रामनगर कोदरकट्टी प्रहरी चौकी भवन। तस्बिरः विनय कर्ण
विनय कर्ण
सप्तरी, १३ कात्तिक। सप्तरीको बलानबिहुल गाउँपालिका ५ स्थित रहेको प्रहरी चौकी आफै असुरक्षित छ। खुला परिसरमा टिनले छाएको सानो कोठामा रहेको प्रहरीचौकी हेर्दा पनि गाईगोठजस्तै लाग्छ।
सीमावर्ती क्षेत्रमा रहेको उक्त प्रहरी चौकी र त्यहाँ बसेर सुरक्षाको जिम्मेवारी सम्हाल्दै आइरहेका प्रहरी कर्मचारीको दिनचर्या अहिले त्रासमा बितिरहेको छ। कविर मन्दिर पोखरी डिलमा रहेको प्रहरी चौकीको पश्चिमतर्फ टिनले छाएका दुई कोठा छ।
दक्षिणतर्फ पनि दुई कोठे टिनले छाएको टहरा छ। यही चारवटा कोठामा प्रहरीको बसोबास र कार्यालय रहेको छ। यी संरचनाको वरिपरि घेरबार केही छैन्। खुला परिसरबाट जोकोही सहजै भित्र पस्न सक्ने अवस्था छ। वर्षा याममा चौकी परिसर डुबानमा पर्ने गरेको प्रहरी सहायक निरीक्षक प्रदीपकुमार विष्ट बताउछन्।
चौकीको भौतिक अवस्था सामान्य प्रहरी कार्यालयजस्तो नदेखिए पनि यसले सम्हाल्नुपर्ने जिम्मेवारी भने संवेदनशील छ। भारतको बिहार राज्य अन्तर्गत पर्ने बलुवा (वोर्डर) प्रहरी चौकीबाट करिब तीनसय मिटर दक्षिणमा छ। सीमावर्ती क्षेत्रमा पर्ने भएकाले भारतबाट हुने अवैध सामान ओसारपसार नियन्त्रण गर्नु यहाँ कार्यरत प्रहरीको नियमित जिम्मेवारी हो।
अवैध कारोबार नियन्त्रणमा खटिने यहाँका प्रहरी नै आक्रमणको जोखिममा रहँदै आएका छन्। प्रहरी चौकी रामनगर कोदरकट्टीमा प्रहरी सहायक निरीक्षक विष्टको नेतृत्वमा ६ जना प्रहरी कार्यरत छन्। टोलीमा एक प्रहरी सहायक निरीक्षक, दुई हवल्दार, एक सहायक हवल्दार र दुई प्रहरी जवान छन्। सीमाको निगरानीदेखि नियमित गस्ती र अवैध सामान ओसारपसार नियन्त्रणसम्मको जिम्मेवारी उनीहरुमा छन्।
प्रहरीमाथि आक्रमण
कात्तिक ७ गते साँझ करिब ५ बजे भारतबाट अवैध रुपमा सामान बोकेर भारतीय नम्बर प्लेटका दुई पल्सर मोटरसाइकल आउँदै थिए। प्रहरी सहायक निरीक्षक विष्ट र एक हवल्दारले ती मोटरसाइकल रोक्न खोजे।
प्रहरीलाई देखेपछि चालकहरु भाग्न थाले। प्रहरीले पछ्याउने क्रममा बलानबिहुल गाउँपालिका ५ र बोदेबर्साइन नगरपालिका ८ को सीमामा पर्ने बिहुल खोलामा एक जनालाई नियन्त्रणमा लियो। तर, अर्को मोटरसाइकल चालकले प्रहरी सहायक निरीक्षक विष्टमाथि बाँसको भाटाले आक्रमण गरेर फरार भए।
प्रहरीका अनुसार भारतबाट सामान ल्याउनेमा बलान बिहुल ५ का देवकुमार यादव र बोदेबर्साइन ३ का रामदुलार यादव थिए। विष्टमाथि आक्रमण गरेको आरोप लागेका देवकुमारलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन्।
उक्त घटनामा भारतबाट अवैध रुपमा ल्याइएका करिब एक लाख १७ हजार रुपियाँ मूल्यका पटाका लगायत विस्फोटक पदार्थ रहेको प्रहरी सहायक निरीक्षक विष्टले जानकारी दिए।
अवैध सामान नियन्त्रण गर्न खोज्दा उल्टै आक्रमणको सामना गर्नु परेपछि सीमामा खटिने प्रहरी कर्मचारीकै सुरक्षा अवस्थामाथि प्रश्न उठेको छ। यसअघि गत असार ४ गते पनि बलानबिहुलकै रौतहटमा भारतबाट सामान ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिन खोज्दा तत्कालीन प्रहरी सहायक निरीक्षक रामकुमार यादवमाथि आक्रमण भएको थियो।
प्रहरीका अनुसार बोदेबर्साइन नगरपालिका ८ का लिलाधर दासले उनीमाथि आक्रमण गरेका थिए। उक्त घटनामा संलग्न भनिएका दास जिल्ला प्रशासन कार्यालयबाट धरौटीमा छुटे।
एउटै क्षेत्रमा अवैध सामान ओसारपोसार नियन्त्रणको क्रममा दुई जना प्रहरी चौकी इन्चार्जमाथि आक्रमणका घटना हुनुले सीमावर्ती क्षेत्रमा खटिने सुरक्षाकर्मीको चुनौतीलाई उजागर गरेको छ।
प्रहरी सहायक निरीक्षक विष्टले आफूहरु चुनौतीबिच सुरक्षा दिने काम गरिरहेको बताए। चौकीको खुला परिसर र कमजोर भौतिक संरचनाले प्रहरीमाथि नै सुरक्षा खतरा रहेको उनको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक हेमराज घिमिरेले प्रहरी सहायक निरीक्षक विष्टमाथि आक्रमण गर्नेउपर विष्फोटक पदार्थसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर रामदुलार यादवलाई पक्राउ गरिसकेको जानकारी दिए। उनले सोही घट्नामा संलग्न अर्का व्यक्ति देवकुमार यादवको खोजी भइरहेको बताए।
(गोरखापत्र अनलाइनबाट)






















