सिरहा, १२ कात्तिक।  सिरहा प्रहरीले नेपाल भारत सीमाक्षेत्र सिरहा नगरपालिका १३ मलहनियाँबाट हवाई फायर गरी दुई जना भारतीय लागुऔषध व्यसायीलाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्त टोलिले ३०० ग्राम खैरो हेरोइनसहित भारत विहार मधुवनि जिल्ला वेला पञ्चायत ८ का ४४ वर्षिय लालबाबु सिंह र धर्मेन्द्र दासलाई नियन्त्रणमा लिएको हो। 

बिहीबार बिहान गस्ती टोलीलाई देखेपछि भाग्न खोजेका उनीहरूलाई एक राउन्ड हवाई फायर गरी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रमेश बहादुर पालले जानकारी दिए। डीएसपी पालका अनुसार पहिलादेखिनै प्रहरीले उनीहरुमाथि निगरानी गरिरहेको थियो। आज विशेष सूचनाको आधारमा उनीहरुलाई नियन्त्रणमा लिन सफल भएको हो। 

त्यसैगरी, प्रहरीले सिरहाकै औरही गाउँपालिका २ बाट अवैध लागूऔषध गाँजा करिब ८४ किलो ५९० ग्राम सहित दुई जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा औरही गाउँपालिका २ तुलसीपुरका ५३ वर्षीय छेदी दासर र बरियारपटी गाउँपालिका ३ शिवनगर बस्ने ६५ वर्षीय शंकर यादव रहेका छन्। प्रहरी चौकी हर्कटीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको गाँजा सहित पक्राउ गरेको हो।