काठमाडौं, १३ कात्तिक। प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी र मोटिभेट न्यूज डटकमका अध्यक्ष एवं प्रधान सम्पादक शोभराज बराललाई नियन्त्रणमा लिएको छ।
सुवेदीलाई मीनभवनस्थित नेपालप्रेसको समाचार कक्षबाटै प्रहरीले नियन्त्रणमा लिएको हो। उनलाई पक्राउ पुर्जी भने नदिइएको नेपालप्रेसका सम्पादक चिरञ्जिवी पौडेलले बताए।
त्यसगरी, पुतलीसडकस्थित नयाँ पत्रिका दैनिकको कार्यालयमा पनि प्रहरी पुगेको छ। त्यहाँ पुगेका सादा पोसाकका प्रहरीले पत्रकार नवराज मैनालीलाई खोजीरहेको छ।
नयाँ पत्रिकाका समाचार सम्पादक खगेन्द्र पन्तले कार्यालयमा महानगरीय अपराध महाशाखाबाट आएको बताउँदै सादा पोसाकका चार/पाँच जना प्रहरी आएको र उनीहरुले पत्रकार नवराज मैनालीलाई खोजिरहेको बताए।
सादा पोसाकका प्रहरीले माथिको आदेश भन्दै मैनालीलाई उपलब्ध गराउन भनिरहेको छन्। तर, पक्राउ पुर्जी भने नल्याएको प्रहरीले बताएको पन्तले जानकारी दिए।
प्रहरीको साइबर ब्यूरोले नेपाल प्रेसका प्रधानसम्पादक मातृका पौडेल र अध्यक्ष विन्दु लम्साललाई पनि फोन गरेर बोलाएको पौडेलले जानकारी दिए।
पौडेलले भने, ‘नेपाल प्रेसको समाचार कक्षबाट पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरिएको लगत्तै म र अध्यक्ष विन्दु लम्साललाई साइबर ब्यूरोमा बोलाइएको छ। हामी ब्यूरोमा उपस्थित छौँ।’
यस्तै अनलाइन सञ्चारमाध्यम दियोपोस्ट डटकमको समाचार कक्षमा पनि प्रहरी पुगेर प्रधानसम्पादक र सम्पादकको खोजी गरिरहेको बताइएको छ।
महासंघको ध्यानाकर्षण
यसैबिच नेपाल पत्रकार महासंघ, काठमाडौँ शाखाले समाचारको विषयमा सञ्चारकर्मीलाई पक्राउ गरिएको विषयमा आपत्ति जनाएको छ।
महासंघ काठमाडौं शाखाका सचिव रमेश कुमार बोहोराले शुक्रबार विज्ञप्ति प्रकाशित गरी प्रकाशित समाचारको विषयवस्तुलाई आधार बनाएर पत्रकारलाई साइबर अपराधसम्बन्धी मुद्दामा तान्ने प्रवृत्ति प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रत्यक्ष हस्तक्षेप हो भनेका छन्।
‘संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मर्म र लोकतान्त्रिक मूल्य मान्यताविपरीत पत्रकारलाई पक्राउ गरी त्रसित बनाउने कार्य कुनै पनि दृष्टिले स्वीकार्य हुन सक्दैन’ विज्ञप्तिमा भनिएको छ।
‘प्रकाशित समाचारप्रति कुनै असहमति वा गुनासो भए त्यसको निरूपणका लागि प्रेस काउन्सिल नेपालमा उजुरी दिन सकिने स्थापित व्यवस्था छ’ यस्तो व्यवस्था हुँदाहुँदै समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्नु र पत्रकारितासम्बन्धी विषयलाई साइबर अपराध वा अन्य फौजदारी कानुनको माध्यमबाट सम्बोधन गर्न खोज्नु अत्यन्त दुःखद र चिन्ताजनक विषय हो। यसले स्वतन्त्र पत्रकारितालाई हतोत्साहित गर्नुका साथै लोकतान्त्रिक व्यवस्था, नागरिकको सूचनाको हक र प्रेस स्वतन्त्रताको आधारभूत मान्यतामाथि गम्भीर प्रश्न खडा गर्दछ’ विज्ञप्तिमा उल्लेख छ।
महासंघले पक्राउ गरिएका पत्रकारलाई तत्काल रिहाई गर्न माग गर्दै पत्रकार तथा सञ्चारमाध्यममाथि हुने कुनै पनि प्रकारका अनुचित हस्तक्षेपविरुद्ध दृढतापूर्वक उभिने जनाएको छ।






















