लहान, ५ भदौ। सिरहाको भगवानपुर गाउँपालिका २ गम्हरिया गाउँका विपन्न परिवारका सहोदर दाजुभाइलाई सुतेको ठाउँमा विषालु सर्पले डसेपछि आफन्त र मनकारीहरुको आर्थिक सहयोगमा उपचार भईरहेको परिवारजनले जनाएको छ।

स्थानीय अशोक भगत र बविताकुमारी भगतका तीन सन्तानमध्ये जेठो छोरा करिब ११ वर्षीय प्रियान्सु भगत र सात वर्षीय दिव्यान्सु भगतलाई गत बुधबार राती सुतेकै ओछ्यानमा करेत सर्पले डसेपछि बिराटनगरस्थित बिराट नर्सिङ होममा उपचार भइरहेको छ। राजनीतिकर्मी समेत रहेका छिमेकी रामनाथ यादवका अनुसार सात धुर घडेरीबाहेक अन्य केही नभएकाले मजदूरी गरेर हातमुख जोड्दै आएको भगत परिवारलाई दुई नाबालकको उपचारमा स्थानीय गाउँले, युवा, व्यवसायीहरुले चन्दा सहयोग संकलनमार्फत उपचार चलिरहेको छ।

‘अहिलेसम्म स्थानीय युवाहरुले डिजिटल अभियानमार्फत तीन लाख रुपैयाँ भन्दा बढी आर्थिक सहयोग संकलन गरी उपचारका लािग पठाइएको छ,’ उनले भने ‘त्यसबाहेक स्थानीय गाउँलेहरुले पनि दुई नाबालकको उपचारका लागि आफ्नो गच्छेअनुसार सम्बन्धित परिवारलाई आर्थिक सहयोग गरिरहेका छन्।’ गाउँ नजिकैको बालासुन्दरी मावि कक्षा ६ मा पढिरहेका प्रियान्सुको अवस्था अझै गम्भीर रहेकाले भेन्टिलेटरमा राखेर उपचार भइरहेको र कान्छो दिव्यान्सुको अवस्था खतरामुक्त रहेको जानकारी पाएको उनले बताए। दिव्यान्सु पनि सोही विद्यालयमा कक्षा ३ मा पढिरहेका परिवारले जनाएको छ।

सर्पदंशका दुई नाबालक बिरामीको उपचारका लागि लहान उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष समेत रहेका युवा व्यवसायी विकास शारदा, समाजसेवी जयकिशोर यादव, व्यवसायी रामउद्गार महतोलगायत अन्य सर्वसाधारणले पनि उपचारका लागि आर्थिक सहयोग गरिरहेको परिवारले जनाएको छ।