जनकपुरधाम, १८ असोज। मधेस प्रदेशमा विद्युतीय करेन्टका कारण हुने मानवीय क्षति बढ्दै गएको छ। चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ३९ जनाको करेन्ट लागेर ज्यान गएको छ।
मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशभरि गत साउन र भदौ महिनामा करेन्ट सम्बन्धी १०७ वटा घटनामा ३९ जनाको मृत्यु भएको हो। विद्युतका काम गर्दा विद्युतीय तार, उपकरण तथा विद्युत् प्रवाहसँग सम्बन्धित काममा सावधानी नअपनाउँदा मानवीय क्षति बढेको प्रहरीको भनाइ छ। करेन्टसँग सम्बन्धित अधिकांश घटना सिँचाइ गर्ने मोटर, घरायसी मोटर तथा अन्य घरायसी कामका क्रममा भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार विद्युत् तथा आगलागीसँग सम्बन्धित घटनामा पूर्वसावधानी र सजगता नअपनाउँदा मानवीयसँगै भौतिक क्षति बढेको हो ।
मधेस प्रदेशमा साउन र भदौ महिनामा भएका विभिन्न ४५९ विपदका घटनामा ९२ जनाको मृत्यु भएको छ। विपदका कारण ४७ पुरुष, १९ महिला तथा २६ जना बालालिकाले अकालमै ज्यान गुमाएका छन्। यो अवधिमा सबैभन्दा बढी मृत्यु विद्युतीय तारबाट प्रवाह हुने करेन्ट लागेर भएको हो। करेन्ट लागेर ३९ जनाले ज्यान गुमाएका छन् भने पानीमा डुबेर २९ जनाको मृत्यु भएको छ। जंगली जनावरको आक्रमणबाट ५, चट्याङ लागेर ३ तथा आगलागीमा परेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै प्रदेशभरि अन्य विपदका घटनामा १३ जनाले ज्यान गुमाएका छन्।
प्रहरीको उजुरी तथ्याङ्कमा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा आगलागीका घटना ११२ वटा भएको उल्लेख छ। त्यस्तै पानीमा डुब्ने ३७, जंगली जनावरको आक्रमणका २३, बाढीका १२ तथा चट्याङका १० घटना भएका छन्। विपदका कारण दुई महिनामा मानवीय क्षतिसँगै भौतिक सम्पत्तिमा पनि ठुलो क्षति भएको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार यो अवधिमा भएका ४५९ विपदका घटनामा २ करोड ९२ लाख ४७ हजार ५५५ रुपैयाँ बराबरको भौतिक सम्पत्ति नष्ट भएका छन् । भौतिक सम्पत्तितर्फ सबैभन्दा बढी क्षति आगलागीबाट भएको छ। आगलागीकै कारण २१२ वटा घर जलेका छन्। आगलागीका घटनाबाट मात्रै २ करोड ७० लाख १३ हजार ३५० रुपैँया बराबरको क्षति भएको मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रभुप्रसाद ढकालले बताए।
त्यस्तै, बाढी तथा पहिरोबाट ११ लाख ९० हजार रुपैयाँ, चट्याङबाट ३ लाख, जंगली जनावरको आक्रमणबाट २ लाख ७२ हजार र अन्य विभिन्न विपदका घटनाबाट थप ४ लाख ६३ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ।
वर्षायाममा सम्भावित विपद्को पूर्वसूचना मौसम विभागले सम्भावित क्षेत्रका लागि जारी गर्ने भएकाले बाढीपहिरोको जोखिममा रहेका क्षेत्रमा प्रहरीले सचेतता बढाउँदा ठुलो क्षति हुनबाट जोखिएको प्रहरीको भनाइ छ।
(रातोपाटीबाट)






















