लहान, १९ असोज। दशैं–तिहारको अवसर पारेर सिरहाको लहानमा ‘थारु सांस्कृतिक दशै तिहार उत्सव  मेला–२०८३’को आयोजना हुने भएको छ। गारु कल्याणकारी सभा, जिल्ला समितिको आयोजना यहि असोज २५ देखि कात्तिक ८ गतेसम्म लहानस्थित पशुपति माध्यमिक विद्यालयको प्राङ्गाणमा मेला हुन लागेको हो। 

थारु समुदायको लोकसंस्कृति, भेषभूषा, भाषा र मौलिक पहिचान, परम्परागत खानपानको संरक्षण तथा प्रवद्र्धनको निमित्त महोत्सवका आयोजन ागर्न लागेको सभाका प्रवक्ता अजय कुमार चौधरीले जानकारी दिए। उनका अनुसार थारुसमुदायको गौरवशाली लोकसंस्कृति र परम्परालाई जीवन्त राख्दै भावी पुस्तामा हस्तान्तरण गर्ने तथा थारु कला संस्कृति र विभिन्न जातजातिहरुको कला संस्कृतिको सम्मान गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्ने उद्देश्यका साथ मेलाको आयोजना गर्न लागेको बताए। 

मेलामा मुख्य आकर्षणका रुपमा विविध सांस्कृतिक  पहिचान झल्किने नृत्य, कुस्ति, जलपरि, झुला तथा बाल उधान रहने आयोजकले जनाएको छ। 

त्यसैगरी, महोत्तरवमा थारु समुदायको लोपोन्मुख परम्परागत लोकनृत्य धुमरा, सामा–चकेवा नाच, सखिया आदि प्रदर्शन गरी नयाँ पुस्तालाई आफ्नो मौलिक भाषा, भेषभूषाको विषयमा परिचित गर्ने योजना रहेको आयोजकले बताए। 

मेलामा थारु परिकारहरु बगिया,  घोंघी, सितुवा, कोकरा, तेलपुरि, भका, पेरवा, सिध्राआदिका स्टलहरु रहने आयोजले जनाएको छ।