ।
विधान अनुसारनै सभापतिले कागरेको भन्दै नेता मीन विश्वकर्माले सभापति देउवाका बचाउ गरे । उनले विधान अनुसार ६ महिनाभित्र नै पार्टीका विभागलगायत सबै अङ्गलाई विस्तार गर्ने प्रयास गरे पनि सहमति जुट्न नसकेको विश्वकर्माले बताए । उनले भने, ‘सभापतिलाई कमजोर बनाउन उहाँहरुले सहमति नगर्ने, सहमति नभएपछि निर्णय पनि नहुने अवस्थाको सृजना गर्न खोज्नु भएको हो ।’

सभापतिले सर्वसम्मत निर्णय गरौँ भनेर दबाब दिए पनि पौडेल पक्ष सहमतिमा आउन नचाहेको नेता विश्वकर्माले बताए । उनले भने, ‘सर्वसम्मत निर्णय गरौँ भन्दा सहमति पनि नदिने बहुमतबाट जान्छु भन्दा बहुमतले पार्टी डुबायो भन्ने । देउवाले प्रजातन्त्रको मर्ममाथि आक्रमण ग¥यो भन्ने साथीहरुले आफ्नो पद, व्यक्तित्व र पृष्ठभूमिलाई गिज्याएको देखिन्छ । नेतृत्वमा पुग्ने लक्ष्य राखेका, गौरवशाली इतिहास भएका साथीहरुले यस्तो टिप्पणी नगरेको नै राम्रो हुन्छ । सभापतिले महाधिवेशनको पूर्वसन्ध्यामा यस्ता टिप्पणीहरुलाई सहज रुपमा लिनुपर्छ ।’
कांग्रेसका महामन्त्री शशाङ्क कोइरालाले सभापतिले विधान विपरीत गरेका कामको विरोध गर्दा पनि आफ्ना कुरा नसुन्ने गरेको आरोप लगाए । पार्टीभित्र सभापतिले मनोमानी गरिरहेको उनको भनाइ छ । सभापतिको निर्णय क्षमतामाथि नै प्रश्न उठ्ने गरी विभाग विस्तार गर्ने काम भएको उनले बताए ।
उनले भने, ‘उहाँले मनोमानी गर्नुभयो । सभापतिले गरेका कामहरुको विरोध त गरिसकेका छौँ । उहाँ कुरा सुन्नुहुन्न, महाधिवेशन आउँछ, त्यसमा निर्णय गर्नुप¥यो । किनकि अरु विकल्प छैन । पार्टीमा सबैभन्दा शक्तिशाली व्यक्ति भनेको सभापति हो तर उहाँको निर्णय गर्न सक्ने क्षमतामा प्रश्न आयो । अहिले विभाग गठन भइरहेको छ । यो नौ महिनामा विभाग गठन गरेर के गर्नुहुन्छ ? उहाँले मान्छे आकर्षित गर्नका लागि विभाग गठन गर्नुभयो, भोटका लागि । भोलि महाधिवेशन आउँदैछ, त्यसमा आकर्षित गर्नका लागि विभाग बनाउनुभयो । विभागको सङ्ख्या दिन प्रतिदिन बढाउँदै हुनुहुन्छ । मनपरी गर्दै हुनुहुन्छ । भेटेर पनि भनेका छौँ ।’
सभापति देउवा विधानविपरीत अगाडि बढेको निष्कर्ष निकाल्दै पौडेल समूहले चरणबद्ध आन्दोलनको तयारी गरेको छ । विधानविपरीत भनिएका पछिल्ला निर्णयहरु फिर्ताका लागि सभापति देउवालाई दबाब दिन मौखिक र लिखित रुपमा ध्यानाकर्षणपत्र बुझाउनेदेखि आमरण अनसन बस्नेसम्मका दबाबमूलक कार्यक्रम गर्ने तयारी पौडेल समूहको छ । कांग्रेसको विधानतः चार वर्षको कार्यकाल सकिएपछि तदर्थ समितिमा रुपान्तरण भएपछि सभापति देउवाले संगठन विस्तार गरेका हुन् ।