सिरहा, ३१ भदौ।  सिरहामा एम्बुलेन्सबाट प्रतिवन्धित लागुऔषध गाँजा तस्करी गरिरहेको अवस्थामा  प्रहरीले १०५ किलो गाँजा बरामद गरेको छ। मंगलबार राति करिब ८ बजे चोहर्वाबाट सिरहा सदरमुकामतर्फ जाँदै गरेको ज १ च १२१३ नम्बरको एम्बुलेन्सबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो।

एम्बुलेन्समा गाँजा लोड गरी सिरहातर्फ ल्याउँदै गरेको सूचना पाएपछि प्रहरी निरीक्षक सुनिल चौरसियाको कमान्डमा प्रहरी टोली परिचालन भएको थियो।

प्रहरीका अनुसार एम्बुलेन्समाथि निगरानी गरेको थाहा पाएपछि चोहर्वादेखि सिरहासम्म तीन स्थानमा राखिएका प्रहरीको ब्यारिकेट तोडेर एम्बुलेन्ससहित चालक भागेका थिए।

थप प्रहरी परिचालन गरी पछ्याउने क्रममा चालकले सिरहा नगरपालिका१ स्थित हुलाकी सडक खण्डमा एम्बुलेन्स छाडेर फरार भएको सिरहा प्रहरीले जनाएको छ।

एम्बुलेन्स जाँच गर्ने क्रममा पाँचवटा बोराभित्र १०५ किलो गाँजा बरामद भएको एसपी बासुदेव पाठकले जानकारी दिए।

एसपी पाठकका अनुसार बरामद गाँजासहित एम्बुलेन्स जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याएर घटनाबारे थप अनुसन्धान भइरहेको छ। फरार रहेका चालकको पहिचान तथा खोजतलास जारी रहेको उनले बताए।