सिरहा, १३ कात्तिक। विभिन्न सञ्चार माध्यमको समाचार कक्षमा प्रवेश गरेर प्रहरीले पत्रकारलाई धरपकड गरेपछि प्रेस काउन्सील नेपालले आपत्ति जनाएको छ। काउन्सीलका प्रवक्ता दीपक खनालले विज्ञप्ति जारी गरेर आपत्ति जनाएका हो। 

विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरी सादा पोशाकका प्रहरीले पत्रकारहरुलाई नियन्त्रणमा लिएको तथा पक्राउ गर्ने प्रयास गरेको घटनाप्रति काउन्सिलले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

साथै पक्राउ परेका पत्रकारलाई तत्काल रिहा गर्न पनि माग गरेको छ। ‘काउन्सिल नियन्त्रणमा लिइएका पत्रकारको अवस्था र पक्राउको कानुनी आधार तत्काल सार्वजनिक गर्न तथा कानुनी आधारबिना नियन्त्रणमा राखिएको भए तत्काल रिहा गर्न आग्रह गर्दछ’, विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा विधि र प्रक्रियाबाट समाधान खोज्न नेपाल सरकार, प्रहरी प्रशासन तथा सम्बद्ध सबै पक्षलाई काउन्सिलले आग्रह गरेको छ।

‘सञ्चारमाध्यममा प्रकाशित समाचार सामग्रीप्रति असहमति वा आचारसंहितासम्बन्धी उजुरी भएमा त्यसको छानबिन, अनुगमन र निरूपण गर्ने कानुनी जिम्मेवारी प्रेस काउन्सिल नेपालको हो। समाचारकै विषयमा सिधै प्रहरी परिचालन गर्नुको सट्टा काउन्सिलको स्थापित विधि र प्रक्रियाबाट समाधान खोज्न नेपाल सरकार, प्रहरी प्रशासन तथा सम्बद्ध सबै पक्षलाई काउन्सिल आग्रह गर्दछ’, विज्ञप्तिमा भनिएको छ।

शुक्रबार प्रहरीले संवैधानिक हकविपरीत नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी, डिएनए खबरका पत्रकार धिरज बस्नेत र मोटिभ अनलाइनका पत्रकार शोभराज बराललाई पक्राउ गरेको थियो।

यस्तै नयाँ पत्रिकामा कार्यालयभित्र पत्रकार नवराज मैनालीलाई खोजी गर्दै प्रहरी छिरेको थियो। दियो पोष्टको कार्याल्यमासमेत प्रहरी पुगेको थियो।

press-councial Nepal